|

जाजरकोट :  भेरी करिडोरभित्र पर्ने छिन्चु–जाजरकोट सडक खण्डमा पर्ने सानाठूला खोलामा १२ वटा पक्की पुल निर्माण भइरहेका छन्। यस सडकखण्ड दुई वर्षअघि नै कालोपत्रे भए पनि पुल नहुँदा बर्खा याममा खोला बढेपछि यातायात सेवा अवरुद्ध हुँदै आएको थियो।

१०७ किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत पर्ने बनगाड, राकम, काली, लुकइ, छेडा, सिम्लेलगायतका खोलामा पुल निर्माण भइरहेकाे छ। यस सडकलाई भेरी करिडोरका रूपमा विकास गर्ने निर्णय गरेसँगै सरकारले पुल निर्माणमा तीव्रता दिएको हो। निर्माण कम्पनीका अनुसार यी पुल दुई वर्षभित्र  निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। सडक विभाग पुल योजना र सडक डिभिजनले पुल निर्माणको काम अगाडि बढाएको पुल योजना कार्यालय नेपालगन्जले जानकारी दिएको छ।

पुल निर्माणको जिम्मा लामा कन्स्ट्रक्सन र सूर्य कन्स्ट्रक्सन प्रालिले लिएका छन्। यस सडकखण्डको ७० किलोमिटरभित्र छ वटा पुल निर्माणका लागि लामा कन्स्ट्रक्सनले २७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेर काम गरिरहेको छ। त्यस्तै, सूर्य कन्स्ट्रक्सनले ७० देखि १०० किलोमिटर क्षेत्रभित्र छ वटा पुल बनाउने गरी २२ करोड रुपैयाँमा ठेक्का लिएको छ। स्थानीय एवं सरोकारवाला निकायको सहयोग पाए अर्को वर्षको चैतसम्म सबै पुल निर्माण सक्ने सूर्य कन्स्ट्रक्सनका प्रोपाइटर सूर्यबहादुर खड्काले बताए।

गतवर्ष मात्र फेरा, गोजी, काली र बालीखोलामा पक्की पुल निर्माण सकिएको थियो।  निर्माणाधीन पुल सम्पन्न भएपछि यस सडकखण्डमा यातायात सेवा सहज हुनेछ। पुल निर्माणपछि जाजरकोट, डोल्पा र रुकुम सडक सञ्जालसँग जोडिनेछन्। सडक विस्तारसँगै लामो समयदेखि ओझेलमा परेको पुल निर्माणले पछिल्लो समय तीव्रता पाएको छ। पुल निर्माणको तीव्रतासँगै जाजरकोट–डोल्पा सडक निर्माण कार्यलाई सघाउ पुगेको छ। नलगाड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक सामग्री लिन समेत सजिलो भएको छ।

पुल निर्माणपछि जाजरकोट, सल्यान, सुर्खेत, दैलेख, डोल्पा, जुम्लालगायत जिल्लामा दैनिक उपभोग्य वस्तु ढुवानीमा सहयोग पुग्ने जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.