|

२२ वर्ष देखि निरन्तर इंग्लिस क्लब आर्सनलको प्रशिक्षक रहँदै आएका फ्रेन्च लिजेन्ड आर्सेने वेंगरले जारी सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा गरेका छन्।

जारी सिजन क्लबलाई कम्तीमा शिर्ष चारमा पुर्‍याउने उदेश्य बोकेका वेंगरको उक्त लक्ष्य पुरा नहुदा र पछिल्लो समय क्लबले सोचेअनुरुप प्रदर्शन नगर्दा उनीमाथी क्लब छोड्न दबाब पर्दै आएको थियो।

तर क्लबको व्यवस्थापनले भने उनलाई हट्न या छोड्न भनेको थिएन। व्यवस्थापनको दबाब नहुँदा पनि उनले २२ वर्ष लामो यात्राको औपचारीक अन्त्य गर्ने निर्णय लिएका हुन्। ६८ वर्षीय वेंगरले आफ्नो कार्यकालमा आर्सनललाई तीन प्रिमियर लिग, सात एफए कप उपाधि जिताएका छन्। वेंगर छ पटक प्रिमियर लिगको उपविजेता बनेका थिए। 

१ अक्टोबर १९९६ मा क्लबमा आवद्ध भएका वेंगर जारी म्यानेजरहरूमा सर्वाधिक लामो समय सम्म टिम समाल्ने म्यानेजरका रुपमा रहेका छन्। उनले क्लबमा ८ सय २३ खेलमा टिमलाई प्रशिक्षण गरेका छन्।

गत आइतबार न्युक्यासलसँग पराजित भएपछि वेंगर थप चिन्तीत बनेका थिए। प्रतियोगितामा ३३ खेल खेल्दा वेंगरको टिमले ११ खेलमा बराबरीको नतिजा सामना गर्नुपर्‍यो भने छ हार ब्योहोर्‍यो। बाँकी १६ खेलमा जित निकालेपनि शीर्ष चारमा रहन असफल भयो।सुरुवाती नौ सिजनमा तीन प्रिमियर लिग टाइटल तथा चार एफए कप दिलाएका वेंगरका लागि प्रिमियर लिग यात्रा कहिले तल तथा कहिले माथि रहँदै आएको छ। सन् २००३-०४ मा उनी पहिलो म्यानेजर बनेका थिए। जहाँ क्लबले सन् १९८८-८९ पछि सर्वाधिक लामो समय अपराजित यात्राको रेकर्ड कायम गरेको थियो।

तर वेंगरले सन् २००५ मा एफ एकपको उपाधि जितेपछि अर्को उपाधिका लागि नौ वर्ष कुर्नु पर्‍यो। अर्थात ३२८३ दिन पछि सन् २०१४ मा एफए कपमा हलसिटीलाई पराजित गर्दै उपाधि जित्यो।

वेंगरले गत सिजनमा पनि चेल्सीलाई पराजित गर्दै एफए कप आर्सनललाई दिलाएका थिए। तर, कोन्टे साइडले प्रिमियर लिगमा भने १८ अंकले पछि पार्दै उपाधि जितेको थियो। सन् २००६ मा बार्सिलोनासँग च्याम्पियन्स लिगको फाइनलमा पराजित हुन पुगेपछि आर्सनल ठुला प्रतियोगितामा सधै संघर्षमा नै सिमित हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.