|

स्थानीय तहको निर्वाचन सम्पन्न भएको आठ महिना पूरा भइसकेको छ। स्थानीय तहमा जनप्रतिनिधिहरू आइसकेपछि जनताका काममा र आफ्नो नगर वा गाउँको विकासमा लागिरहेका छन्। प्रदेश ७ को डडेल्धुरा जिल्ला सदरमुकाममा अवस्थित अमरगढी नगरपलिकाका जनप्रतिनिधिहरू पनि जनताको काममा व्यस्त देखिन्छन्। 

अमरगढी नगरपालिकामा जम्मा ११ वटा वडाहरू रहेका छन्, जसमा दुईवटा शहरी क्षेत्रमा र नौवटा वडा ग्रामीण क्षेत्रमा छन्। २०५३ माघ ११ गते देशभर नयाँ घोषणा भएका १५ वटा नगरपालिकामध्येको अमरगढी पनि एक हो। 

यो नगरपालिका राजधानी काठमाडौंबाट ७९८ किलोमिटर दूरीमा रहेको छ। समुद्र सतहदेखि छ हजार ५०० फिट उचाइमा अवस्थित यो नगरको हावापानी समशीतोष्ण छ। ०६८ सालको जनगणनाअनुसार यहाँको कुल जनसंख्या २१ हजार २४५ छ, जसमा ११ हजार २४२ महिला र १० हजार तीन पुरुष छन्। 

यहाँ प्रायः सबै जातजातिका मानिसहरूको बसोवास छ। प्रदेश ७ कै प्रसिद्ध उग्रतारा भगवतीको मन्दिर, घटाल स्थान र ऐतिहासिक अमरगढी किल्ला अनि रावलतोली गुफा पनि यही नगरभित्र पर्छन्। 

स्थानीय तहको निर्वाचनमा अमगरढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालले जित्यो। अमरगढी नगरपालिकाको प्रमुखमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपीन) विजयी भ एभने उपप्रमुखमा एमालेकै संगीता भण्डारी विजयी भइन्। 

निर्वाचनमा विजयी भइसकेपछि जनप्रतिनिधि भएर अहिलेसम्म गरेको काम, अबका वर्षहरूमा गर्ने योजनालगायतका विविध विषयमा केन्द्रित रही थाहाखबर सहकर्मी प्रकाश पार्कीले नगरप्रमुख ओझासँग गरेको कुराकानी । 

तपाईंको पृष्ठभूमिबारे केही बताइदिनुस् न।

म डडेल्धुरामै जन्मेको हुँ। मेरो बाल्यावस्था यहीँ बित्यो। पढाइको सिलसिलामा म २०५१ सालमा नेकपा एमाले निकट भ्रातृसंगठन अनेरास्ववियुको सदस्यता लिएर विद्यार्थी राजनीतिमा होमिएँ। मैले अनेरास्वयुको डडेल्धुरा जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, उपाध्यक्ष, केन्द्रीय सदस्य हुँदै महाकाली इन्चार्ज समेतको जिम्मेवारी सम्हालेँ। 

२०६२ सालमा डडेल्धुरामा रहेको तत्कालीन शिक्षा क्याम्पसमा नेविसंघको किल्ला भत्काउँदै सिंगो टिमसहित म स्ववियु उपसभापति निर्वाचित भएँ। म स्ववियु उपसभापति हुँदा क्यापसममा शैक्षिक गुणस्तर, विद्यार्थीका हक हितका सवालमा मैले गरेको अगुवाइका कारण २०६५ सालको स्ववियु निवार्चनमा पनि म सभापति निर्वाचित भएँ।

पछि मैले विद्यार्थी राजनीति छाडेर पार्टीको राजनीतिमा लागेँ। अमरगढी नगरको नगर कमिटी सदस्य, वडा कमिटी उपसचिव र सचिव हुँदै अमरगढी नगरपालिकाको नगर कमिटी अध्यक्षसमेत भएर काम गरेँ। 

जनप्रतिनिधि भएर नगरपालिकामा आइसकेपछि यो ८ महिनामा केके गर्नुभयो?

