प्रचण्डले लेखेरै मागे महाधिवेशन पछिको अध्यक्ष

|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया माग्ने र दिने खेलमा पुगेर अड्किएको छ। दुवै पार्टीका अध्यक्षहरू दैनिकजसो एकताको गाँठो फुकाउन गोप्य वार्तामा बसिरहेका छन्। तर, एमाले र माओवादीका आ–आफ्नै ढिपीले गर्दा एकताको गाँठो फुक्न सकेको छैन।

बाहिरतिर एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताइए पनि माथापच्चिको अन्तर्य अर्कै रहेको नेताहरू बताउँछन्। एकताका लागि दुवै दलका नेताहरू तयार छन् तर, एकतापछिको ‘पावर सेयरिङ’को विषय गोप्य वार्ताहरूमा पनि टुंगिन सकेको छैन।

माओवादीले एकतापछिको संगठनमा बराबरी हैसियत हुनुपर्ने माग राख्दै महाधिवेशन पछिको अध्यक्ष पदका लागि बार्गेनिङ गरिहेको छ। धेरै–थोरैको हैसियतमा पनि एकतामा जान तयार भएको माओवादीले महाधिवेशन पछिको पार्टी अध्यक्ष आफ्नो भागमा पर्नुपर्ने रटान माओवादीले लगाइरहेको छ। यसको सोझो अर्थ हो– माओवादी अध्यक्ष प्रचण्ड महाधिवेशनपछि एकिकृत पार्टीको अध्यक्ष बनेर संगठनमा आफ्नो प्रभुत्व जमाउन चाहान्छन्। प्रचण्डको योजनाका विषयमा एमाले नेताहरू पनि राम्रैसँग जानकार भएको बुझिन्छ।

एमाले नेताहरूले अहिले नै माओवादीलाई लिखित रूपमा महाधिवेशन पछिको अध्यक्ष दिन नसकिने बताउँछन्। ‘प्रचण्डले एकतापछि आफ्नो सुरक्षा खोज्नु भएको हो, जुन गलत कुरा होइन,’ माओवादी नेता देवेन्द्र पौडेल भन्छन्, ‘ओलीजीले पनि आफ्नो सुरक्षा खोज्नुभएकै छ।’ पौडेले पार्टी एकताको गाँठो एकता पछिको सांगठनिक अवस्था र महाधिवेशन पछिको अध्यक्षको विषयमा पुगेर अड्किएको बताए।

एमाले नेताहरूले पनि माओवादीले महाधिवेशन पछिको अध्यक्ष पनि लिखित रूपमै मागेकोले एकताको प्रक्रिया अड्किएको बताउँछन्। ‘एमालेले हालसम्म अबलम्बन गर्दै आएका पद्धतीहरू छन्, जसलाई मिच्न मिल्दैन’, एमाले अध्यक्ष ओली निकट स्रोतले भन्यो, ‘महाधिवेशनपछि चुनावबाट अध्यक्ष हुने हो, अहिले नै कसैले लेखेर अध्यक्ष पाउने सम्भावना हुँदैन।’

एकताका लागि माओवादीबाट माग धेरै आएको एमाले निकट स्रोतहरू बताउँछन्। ‘माओवादीले माग्ने मात्र र एमालेले दिने मात्र भइरहेको छ,’ एमाले स्रोतले भन्यो, ‘एकता भइसकेपछि पनि माओवादीबाट सुरक्षित ठाउँ खोजेको जस्तो मात्रै देखिन्छ।’

अहिले दुई पार्टी एकताको विषय टुंग्याउने जिम्मेवारी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन्। गत मंगलबारबाटै उनीहरूले आ–आफ्नोतर्फबाट एकतालाई चाँडै टुंगोमा पुर्‍याउने प्रयास गरिरहेका छन्। उनीहरू दैनिक छलफल गर्दै एकतालाई अघि बढाउने प्रयासमा छन्। तर, एकताप्रक्रिया भने अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन।

