|

सोलुखुम्बु : यहाँ निर्माणाधिन सोलुदुधकोशी जलविद्युत अयोजनाले आइपिओ शेयर जारी गर्ने भएको छ । स्वदेशी निजी क्षेत्रको लगानीबाट यहाँ निर्माण गर्न लागिएको मुलुककै सबैभन्दा ठूलो ८६ मेगावाट क्षमताको उक्त आयोजनाले आइपिओ शेयर जारी गर्ने निर्णय गरेको कम्पनिका कार्यकारी अध्यक्ष हिमप्रसाद पाठकले जानकारी दिए। 

आयोजना निर्माण कम्पनी साहास उर्जा लिमिटेडको बार्षिक साधारण सभाले स्थानीय तथा सर्वसाधरणलाई आईपिओ शेयर जारी गर्ने निर्णय गरेको अध्यक्ष पाठकले बताए। जम्मा ६० प्रतिशत संस्थापक शेयर र बाँकी साधारण शेयर वितरण हुनेमा साधाराण शेयरको १० प्रतिशत प्रभावित क्षेत्रका स्थानीयले पाउने र २० प्रतिशत शेयर सर्वसाधारणलाई प्रदान गर्ने कम्पनिका अध्यक्ष हिमप्रसाद पाठकले बताए। अति प्रभावित क्षेत्रको रुपमा सावीकको सल्यान, पञ्चन, नेचाबेतघारी, कांगेल र तिङ्लाका स्थानीयलाई अघिल्लो वर्ष प्रतिघर न्यूनतम १० हजार रुपियाँ देखि अधिकतम २० हजार रुपियाँसम्मको संस्थापक शेयर वितरण गरिसकेको छ । 

हाइड्रो भेन्चर प्रालिले साहस उर्जाको शतप्रतिशत लगानीमा निर्माण गर्न लागेको आयोजनाले जिल्लाको तिङ्लामा ड्याम निर्माण गरि सुरुङ मार्ग मार्फत पञ्चनको मैकुबेशी जलप्रवाह पु¥याएर विद्युत उत्पादन गर्ने छ । कम्पनीले सबै भन्दा कम लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको अध्यक्ष पाठकले बताए । आयोजना सम्पन्न गर्नको लागि कुल लागत रु.११ अर्ब ८६ करोडको स्टामेट रहेको छ ।

३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने कार्ययोजना बनाईएको आयोजनाको अहिले शुरुङ निर्माणको काम शुरु भएको छ । २०७७ को असोजभित्र निर्माण पुरा गर्ने लक्ष्य राखिएको आयोजनामा ४.५ किलोमिटर लामो सुरुङ निर्माणको काम सुरु भएको बताइएको छ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) समेत गरिसकेको आयोजनाले जनाएको छ । आयोजनाबाट उत्पादित विजुली १०.५ किलोमिटर लामो डबल सर्किट प्रशारण लाइनमार्फत सोलुदुधकुण्ड वडा नम्बर ११ स्थीत तिङ्लाको सवस्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ । 

आयोजनाका लागि नेपाल इन्भेष्टमेन्ट बैङ्कको नेतृत्वमा ११ बैङ्क तथा वित्तीय संस्थाले ऋण लगानी सम्झौता गरेका छन् । आठ अर्ब ६५ करोड ऋण लगानी सम्झौता भएको पनि अध्यक्ष पाठकले बताए । जसमा इन्भेष्टमेन्ट बैङ्कको एक अर्ब ५० करोड रुपियाँ, जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को ९० करोड तथा राष्ट्रिय वाणिज्य, कृृषि विकास, एनसीसी, सेन्चुरी कमर्सियल, सानिमा, एनआईसी एसिया, र सनराइज विकास बैङ्कको ७५/७५ करोड लगानी रहने छ । यस्तै, प्रभु र सिभिल बैङ्कको ५०/५० करोड ऋण लगानी रहने आयोजनाले जनाएको छ । आयोजनामा २७ प्रतिशत सेयरधनीबाट तिन अर्ब २१ करोड लगानी हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.