समग्रमा अमरगढी नगरपालिकामा हामी निर्वाचित भएपछि कामहरू त थुप्रै भएका होलान्। खासगरी अहिले मुलुक नौलो संरचनामा प्रवेश गरेको छ। देशमा तीन तहको सरकार निर्माण भएको छ, स्थानीय, प्रदेश र केन्द्रीय सरकार। हामी निर्वाचित भएपछि संविधान कार्यान्वयनको एउटा पाटो अगाडि बढ्यो, तर पनि दुईवटा निर्वाचन हुन बाँकी नै थियो। 

त्यो समय पहिलो वर्ष भएकाले यो वर्षमा राम्रो खाका कोर्न सक्यौँ र राम्रो योजना निर्माण गर्न सक्यौँ भने पाँच वर्षपछि अमरगढी नगरपालिकालाई कहाँ पुर्‍याउन सकिएला र १५÷२० वर्षपछि कहाँ पुर्‍याउन सकिएला? भनेर सोचिरहेका छौँ। यो हाम्रो एउटा खाका निर्माण गर्ने वर्ष हो। त्यसैले यो पहिलो वर्ष अध्ययन अनुसन्धानको वर्ष हो। यो योजना निर्माणको वर्ष हो। हामीले विभिन्न किसिमका योजनाहरू निर्माण गर्दै छौँ।

तपाईंले यो अध्ययनको वर्ष हो भन्नुभयो, केके अध्ययन गर्दै हुनुहुन्छ?

शहरी पूर्वाधार निर्माणका कुरा छन्, पर्यटन पूर्वाधार निर्माणका लागि यी ठाउँहरूको डिपिआर निर्माण गर्ने अभियानमा अहिले लागिरहेका छौँ। केही ठाउँहरूमा अध्ययन अवलोकन गर्ने काम पनि हुँदै छन्। 

निर्वाचित भइसकेपछि फोहोरमैला व्यवस्थापन कसरी गर्ने? लेदोजन्य फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा धेरै जिल्लाहरूमा भ्रमण पनि गर्‍यौँ। अहिले नगरपालिकामा ढल व्यवस्थापन विभागसँग आवश्यक समन्वय गरेर ढल व्यवस्थापनका लागि एउटा डिपिआर निर्माण हुने प्रक्रियामा छ। काम सुरु भइसकेको छ। 

केही ठूला पूर्वाधारहरू शहरी पूर्वाधारहरूका निम्ति अमरगढी सरकार पाँच वर्षभित्र सम्पन्न गर्ने गरी जान्छ। त्यसका लागि यस वर्ष ‘सपिङ कम्प्लेक्स’ निर्माणका निमित्त आवश्यक प्रक्रिया अगाडि बढाइसकेका छौँ। सार्वजनिक खरिद नियमावली अलिक झन्झटिलो छ। मैले अस्ति अर्थमन्त्रीज्यूसँग पनि यसबारेमा कुरा राखेँ। 
सामान्य कामहरू गर्नका लागि पनि हाम्रो सरकारी प्रक्रिया अलिक लामो छ। फोहोरमैला व्यवस्थापनका लागि हामीले आवश्यक उपकरण खरिदका लागि बजेट विनियोजन गरेका थियौँ। सरकारी प्रक्रियामा जाने क्रममा लामो समय लाग्नेरहेछ। अहिले पनि त्यो प्रक्रिया टुंगिएको छैन।

गरिवी प्रधान सत्रु हो, बेरोजगारीलगायतका कुराहरूलाई जबसम्म हामी समाधान गर्न सक्दैनौँ, यसको न्यूनीकरण गर्न सक्दैनौँ र समाजमा रहेका गरिब, दूरदराजमा भएका जनताको चेतनास्तर वृद्धि गर्न सक्दैनौँ वा उहाँहरूलाई माछा मारेर दिने होइन, माछा मार्न सक्ने स्तरमा पुर्‍याउन सक्दैनौँ तबसम्म हामीले सोचेको समृद्धि संभव छैन।

निर्वाचनका बेला तपाईंले गरेका प्रतिवद्धताहरू के कति पूरा भए?

निर्वाचनका बेला जनताका माझ जाने क्रममा र यहाँको वस्तुस्थिति अध्ययन गर्ने क्रममा जुन अमरगढी नगरपालिकामा संभावनाका कुराहरू देख्यौँ, ती संभावनाहरूका विषयमा चर्चा परिचर्चा गर्‍यौँ। ती संभावनाहरूका विषयमा हामीले जनताका बीचमा छलफल गर्‍यौँ र बाचाबन्धन पनि हामीले गर्‍यौँ। 

हामी निर्वाचित भएको आठ महिना भएको छ। यस वर्षलाई राम्रो योजना बनाएर अगाडि बढ्न सक्यौँ भने हामीले गरेका बाचाहरू पाँच वर्षभित्र पूरा गर्न सक्नेमा म ढुक्क छु। हामीले चुनवका बेला धेरै प्रतिवद्धताहरू जनतासामु राखेका छौँ, यो एक वर्षमा ती सबै पूरा गर्न सकिने अवस्था छैन् तर पनि हामी तिनीहरूलाई आफ्नो कार्य अवधिसम्ममा पूरा गरेरै छाड्छौँ। 

किन पूरा गर्न सकिएनन् जस्तो लाग्छ ती प्रतिवद्धताहरू?

