गृहसचिवले हस्ताक्षर नगर्दा जीवन निर्वाहभत्ताको अधिकारपत्र बनेन

|

भद्रपुर (झापा) : वैैशाख ६ अर्थात् २०६२।६३ को दोस्रो जनआन्दोलनको क्रममा झापाको सदरमुकाम भद्रपुरमा तत्कालीन शाही सेनाको गोली लागेर सुरज विश्वासले शहादत प्राप्त गरेको दिन।

निरंकुश शासन हटी लोकतन्त्र अाएको १३ वर्ष पुग्यो तर कान्छो छोरा सुरज गुमाएको घटना उनको परिवारमा ताजै छ। ६ महिना अघिमात्र सुरजका बुबा शान्ति विश्वासको निधन भएपछि परिवार थप पीडामा छ।

घरमा वर्षमा एकपटक वैशाख ६ गते मात्र चहलपहल हुने हो। नत्र राजनीतिक दलका नेताहरूले वास्ता गर्दैनन्।  शहीद परिवारका नाममा अाउने रकम पाउन छाडेपछि सुरजकी अामा थप पीडामा परेकी छिन्। शहीद परिवारका लागि बनाइएको नीति तथा कानुन सरकारी निकायबाटै बेवास्ता हुन थालेपछि उनी पीडामा परेकी हुन्। 

गत कात्तिक ५ गते शहीद सुरजका बाबुको निधन भएपछि अामा मीना विश्वास सरकारले प्रदान गरेको आजीवन निर्वाह भत्ता पाउन छाडेकी हुन्। यसअघि शान्तिले अाव २०६३।६४ देखि ०७४\७५ सम्म जीवन निर्वाह भत्ता बुझेका थिए। मासिक सात  हजारका दरले पाउने जीवन निर्वाह भत्ता उनले गत असोजमा जिल्ला प्रशासन कार्यालय झापाबाट लिएका थिए।

ऐतिहासिक जनआन्दोलनका शहीदका परिवारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउन गृह मन्त्रालयले रातो रंगको अधिकारपत्रमा शहीद पिता शान्तिको नाममा उल्लेख छ। पतिको निधन भएपछि पत्नीमा नामसारीे हुनु पर्ने हो। तर, श्रीमान् बितेको झण्डै ६ महिना बितिसक्दा पनि आफ्नो नाममा गृहको अधिकार पत्र बनाउन नसकेको र यसतर्फ सरकारी पक्षबाटै सहयोग नभएको मीनाले गुनासो पोखिन्। 

‘गृह मन्त्रालयमा अधिकारपत्र नामसारीका लागि गत फागुनमा काठमाडौं गएका थियौ', मीनाले भनिन्, ‘तर’ गृह सचिवले हुँदैन भनेपछि निराश भएर फर्केँ।’  गत असोजदेखि रकम नपाएको उनले बताइन्। सरकारले शहीद परिवारलाई दिइँदै आएको सेवासुविधा यसरी कटौती गरिए जीवन धान्न समस्या पर्ने उनले बताइन्।

सरकारले  गरेको व्यवस्थाअनुसार शहीद परिवारजनले भद्रपुर नगरपालिकाको वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयले दिएको लिखित सिफारिसको आधारमा गृह मन्त्रालय पुगेको शहीद सुरजका दाजु सञ्जय विश्वासले बताए। ‘गृह मन्त्रालयमा सम्पूर्ण कागजात पेश गरी आमाको नाममा अधिकार पत्र तयार बनाइसकेका थियौँ', उनले भने, ‘तर गृहसचिवले अधिकारपत्रमा हस्ताक्षर नगर्दा अधिकार पत्र नलिई खाली हात फर्कियौँ।’

अहिलेसम्मको उपलब्धि शहीदकै कारणले भएकाले उनीहरूका परिवारलाई चोट पुर्‍याउने काम काम गर्न नहुने भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ बताउँछन्। शहीद सुरजको माताले जीवन निर्वाह भत्ताको अधिकार पत्र नपाउनु राज्यको कमजोरी भएको उनले बताए। 'राज्यले दिने सेवासुविधा सहज रूपमा शहीद परिवारलाई दिनुपर्छ', उनी भन्छन्। 

संघीय सरकारले शहीद परिवारलाई सेवासुविधा दिन नसक्ने भए त्यो अधिकार स्थानीय सरकारलाई जिम्मा दिन उनले आग्रह गरे।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.