|

जाजरकोट : जुनीचाँदे गाउँपालिका–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर रहेको छाउगोठमा बस्छिन्। छाउगोठमा राति एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्छ।

देखिने भन्दा नदेखिने वस्तुको बढी डर लाग्ने उनी बताउँछिन्। ‘डर जंगली जनावरको होइन’, उनी भन्छिन्, ‘देउताको लाग्छ।’ देउताको डरकै कारण उनी महिनावारी हुँदा घरदेखि टाढा जंगलछेउमा रहेको छाउगोठमा बस्ने गरेकी हुन्। 

उनका लागि छाउगोठ जानु सामान्यजस्तै भइसकेको छ। ‘म मात्रै जानु परेको भए अप्ठ्यारो हुन्थ्यो, महिनावारी हुँदा यहाँका सबै महिलाहरु छाउगोठमै बस्छन्’ उनले भनिन, ‘बज्यै, आमा, भाउजुहरूले मान्दै आएको यो चलन हाम्रा लागि पनि नयाँ होइन, अब त नियमित जस्तै भइसक्यो।’ गीताले जस्तै जुनीचाँदेको महिला र युवतीहरुले छाउपडी प्रथालाई संस्कारकै रूपमा स्वीकार्दै आएका छन्।

‘छुई हुँदा घरभित्रै बस्यो भने त देउता रिसाउँछन्। अनेक समस्या आइलाग्छन्’ गीताले छाउगोठ जानुको कारण बताइन्, ‘देउता लागे भने जिन्दगीभरि दु:ख पाइन्छ, त्योभन्दा बरु छाउगोठमा गएर बस्नु बेस।’ ‘देउता लाग्ने’ डरकै कारण यहाँका महिलाहरु छाउ बार्न बाध्य छन्।

शिक्षालाई चुनौती 

जुनीचाँदेकी पार्वती खड्का आदर्श माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्छिन्। उच्च शिक्षा अध्ययनकै क्रममा रहेकी उनी पनि महिनावारी हुँदा छाउगोठमै पुग्छिन्। सरकारले छाउपडी प्रथा अन्त्य गर्न कानुन बनाएको छ भन्ने उनलाई थाहा नभएको होइन। तर देउताको डरबाट भने उनी उम्किन सकेकी छैनन्। देउताको डरकै कारण गोठमा बस्नैपर्ने बाध्यता छ।

पहिलेदेखि चलेको चलन हटाउन निकै गाह्रो भएको उनको भनाइ छ। ‘महिनावारी हुँदा गोठमा गई नबसे लागो लाग्छ’, उनले भनिन्, ‘देउता रिसाए हामीलाई अनर्थ हुन्छ, अनि जानु परेन त!’ कक्षा ९ मा अध्ययनरत गीता खड्का पनि पार्वतीकै जस्तो भ्रममा छिन्। उनलाई पनि गोठमा बस्दा हुने अन्य डरभन्दा देउता रिसाएर पुर्‍याउने क्षतिको डर बढी लाग्ने गर्छ। महिनावारीको समयमा र सुत्केरी हुँदा घरमा बसे देवताले नाश गर्छन् भन्ने गीताको बुझाइ छ। 

चलेको चलन 

गाउँका सबै महिला र युवतीहरु महिनावारी र सुत्केरी हुँदा छाउगोठमै बस्ने गरेकोले आफू पनि त्यही बस्ने गरेको गीताको भनाइ छ। गीता र पार्वती मात्र होइन, जिल्लाका विकट एवं दुर्गम गाउँपालिकाको रुपमा रहेको जुनीचाँदे गाउँपालिका– ४ लुहादहका सबै महिलाको बाध्यता बनेको छ, छाउगोठ।

महिनावारी हुँदा सात दिन र सुत्केरी हुँदा १० दिन गोठमा बस्नुपर्ने बाध्यताका कारण उक्त गाउँका महिलाहरूले विभिन्न किसिमका समस्याहरु झेल्नु परेको स्थानीय प्रेमबहादुर खड्काले बताए। तर यहाँका नागरिकले यसलाई संस्कारकै रुपमा स्वीकार गरेको उनी बताउँछन्।

