|

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको नौ महिनामा दुई हजार ७०४ जना पर्यटकले अवलोकन गरेका छन्। स्वदेशी दुई हजार ४१७ , सार्क मुुलुकका १०९ र विदेशी १७९ जना पर्यटकले निकुञ्ज अबलोकन गरेका हुन्। जसबाट निकुञ्ज कार्यालयले चार करोड ९३ लाखभन्दा बढी राजस्व संकलन गरेको छ।

निकुञ्जको प्रचार प्रसार, आरक्षबाट निकुञ्जमा स्तरोन्नति र निजी क्षेत्रबाट पर्यटक बढावाका लागि गरिएका प्रयासले पर्यटकको संख्यामा बढेको निकुञ्जका निमित्त मुख्य संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए। उनका अनुसार गत आवमा निकुञ्जमा दुई हजार ६४० जना पर्यटकले अवलोकन गरेका थिए।

जसमध्ये स्वदेशी दुई हजार ३७३, सार्क मुलुकका ८९ र विदेशी १३७ जनाले निकुञ्ज अवलोकन गरेका थिए। आव ०७२/७३ मा स्वदेशी एक हजार ६४९, सार्क मुलुकका ९५ र विदेशी १७५ जनाले निकुञ्ज अवलोकन गरेका थिए। निकुञ्जले सोही अवधिमा एक करोड १० लाख ९१ हजार रुपैयाँ राजस्व समेत संकलन गरेको थियो।

निकुञ्ज घुम्न आउने स्वदेशी, विदेशी पर्यकको रोजाइमा घाँसे मैदान, सिमसार क्षेत्र, ताल तलैया,  पाटेबाघ, एक सिंगे गैंडा, हात्ती, बाह्रसिंगा, कृष्णसार, नीलगाई, चितुवा, चितल, लगुना, बँदेल, हिसपिडखरायो र विभिन्न प्रजातिका चराहरु पर्ने गरेका छन्।

३०५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज बाह्रसिंगाको सबैभन्दा ठूलो बथान र दुर्लभ पशुपंछी तथा वनस्पतिका लागि प्रसिद्ध रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.