|

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन्। जेठ ११ गते मोदी नेपाल आउने गरी भ्रमणको गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतीय पक्षसँग छलफल गर्नुपर्ने भएकोले भ्रमण तालिका यताउता पर्न सक्ने मन्त्रालयले जनाएको छ।

भारतको हिन्दुस्तान टाइम्सले वैशाख २८ मै मोदी नेपाल भ्रमणमा निस्कने समाचार प्रकाशित गरेको छ। परराष्ट्र मन्त्रालयले भने मिति टुंगो लाग्न बाँकी रहेको जनाएको छ। तर मोदी नेपाल भ्रमणमा आउन लागेको कुरा चाहिँ पक्का भएको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार ढिलोमा जेठ १५ सम्ममा मोदी नेपाल आउने छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेको केही समयमै मोदी नेपाल आउन लागेका हुन्। भारत भ्रमणको क्रममा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका थिए। मोदी यो भन्दा अघि सन् २०१४ मा सार्क सम्मेलनका बेला नेपाल भ्रमण गरेका थिए। अहिलेको भ्रमणमा मोदी जनकपुर भ्रमणमा जाने कार्यक्रम समेत रहेको छ।

शनिबार मात्रै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली चीन भ्रमणबाट स्वदेश आएका छन्। चिनिया राष्ट्रपति सि जिङपीङले पनि नेपाल भ्रमण गर्ने कार्यक्रम छ। चिनिया राष्ट्रपतिको भ्रमणको समय पनि टुंगो लागेको छैन। यो बीचमा प्रधानमन्त्री ओलीले चीनको भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ। ओलीको तत्कालको चीन भ्रमणलाई रोक्न मोदी नेपाल आउन लागेको समेत राजनीतिक वृत्तमा वहस सुरु भएको छ।

मोदी नआउँदै वा आएपछि ओली चीन भ्रमणमा निस्कन्छन् भन्ने टुंगो लागेको छैन। ओलीले चीन भ्रमण गर्ने वित्तिकै सी पनि नेपाल भ्रमणमा आउने तयारी गरेका छन्। मोदीको भ्रमणले गर्दा ओलीको चीन भ्रमणको कार्यक्रम यताउता पर्ने सम्भावना बढेको छ।

चीन भ्रमणमा गएका परराष्ट्रमन्त्री ज्ञवालीले आफू प्रधानमन्त्रीको चीन भ्रमणको वातावरण बनाउनका लागि मात्रै चीन नगएको उल्लेख गर्दै केही दिनमै ओलीको चीन भ्रमण हुने सक्ने गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.