पुरानो पुस्ताको जिद्दी र नयाँ पुस्ताले पनि त्यसैलाई स्वीकार गरेका कारण गाउँबाट छाउपडी प्रथा हटाउन नसकिएको बताए। विद्यालयमा छाउपडी प्रथाले निम्त्याउने समस्या र यो अन्धविश्वास हो भने जतिपटक पढाए पनि विद्यार्थीहरु नै यो भ्रमबाट मुक्त हुन नसकेको आदर्श माविकै शिक्षक नेपालीदास चौधरीले बताए।

‘म आदर्श माविमा आएको करिब १८ वर्ष भयो, यहाँका अधिकांश विद्यार्थीलाई बालविवाह र छाउपडीबारे जतिसुकै शिक्षा दिएता पनि यो प्रथा अन्त्य हुन सकेको छैन’ शिक्षक चौधरीले भने।

छाड्नै मुस्किल

हजुरआमा, आमाले गरेको चलन हामीले नगर्दा घरबाटै छाउँगोठमा बस्न दबाब आउने गरेको स्थानीय महिलाहरू बताउँछन्। सुत्केरी अवस्थामा छाउगोठको बसाइले बच्चा स्याहार गर्न कठिन हुने गरेको र यो भन्दा पहिले धेरै बालबालिकालगायत आमाको  ज्यानै जाने गरेको स्थानीय कविता खड्काले  बताइन्। यहाँका किशोरी र महिला कुसंस्कारको शिकार बन्दै आएका छन्। ज्यान जोखिममै राखेर महिलाहरु छाउगोठमा बस्ने गरेका छन्।

छाउपडीमा बस्दा बिरामी भएर प्रत्येक महिना  १० भन्दा बढी बिरामी उपचारको लागि आउने गरेको स्थानीय स्वास्थ्यकर्मी प्रदीप थापाले जानकारी दिए।  

पढाइमा बाधा

छाउपडी प्रथाका कारण यहाँका किशोरीहरुको पढाइमा बाधा हुने गरेको छ। लुहादहमा रहेको छाउपडी प्रथाकै कारण विद्यालयमा अध्यनरत किशोरीहरु विद्यालय आउन लजाउने गरेको र कतिपयले विद्यालय नै छोड्ने गरेको शिक्षकहरू बताउँछन्। महिनावारीबारे जनचेतना जगाउन नसक्दा र छाउपडी प्रथाकै कारण यस्तो समस्या देखिएको छ।

के गदैछ स्थानीय सरकार ?
छाउपडीप्रथाले विकराल रूप लिए पनि यसलाई हटाउनका लागि जुनिचाँदे गाउँपालिकाले योजना बनाएर काम गर्ने तयारीमा छ। गाउँपालिकाले छाउपडी प्रथा हटाउन स्थानीय युवा आमा समूहसँग छलफल गदै अगाडि बढेको छ।  विभिन्न समयमा गरेको प्रयास बुढापाकाको अडानका कारण र सरकारी निकायको बेवास्ताका कारण हट्न नसकेको स्थानीयको आरोप छ  । 

सरकारले नै छाउपडीविरुद्धको ऐन बनाएर लागू गरेको छ। यसको कार्यान्वयन गराउने जिम्मेवारी राज्यका निकायहरूको हो। जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले यो प्रथा अन्त्यका लागि पहल गर्ने गरिरहेको बताए। एक्लो प्रयासबाट छाउपडी प्रथा अन्त्य गर्न नसकिने उनले बताए। उनले भने, ‘अब हामी विशेष कार्यक्रम बनाएर योविरुद्ध अभियान सञ्चालन गर्छौँ, गाउँपालिका बजेट कार्यान्वयन प्रक्रियामा छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.