गोरखा : गत शुक्रबार साँझ नौबजे बारपाक स्वास्थ्य चौकीका प्रमुख अनिल शाहको मोबाइलमा घण्टी बज्यो। केशबहादुर घलेको नम्बरबाट फोन आएको थियो, ‘नौ महिनाको बच्चा साह्रै विरामी छ के गर्ने होला सर ?’ फाेन गर्नेलाई शाहले जवाफ दिए ‘त्यसो भए अहिल्यै स्वास्थ्यचौकी ल्याइहाल्नुस्।’ फाेनमा उसले यहाँका मान्छे स्वास्थ्यचौकी ल्याउनै मान्दैनन्।’
मैले बच्चालाई उपचार त गर्नुपर्छ भने, ’अनेक करबल गर्न लगाएर राति नै स्वास्थ्य चौकीमा झिकाएँ। बच्चाको स्थिति देख्दा म अत्तालिए।’ त्यसरी सिरियस हुने गरी बिरामी भएकी ती बच्ची बारपाक सुलिकोट गाउँपालिका २ बारपाककी नौ महिनाकी सबिना गुरुङ थिइन्।‘
बच्चीलाई सिरियस निमोनिया भइसकेको रहेछ’ शाह भन्छन् ‘मैले यहाँ हुने सामान्य औषधिहरू खुवाएँ, इन्जेक्सन दिएँ अनि गोरखा हस्पिटल लैजान सुझाव दिएँ।’ परिवारले सविनाको उपचार गर्न गोरखा हस्पिटल ल्याउन अटेर गरेपछि शाहले राती नै स्थानीयहरुलाई खबर गरे। परिवारले भोलिपल्ट शनिबार मात्र गोरखा अस्पताल ल्याए। विडम्बना के पर्याे भने गोरखा अस्पतालमा पनि उनको उपचार सम्भव भएन।
सविनालाई जिल्ला अस्पताल गोरखाले थप उपचारको लागि कान्तिबाल अस्पताल काठमाडौँ लैजान सुझाब दियो। ‘बारपाकमा पनि सामान्य उपचार गरेर यहाँ ल्याइएको रहेछ’ जिल्ला अस्पताल गोरखाकी डा. सुजिताले भनिन्, ‘हामीले पनि यहाँ प्राइमरी उपचारहरू गर्यौँ। यहाँ पुरै उपचार गर्न सम्भव नहुने भएपछि कान्ति लैजान भनेका थियौँ। यस्तो सिरियस केश थियो। कान्ति नलगी एम्बुलेन्समै हालेर बारपाक नै लैजानु भयो रे भन्ने सुनिएको छ।’
कान्तिबाल अस्पतालमा रिफर भएकी सविनालाई उनका परिवारले घर पो लगे। धामी झाँक्री लगाउने भन्दै उनका परिवारले बारपाकै फर्काएको वडा अध्यक्ष रोशन विकले पुष्टि गरे।
‘गोरखा अस्पतालबाट थप उपचारको लागि कान्तिमा लैजानु भन्नुभएको रहेछ’ वडा अध्यक्ष विकले भने ‘उहाँहरूबाट रुढीबादी सोँच हटाउनै सकिएन। धामीझाँक्री लगाउन भनेर गाउँ नै फर्काउनुभएछ।’ बारपाकमा अहिले पनि अधिकांश मानिस विरामी हुँदा धामी झाँक्री लगाएर झारफुक गर्ने र त्यसैमा विश्वास गर्नेहरू धेरै रहेको स्थानीयहरु बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।