|

पाल्पा : रोजगार अभियान नेपाल पाल्पाले तानसेनमा प्रतिभा लुम्‍बिनीको सांगीतिक यात्रा, गायन तथा नृत्य प्रतियोगिता आयोजना गरेको थियो। प्रस्तोताले शान्ति हिताङको नाम लिनेबित्तिकै उमेर ढल्कीसकेको, गाला चाउरी परेको, कपाल सेतै फुलेकी महिला जोश जाँगरका साथ स्टेजमा उक्लिइन्। स्टेजमा उमेर ढल्केकी महिलालाई देखेर उपस्थित दर्शक मुखामुख गर्न थाले। 

जब, उनी स्टेजमा उक्लेर गीत गाउन थालिन् तब सबै दर्शक मस्त मगन भए । तर, गीत सुन्ने अधिकांश भर्खरका तन्नेरी र किशोर–किशोरी थिए। प्रायः आधुनिक पाराका गीत सुनाइने र सुन्न रुचाउने। 

उनले भने परम्पराग भाका सुनाएकी थिइन्। तर, पनि केही क्षण अघिसम्म कोलाहलपूर्ण वातावरण रहेको कार्यक्रममा एकएक शान्ति छायो। उनी गुञ्जिरहिन् भने दर्शक भावुक बनेर उनलाई सुनिरहे। 

गुन्द्रुक, ढिँडो, आँटो र साग सिस्नु, 
पानी बोकी धान कुटी छ पिस्नु
हेर्नुस् हजुर यस्तै थियो पहिले जमाना,
हजुर मासिँदै गए नि आउँछ झल्को मेरो मनमा।।

बुढेसकालमा गीत गाएर दर्शकलाई लठ्ठ पार्ने तानसेन-८ मदनपोखराकी ५५ वर्षीया शान्ति हिताङ हुन्। शान्ति गायन विधामा प्रतिस्पर्धा गर्न आएकी हुन्। १५ जना सहभागी रहेको प्रतियोगितामा उनी दोस्रो चरणमा प्रवेश गरेकी छन्। 

उनी गायन यात्राको दोस्रो चरणमा प्रवेश गरेको अभियानका संयोजक रामु विश्वकर्माले बताए। शीर्षक जित्ने आश भने उनलाई छैन। ‘जित्न त अहिलेका चलन चल्तीका गायकले जित्लान्’ उनले भन्छिन्, ‘म रेडियोमा विज्ञापन सुनेर भाग लिन आएकी हुँ।’

कलाकार बन्ने रहर

काल्यकालदेखि नै उनी कलाकार बन्न चाहन्थिन्। तर, विवाह गरेर पराईघर गएपछि चुलोचौको र घरधन्दामै उनको दिनचर्या बित्यो। रहर मारेर उनी घर धन्दामा व्यस्त भइन्। 

‘माइतीघरमा छउञ्जेल दाइदिदीको बिहे तथा गाउँघरमा हुने पूजाआजामा रातभरि झाम्रे, सालैजो भाकामा गीत गाएर रमाइलो गरिन्थ्यो,’ विगत सम्झिँदै उनले भनिन् ‘रातभरि गाउँदा बाबाआमा, दाइभाइ दिदीबहिनीले सँगै बसेर साथ दिन्थे। गीत पनि आफ्ना दुःख सुखका गाइन्थ्यो।’

छोराछोरीको हौसला

उनी चार छोराछोरीकी आमा हुन्। छोराछोरी आ-आफ्नै पेसामा छन्। युवावय उनको कलाकर बन्ने रहर थियो भन्ने थाहा पाएपछि छोरोछोरीले गीत गाउन हौसला दिन थाले। 

छोराछोरीकै हौसलाले आमा समूह, क्लबले आयोजना गरेका कार्यक्रममा गीत गाउन थालेकी हुन्। गीत गाउने मात्रै होइन उनी सामाजिक सेवामा पनि सक्रिय छिन्।

छाडा गीत

उनका पालामा लेख्न पढ्न खासै जान्दैनथे। आफूले भोगेका दुःख पीडाहरूलाई गीत बनाएर बह पोख्ने गर्दथे। तर, अहिलेको पुस्ताले परम्परागत भाकालाई बिर्सिएर आधुनिकतातर्फ मोडिएको प्रति उनको गुनासो छ। उनले भन्छिन्, ‘अहिले त सबै परिवारसँगै बसेर सुन्न पनि नसकिने लाज लाग्ने खालका गीत गाउन थाले।’

परम्परागत संस्कृतिलाई जगेर्ना सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। तर, त्यहाँ छाडा गीत गाउन दिइन्छ। छाडा गीतले समाजमा विकृत बढाएको शान्तिको धारणा छ। सांस्कृतिक कार्यक्रममा गाइने छाडा गीतहरु नियन्त्रण गर्नसके समाजमा फैलिएको विकृति रोकिनेमा उनी आशावादी छिन्।

उनले प्रायः यस्ता कार्यक्रममा पुगेर परम्परागत संस्कृतिलाई जोगाउनुपर्छ भन्दै आफ्ना पालाका गीत गाउने गरेको बताउँछिन्। ‘म यो कार्यक्रममा आउनु पनि पुरानो गीत गाएर कम्तीमा केही चेतना दिनसक्छु कि भन्ने आशा हो’, उनले भनिन्। 

जन्म घर गेयो, मेरो कर्मघर कुसेनी
जेठानीले उठाएर विहानै उठ्थेनी,
विहानै उठेर घरको काम सकेर 
बेसी गोठ मल फालन गए बरिलै ।।
बेसी गोठ मल फालेर फर्की घर आउँदा 
स्वामीले बचन लाए बरिलै।।
अनाहकका रुखो बचन नैर लाउनु स्वामी
हजुरको दयाविना कति बसुँलानि।।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.