यो पहिलो वर्ष भएकाले धेरै प्रतिवद्धताहरू पूरा गर्न सकिएका छैनन्। किनकि पहिलो वर्ष भएकाले यो वर्षमा हामीले यस नगरपालिकाको विकासका लागि योजना बनाएका छौँ। बनाएका योजनाहरू पाँच वर्षसम्ममा पूरा गर्छौं। 

समृद्ध नगरपालिका बनाउँछौँ। पहिलो वर्ष भएकाले हामीले धेरै काम गर्न सकेनौँ तर पनि आगामी वर्षका लागि योजना भने हामीले बनाएका छौँ।

अमरगढी नगरपालिकामा केके समस्याहरू देख्नुभएको छ?

हाम्रो जस्तो अल्पविकसित मुलुकहरूमा थुप्रै समस्याहरू छन्। अहिले पनि अमरगढी नगरपालिकामा बिजुली नपुगेका गाउँहरू छन्। सडक नपुगेका गाउँ पनि छन् नगरपालिकाभित्र। खानेपानीको पनि उस्तै समस्या छ। 

बाटोघाटोलगायतका विभिन्न किसिमका समस्याहरू छन्। यसका साथै सबै जनताको शिक्षामा पहुँच पुग्न सकेको छैन। शैक्षिक गुणस्तर निकै कमजोर छ। म निर्वाचित भइसकेपछि अब यी समास्याहरूको जिम्मेवारी मैले लिनुपर्छ। मैले यी समस्याहरू समाधान गर्नका लागि योजना निर्माण गर्नुपर्छ। म त्यो अभियानमा छु।

तपाईंले भनेका यी समस्याहरू कसरी समाधान गर्न सकिन्छ? के छन् योजनाहरू?

म जनप्रतिनिधिका रूपमा निर्वाचित भइसकेपछि मैले पहिलो प्राथमिकता बिजुलीमा दिएको छु। बिजुली नपुगेका ठाउँहरूमा बिजुली पुर्‍याउनुपर्छ भनेर काम गरिरहेको छु। 

त्यसका निम्ति अहिले पनि अनपा– ३ मा बिजुली विस्तारको काम भइरहेको छ। अन्य ठाउँमा पनि विद्युत् विस्तारको काम भइरहेको छ। अन्य समस्याका हकमा पाँच वर्षभित्र काम सक्ने गरी काम गरिरहेका छौँ।

यी समस्याहरू समाधान गर्न कसले के गर्नुपर्छ? राज्यले, प्रदेश सरकारले वा स्थानीय तह आफैँले के कस्ता काम गर्दा तपाईंलाई सहज हुन्छ?

ठूला योजनाको निर्माणका लागि अमरगढी नगरपालिकाको स्रोत साधनले भ्याउन सक्ने अवस्था हुँदैन। त्यसका लागि केही ठूला पूर्वाधार प्रदेश सरकारबाट सम्बोधन गराउने प्रयास गर्छौं र केही केन्द्रीय सरकारबाट सम्बोधन गराउने प्रयासमा लाग्छौँ।

हामीले केही योजनाहरू सम्बन्धित निकायमार्फत सिफारिस गरेर प्रक्रियामा अघि बढिसकेको छ। त्यसअन्तर्गत केही कामहरूको सुरुवात पनि हुँदै छ।

स्थानीय तह संचालनमा नीतिगत वा व्यावहारिक केही समस्या छन् कि?

यो पहिलो वर्ष भएकाले हामी माझ धैरे नै समस्याहरू छन्। विशेषगरी कानुनी समस्याहरू छन्। प्रष्ट कानुन नहुनु नै मुख्य समस्या हो। कानुनी अस्पष्टता, समायोजन प्रक्रिया, कर्मचारी र कार्यालय व्यवस्थापनका समस्या छन् हामी माझ।

तपाईंका पाँच वर्षे योजना केके छन्? ती योजनाहरू पूरा गर्ने आधार केके हुन्? 

