|

काभ्रेपालञ्चोक : बनेपा नगरपालिका–१३ साँगास्थित बुढाथोकी गाउँमा सम्पन्न भएको लिफ्ट खानेपानी आयोजना शनिबार खानेपानी मन्त्री बिना मगर र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संयुक्त रूपमा उद्घाटन गरेका छन्।

सो कार्यक्रममा बोल्दै खानेपानीमन्त्री बिना मगरले राष्ट्रको ध्यान पुग्न नसकेको बाटो र विजुली नपुग्ने तथा पानीको स्रोतहरूलाई केन्द्रीत गरी काम गर्न नसकेको ठाउँमा कठिनाई ब्यहोर्दै आएका बस्तीहरूमा खानेपानीको सेवा पुर्‍याउन गरिएको काम सह्रानिय रहेको बताइन्। उनले सरकारको लक्ष्य समृद्ध नेपाल भए पनि खानेपानीको अभावमा रहेका ग्रामीण बस्तीहरूमा खानेपानी पुर्‍याउनु निकै चुनौतीपूर्ण रहेको समेत बताइन्।

उनले बजारीकरण र सहरीकरण उन्मुख क्षेत्रहरूमा स्वच्छ खानेपानी, ढल निर्माण र सरसफाईको कामलाई योजनाबद्ध रूपमा विकास गर्ने योजनामा मन्त्रालय अगाडि बढिरहेको उल्लेख गरिन्। विशेषगरी हिमाली र पहाडी भेगका महिलाहरूले संघर्षपूर्ण जीवनहरू ब्यतित् गरिरहनु परेको बताउँदै पहाडी भेगमा पनि ट्युवेल सञ्चालन गर्न सकिने क्षेत्रहरू खोजिरहेको र केही ठाउँमा डीप ट्युवेल सञ्चालन गरी खानेपानी असहजतालाई पूर्ति गर्न मन्त्रालय लागिपरेको बताइन्। त्यसमा पनि अझ प्रभावकारी लिफ्ट प्रविधिको खानेपानी रहेकोले त्यसलाई व्यवस्थित गर्न खोजीराखेको उनको भनाइ छ।

अस्थिर सरकारका कारण गाउँबस्तिले असहज भोगिरहनुपरेका अवस्थामा अहिले स्थिर सरकार निर्माण भइसकेको उल्लेख गर्दै उनले अब धेरै कुरालाई पूर्ति गर्न सकिने बताइन्। गाउँघरमा पानीको अभाव रहेको भएपति त्यसलाई पूर्ति गर्नै भएको पानीेको स्रोतलाई परिचालन गरी राज्यको महत्वपूर्ण आर्थिक स्रोतको रुपमा प्रयोग गर्न सकिने उनको भनाइ छ। पानीलाई प्रयोग गरेर उद्योग र कलकारखाना सञ्चालन गर्न सकिने र जसले समृद्ध नेपाल निर्माण गर्नमा सहयोग पुग्ने मन्त्री मगरले बताइन्।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देश बनाउने संकल्प लिएकाले अबको सरकारले त्यसलाई पूर्णता दिने बताए। देशले प्रगति गर्नको निम्ति संकल्प गर्नुपर्ने उल्लेख गर्दै बाँस्कोटाले अब संकल्पलाई पूरा गरेर छाड्ने बताए। अब अभावको जिन्दगी नचल्ने उनको भनाइ छ।

ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको आर्थिक सहयोग र शान्ति जनआर्दश सेवा केन्द्रको सहकार्यबाट निर्माण कार्य सम्पन्न भएको उक्त आयोजना नयाँ प्रविधि जिएसएम कन्ट्रोल प्यानल जडानसहितको रहेको छ।

एक्वाटेक प्राइभेट लिमिटेड कार्यकारी निर्देशक बजरंग जैनले मोबाइल एप्सको प्रयोग गरी पानी खोल्न र बन्द गर्न सकिने भएकाले समयको बचत हुने बताए। उनका अनुसार देशको जुनसुकै कुनामा पुगे पनि पानी खोल्न र बन्द गर्न सो मोबाइलमा भएको एप्सको प्रयोगबाट सहजै गर्न सकिने भएकाले राति, बाढी पहिरो र टाढा भनेर बस्नु पर्दैन।

खानेपानीको निकै अभाव झेल्दै आएका यहाँ स्थानीयबासिन्दाहरूका लागि खानेपानी उपभोग गर्न गाउँदेखि तल रहेको खोल्साबाट लिफ्टीङ पद्धतिबाट खानेपानी आयोजना सम्पन्न गरिएको हो। उक्त आयोजनाबाट त्यहाँका स्थानीय उपभोक्ताहरूको नगद एवं श्रमदानबाट गरी ८४ घरधुरीका  ३२२ जना उपभोक्ताका लागि कुल ४२ लाख ५२ हजार ५८७ मा सम्पन्न भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.