पुललाई बंगाल र बिहारको एनएच हाइवेसँग जोड्छौँ : सांसद

|

झापा (भद्रपुर) : नेपाल–भारतको सीमावर्ती नाका जोड्ने भद्रपुरस्थित मेची पुलको निर्माण कार्य लगभग पूरा भएको छ। सात वर्षमा बल्ल सम्पन्न भएको मेची पुल जोड्ने सडक नबन्दा दुवै देशका नागरिकको ध्यान त्यसतर्फ केन्द्रित बनेको छ। 

भारतको बंगाल तथा बिहार राज्य छोएको मेची पुलको सडकलाई कुन दिशामा लैजाने भन्ने कुराले नेपाल तथा भारत दुवै देशका जनप्रतिनिधि तथा सर्वसाधरणलाई चिन्तित बनाएको छ। पश्चिमतर्फ मेची पुललाई हुलाकी राजमार्गसँग जोड्ने डिजाइन तथा नक्सा तयार नहुनु र पूर्वतर्फ भारत सरकारले पुललाई बिहार तथा बंगाल जोड्ने दिशा दिन नसक्दा मेची पुल उद्घाटनको पर्खाइमा रहेको छ। 

नेपाल सरकारले बजेट निकासा गरेपछि वि.सं. २०६८ माघ २१ गतेदेखि मेची पुल निर्माण कार्य सुरु भएको थियो। तीन वर्षमा बन्ने मेची पुल बल्ल सात वर्ष आएर लगभग काम पूरा भएको छ। यसको कुल लागत करिब ३३ करोड रुपैयाँ रहेको छ। पुलको लम्बाइ ५६० मिटर र चौडाइ ११ मिटर छ। मेची पुललाई चाँडोभन्दा चाँडो उद्घाटन गरी संचालनमा ल्याउन दुवै देशका नागरिकले आआफ्नो स्थानबाट सरकार तथा जनप्रतिनिधिलाई दबाब दिँदै आएका छन्। 

यसै विषयमा पूर्वतर्फको पुलको सडकलाई बिहारतर्फ जोड्ने सम्बन्धमा बिहार सरकारका विधायक, भद्रपुर नगरपालिका र दुवै देशका जनप्रतिनिधि, इन्जिनियर, उद्योगी, व्यवसायी र राजनीतिक दलले शुक्रबार बिहान मेची पुलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका थिए। निरीक्षण तथा अनुगमनपश्चात् पुललाई भारतको बिहार राज्यसँग जोड्ने गरी अन्तिम निश्कर्ष निकाल्दै सडकको बारेमा व्यापक छलफल गरिएको थियो। 

भद्रपुर नगरपालिकामा आयोजित छलफलमा मेची पुल जोड्ने सडकलाई एनएच हाइवेसँग जोड्न भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रदेश सांसद ओमप्रकाश सरावगी र भद्रपुरका पूर्व प्रमुख भरतेन्दुकुमार मल्लिकले बिहारका विधायक तथा जनता दल युनाइटेडका पार्टी सचेतक मो. नौसाद आलम समक्ष आग्रह गरेका थिए। 

पुललाई बंगाल र बिहारको एनएच हाइवेसँग जोड्छौँ : विधायक आलम

नेपाल सरकारको सहयोगमा मेची पुल निर्माण भएकोमा बिहारका विधायक मो. नौसाद आलमले खुसी व्यक्त गरेका छन्। ‘नेपालको पुरानो नगर भद्रपुर र भारतको गलगलिया पुलकै कारणले अन्य नाकाको तुलनामा विकासको दृष्टिकोणले पछि परेको छ, जसले गर्दा भद्रपुर र गलगलियावासीलाई प्रत्यक्ष मारमा पारेको छ', उनले भने, ‘अब पुल बनेपछि यस क्षेत्रको विकास हुनेछ।’

पुललाई बिहार राज्यसँग जोड्न बिहार सरकार तयार रहेको बताउँदै उनले थपे, ‘गलगलियाको बाटो पहिला ग्रामीण सडक थियो, अहिले आरसिडी सडक बनेको छ। पुलको सडकलाई बंगालदेखि अररिया जोड्ने एनएच सडकसँग जोड्न बिहारका मुख्यमन्त्रीसँग कुरा गरी काम अघि बढाउन प्रयास गर्नेछौँ।’

पुलको सडकमा यस्तो छ प्राविधिक समस्या 

मेची पुलको पूर्वपट्टि भारततर्फ यू टर्न आकारका सडक बन्दै छन्। सूर्य एण्ड सन्स जेभी निर्माण कम्पनीले १०३ मिटर यु टर्न आकारको ग्राभेल सडक बनाउँदै छ। यू टर्न आकारको सडक बन्दा सवारी साधनलाई समस्या हुने भन्दै भद्रपुर नगरपालिकाले गम्भीर चासो देखाएको छ। ‘सिधै सडक लैजाँदा बंगालमा पर्छ, यू टर्न गर्दा बिहार जोडिन्छ। बंगालको भूभाग नजोडी बिहार लैजाँदा यस्तो समस्या देखापरेको हो’, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले भने, ‘यसबारेमा नेपालको विराटनगरस्थित भारतीय महावाणिज्य दूतावास र नेपाल सरकारलाई लिखित तथा मौखिक जानकारी गराइसकेका छौँ।’

उनका अनुसार अहिले बन्दै गरेको यू टर्नलाई रेडियम अफ क्रभेचर भनिन्छ। कम्तीमा ३०० देखि ४५० मिटर रेडियम नभए ठूला सवारी साधन आवतजावतमा समस्या हुनेछ। अहिले रेडियम करिब १०० देखि १५० मिटर मात्र रहेको छ। यसलाई फराकिलो बनाउन आवश्यक छ। 

भद्रपुरकै सडकमा सर्वसाधारणको अवरोध  

हुलाकी राजमार्ग जोड्ने योजनाका साथ बनाइएको मेची पुलको सडक निर्माणको कामले तीव्रता पाउन सकेको छैन। भद्रपुरबाट सडक निकाल्न घरधनीले घर तथा जमिन खाली नगर्दा यस्तो समस्या उत्पन्न भएको हो। भौतिक संरचना हटाउन जमिनका लागि मात्र साढे पाँच करोड र घरको मूल्याकंन गर्दा करिब साढे दुई करोड रुपैयाँ आवश्यक रहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासले बताए। ‘सडकमा पर्ने २२ घर परिवारलाई जमिनवापत चार करोड रुपैयाँ वितरण गरिसकेका छौँ’, उनले भने, ‘जमिनको साढे एक करोड र भवनको गरी अझै साढे तीन करोड रकम आवश्यक देखिएको छ। यसको निकासा पनि अर्थ मन्त्रलायबाट भइसकेको छ। रकम आउनासाथ वितरण गरी काम अघि बढाइनेछ।’ 

रकम नपाउँदा सर्वसाधारणले जमिन खाली नगरेको उनले बताए। ‘पुल निर्माण कम्पनीले अहिले ३६० मिटर ग्राभेल सडक बनाउनेछ’, उनले भने, ‘पुललाई हुलाकी राजमार्गसँग जोड्ने काम बाँकी नै छ।’ त्यसका लागि डिजाइन र नक्सा अहिले नबनिसकेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.