बोट मर्न थालेपछि लगानी डुब्ने चिन्ता

|

भद्रपुर (झापा) : कहिले आकाशमा कालो बादल लाग्छ अनि पानी पर्छ भन्दै झापा भद्रपुरका खरबुजा किसान पर्खाइमा बसेका छन्। बगर खेतीतर्फ आकर्षित यहाँका किसानको आकासे पानी पर्ने चाहना पूरा नभएपछि चिन्तित देखिएका हुन्।

पानी नपर्दा अज्ञात रोगका कारण अहिले धमाधम खरबुजाका बोटहरू मर्न थालेका छन्। बजारमा खरबुजा बढी बिक्री हुने समयमा फलसहितको बोट मर्न थालेपछि लगानी डुब्ने चिन्ताले किसानलाई सताइरहेको छ। ‘तीन महिनाको कडा मिहिनेत र परिश्रमपश्चात् बल्ल बोटमा थोरै भए पनि खरबुजा फलेको छ तर यस पटक बोटमा लागेको अज्ञात रोगले मेची बगरका अधिकांश किसानको निद्रा उडाइदिएको छ’, स्थानीय किसान बिक्रम सहनीले आफ्नो पीडा सुनाए।

सहनीले भने, ‘पहिला खरबुजाको बोटमा सामान्य रोग लाग्थ्यो। औषधि छरे पुग्थ्यो। यसपल्ट कहाँबाट यस्तो रोग लाग्यो थाहा नै पाइएन।’ करिब आधा विगाह जमिनमा ३५ हजार रुपैयाँ खर्चिएर ९०० थल्ला (बिरूवा) लगाएर खरबुजा खेती गरेको तर सोचेजस्तो खरबुजा नफलेको उनको भनाइ छ। 'त्यसमाथि बोट मर्न थालेकाले यस पटकको लगानी उठाउनै समस्या हुने भयो’, उनले भने। 

'खरबुजाको पातको टुप्पोमा लागेको रोग फैलिँदै जरासम्म पुगेर बोटै पहेँलो रंगको बनी मर्न थालेका छन्', अर्का किसान राजेन्द्र शाहले दुखेसाे सुनाए। शाहले भने, ‘बगरखेती गरेको धेरै वर्ष भयो, यसपल्ट पानी नै परेन, पानी परेको भए बोटमा रोग लाग्ने थिएन कि! कुन रोग लाग्यो लाग्यो बुझ्नै सकेनाैं।’ करिब दुई विगाह जमिनमा तीन हजार बिरुवा रोपेको बताउँदै उनले भने, ‘डेढ लाख लगानी गरेका छौँ, चार महिनामा दुई देखि तीन लाख कमाउने योजना थियो तर यस वर्ष लगानी उठाउन सक्दैनौँ जस्तो छ।’ 

नेपाल-भारतको सीमावर्ती नाकामा पर्ने भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारत दुवै देशका किसानले वर्षौंदेखि खरबुजा र तरबुजा खेती गर्दै आइरहेका छन्। भद्रपुरको उत्तरदेखि दक्षिणसम्मको करिब २० देखि २५ विगाह जमिनमा यहाँका किसानले बगरखेती गर्दै आइरहेका छन्। यसपटक अज्ञात रोगले सताएकाले किसानको लगानी उठाउन मुस्किल पर्ने उनीहरू बताउँछन्। लगानी डुब्‍न नदिनका लागि किसान दिनरात खटिरहेका छन्। एउटा बोटमा चारदेखि छवटा खरबुजा फल्नुपर्नेमा यस पटक एकदेखि तीनवटासम्म मात्र खरबुजा फलेकामा किसानहरू चिन्तित देखिन्छन्।

सरकारी निकायले सहयोग गरेन : किसान

भद्रपुरस्थित मेची नदी वरपर किसानले आफ्नै लगानीमा बगरखेती गर्दै आइरहेका छन्। वर्सेनि बगरखेती गर्दै आइरहेका यहाँका किसानलाई गत वर्ष कृषि विकास कार्यालय झापाले केही बिरूवा, खाद्य मल, पम्पसेट उपलब्ध गराएको थियो। साथै किसानलाई खरबुजा खेतीमा लाग्ने रोगबारे पनि जानकारी गराइएको थियो। तर यस पटक न त स्थानीय तहले सहयोग गरेको छ, न कृषि विकास कार्यालयले नै। 

‘गत साल कृषिबाट कर्मचारी आएका थिए तर यस वर्ष कसैले चासो देखाएन, जसले गर्दा हामी मारमा परेका छौँ’, किसान सुखदेव सहनीले भने। यहाँ ३० देखि ४० जना किसानले वर्सेनि बगरखेती गर्दै आइरहेका छन्। ‘किसानलाई सरकारी निकायले सहयोग गरेको भए हाम्रो मिहिनेत र परिश्रम खेर जाने थिएन’, उनले भने। भद्रपुर नगरपालिका कृषि शाखा प्रमुख शेषराज पौडेलले मेची नदीमा स्थानीय तहबाट कुनै सहयोग नभएको स्वीकार्दै कृषि विकास कार्यालयका बारेमा आफूलाई थाहा नभएको बताए।

मेची नदीको खरबुजा काठमाडौंसम्म

कुनै बेला थियो भद्रपुरको मेची नदीमा उत्पादित खरबुजा नेपालका विभिन्न जिल्लामा बिक्री वितरणका लागि लगिन्थ्यो। अहिले विभिन्न नदी तथा खोला किनारमा किसानले बगरखेती गर्न थालेकाले व्यापार केही खुम्चिएको छ। यद्यपि, यहाँका खरबुजा अहिले पनि पूर्वका विभिन्न जिल्ला हुँदै काठमाडौंसम्म लैजाने गरिएको छ। पहिला मेची नदीमा छदेखि आठ किलोसम्मका खरबुजा उत्पादन हुँदै आएका थिए। अहिले पाँच किलोका खरबुजा पनि उत्पादन हुन छाडेकामा किसान चिन्तित छन्।

किसानले प्रति किलो १० देखि १५ रुपैयाँमा आफ्नो उत्पादन बेच्दै आएका छन्। बिचौलियाका कारण आफूहरूले भनेजस्तो मूल्य नपाएको स्थानीय किसान रामचन्द्र कामतीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.