म अमरगढी नगरपालिकामा चुनाव लड्दै गर्दा एउटा सुन्दर सपना बोकेर आएको छु। म पाँच वर्ष अमरगढी नगरपालिकाको नगर प्रमुखको कुर्सीमा बस्न मात्रै आएको होइन, काम गर्न आएको हुँ। म निर्वाचनमा प्रतिस्पर्धा गर्न जाँदा थुप्रै युवा साथीहरूले एउटा विश्वास गरेर निर्वाचन जिताउनुभएको छ। 

चुनावमा म निर्वाचित हुँदा एउटा पार्टीको चुनाव चिह्न लिएर लडेको हुँला तर मलाई कांग्रेसमा आस्था राख्ने साथीहरूले पनि भोट दिएका छन्। अन्य पार्टीमा आस्था राख्ने साथीहरूले पनि भोट दिनुभएको छ। निर्वाचमा विजयी हुँदा सर्वदलीय भएर चुनाव जितेको आभास गरेको छु। म युवा भएकाले यिनीहरूले केही न केही गर्छन् भन्ने जनमानसमा छ। त्यो आशालाई निराशामा परिणत गर्ने छैन।

अमरगढी नगरपालिकाभित्र केही ठूला पूर्वाधारहरू छन्। यी ठूला पूर्वाधारका निमित्त केन्द्रीयस्तरबाट सहयोग लिएर काम अगाडि बढाउने योजना छ। जस्तै : दुईवटा खेल पूर्वाधारहरू छन्, डिपिआर निर्माण भएका। यो सम्पन्न गर्छु, मेरो बाचा हो। यससँगै अन्य पर्यटकीय पूर्वाधारका काम छन्। आउने वर्ष २०७५ लाई ‘पश्चिम नेपाल भ्रमण वर्ष’ मनाउने योजना बनाइसकेका छौँ।

पश्चिम नेपाल भ्रमण वर्ष मनाउनका लागि हामीसँग रहेका पर्यटन पूर्वाधरका कुराहरूमा पनि सुधार गर्नु जरुरी छ। अर्को वर्षमा पर्यटनको विकासका लागि वजेट विनियोजन गरेर जाने योजना बनाएको छु। 

डडेल्धुरामा ‘सिटी हल’ निर्माण गर्न आवश्यक छ। यो निर्माणका लागि आवश्यक प्रक्रिया आगाडि बढाइसकेको छु। अहिले सदरमुकामको सडको अवस्था हेर्नुहुन्छ भने साह्रै नाजुक छ। यो सडक विस्तार गर्नका लागि शहरी डिभिजन कार्यालयका प्रमुखसँग कुरा गरेको छु। यो सडक विस्तारका लागि यदि वजेटको समस्या हो भने त्यसका लागि पनि राजनीतिक समन्वय गर्न म तयार छु।

हाम्रा सामाजिक समस्याहरू छन्, हाम्रा प्रधान सत्रु भनेका यिनै समस्याहरू हुन्। गरिवी प्रधान सत्रु हो, बेरोजगारीलगायतका कुराहरूलाई जबसम्म हामी समाधान गर्न सक्दैनौँ, यसको न्यूनीकरण गर्न सक्दैनौँ र समाजमा रहेका गरिब, दूरदराजमा भएका जनताको चेतनास्तर वृद्धि गर्न सक्दैनौँ वा उहाँहरूलाई माछा मारेर दिने होइन, माछा मार्न सक्ने स्तरमा पुर्‍याउन सक्दैनौँ तबसम्म हामीले सोचेको समृद्धि संभव छैन। यी पूरा भएपछि मात्र हामीले सोचको जस्तो समाज बन्छ। 

नगरपालिकाभित्र रहेका महिला, दलित समुदायको क्षमता अभिवृद्धि गर्न विभिन्न काम गर्ने योजना पनि छ। 

अन्त्यमा, तपाईंले भन्नु नै पर्ने केही कुरा छन्?

लगभग सबै कुरा आइसकेका छन्। यो पाँच वर्षमा अमरगढी नगरपालिकालाई विकसित नगरको श्रेणीमा पुर्‍याउनका लागि त्यही किसिमको योजना निर्माण गरिरहेको छु। स्वाभाविक रूपमै पहिलो वर्ष छ अहिले। थुप्रै चुनौतीहरू पनि छन्। हामीसँग समस्याहरूको चाङ छ। सीमित स्रोत साधनहरू छन्। त्यसले गर्दा म अधिकांश समय गाउँमा जाने गरेको छु। जनताले आश गर्नुहुन्छ, यो वर्ष यो योजना हालिदिए हुन्थ्यो भनेर तर पहिलो वर्षमा सबै कुरा सम्बोधन गर्न सकिँदैन। चुनावका बेला बोलेका बाचाहरू म पूरा गरेरै छाड्नेछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.