दुवै अध्यक्षको बार्गेनिङका कारण एकता प्रक्रियाले गति लिन नसेकेको बताइएको छ। पार्टी संरचनामा दुवै पार्टीको बराबरी हिस्सा, चुनाव चिह्न र पार्टीको प्रस्तावनामा जनयुद्ध राख्ने/नराख्ने भन्ने बारेमा एकता प्रक्रिया अल्झिएको छ। यही विषयलाई दुई जनाको छलफलबाट टुंगो लगाउन अध्यक्षलाई संयोजन समितिले जिम्मेवारी सुम्पिएको थियो। 

दैनिक जसो एकअर्काबीच गम्भीर छलफल हुँदासम्म अहिलेसम्म एकता प्रक्रियाको ठोस निर्णय आउन सकेको छैन। एकताको मिति पटक–पटक तय भए पनि तोकिएको मिति टर्ने गरेको छ। एकता पछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष को बन्ने भन्ने विषयमा कुरा अल्झिएको प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली निटक स्रोतको दाबी छ। एकता पछि पार्टीको अध्यक्ष ओली र प्रचण्ड दुवै बन्ने सहमति भइसकेको छ। तर, पार्टीको महाधिवेशनपछिको अध्यक्ष को बन्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन। 

माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताको महाधिवेशनपछि पनि अध्यक्षको ग्यारेन्टि खोजेको स्रोतको दाबी छ।  ‘चुनावबाट अध्यक्ष छान्ने व्यवस्था भएको हुँदा एमालेले अहिले नै प्रचण्डलाई अध्यक्ष लेखेर दिने अवस्था छैन,’ स्रोतले भन्यो, ‘ओली र माधव नेपालले एकतापछिको अध्यक्षको ग्यारेन्टी गर्नुपर्छ भन्ने माग प्रचण्डको छ।’

अन्य विषयमा धेरै असमझदारी नरहेको प्रधानमन्त्री तथा एमाले अध्यक्ष निकट स्रोत बताउँछ। ‘अन्य विषयमा त खासै विवाद छैन, प्रस्तावनामा जनयुद्ध राख्ने/नराख्ने भन्ने विवाद हो,’ स्रोतले भन्यो, ‘यो विषय नमिल्ने भन्ने कुरा छैन, सामान्य कुरा हो।’ माओवादीका नेताहरूले भने प्रचण्डले उठाएको विषय स्वभाविक भएको बताउँछन्। माओवादी केन्द्रका नेता पौडेले आफू पनि सुरक्षित हुनका लागि प्रचण्डले एकतापछिको अध्यक्ष मागेको बताए। ‘आफ्नो कमिटीलाई सम्मानजनक रूपमा लिएर जाने कुरा राख्नु स्भाविक हो,’ उनले भने, ‘केपी ओलीले पनि त आफ्नो सुरक्षाको कुरा राख्नुभएकै छ।’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले माओवादी जनयुद्ध स्वीकार नगर्दा एकता प्रक्रियाले गति लिन नसकेको चर्चा पनि सुरु भएको छ। जनयुद्धका कारण माओवादीलाई हेर्ने दृष्टिकोण अझैपनि फरक रहेकोले जनयुद्धलाई स्वीकार गरेर अघि बढ्न नसकिने सन्देश ओलीले दिएका छन्। पार्टी संरचनाका विषयमा पनि माओवादीले भनेको बराबरी भाग गर्न नसकिने एमालेको सन्देश छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६०/४० मा बागबन्डा गरे पनि ७०/३० को अनुपातमा नतिजा आएकोले सोही अनुसार गर्नुपर्ने एमालेले बताउँदै आएको छ। 

विभिन्न असमझदारीहरू भएपनि एकता पक्रिया अन्तिम चरणमा पुगेको माओवादी नेता पौडेलले बताए। ‘केही विषय नमिलेका हुन्, बैशाखमै एकता हुने गरी छलफल भइरहेको छ’,  उनले भने, ‘संगठनात्मक प्रणाली र नेतृत्व व्यवस्थापन मात्रै सहमति जुट्न नसकेको हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.