|

दाङ : धर्म गर्ने मान्छेका आ–आफ्नै तरिका हुन्छन्। धेरै मानिसहरू पूजापाठ गर्छन्। मन्दिर जान्छन्। भेटि चढाउँछन्। तर, धर्म कमाउने तरिका फरक पनि हुँदो रहेछ। 

पूजापाठ र भेटिले भगवान खुशी हुन्छन् कि हुँदैनन् त्यो एकिन गर्न सक्ने अवस्था छैन। तर धर्म कमाउनका लागि गरिने खास कामबाट मान्छेहरू खुशी हुन्छन्।

दाङ तुलसीपुरको विपी चोकमा विगत ९ वर्षदेखि स्थानीय व्यापारी टेकराम खड्काले गर्मी महिनामा बरफ राखेको चिसो पानी वितरण गरिरहेका छन्।
उनले पानी वितरण गर्ने आफ्नो कामलाई नै धर्मका रुपमा लिने गरेका छन्। तुलसीपुर बजारमा सार्वजनिक धाराहरू छैनन्। गर्मीको महिनामा पानी खान मन लाग्यो भने बोतलको पानी किन्नुपर्छ, नभए खाजा पसलमा छिरेर अलिअलि खर्च गर्नुपर्छ।

तर तुलसीपुर बजारमा हिँडडुल गर्नेहरुलाई यस्तो समस्या छैन। खड्काले विगत ९ वर्षदेखि विपी चोकमा बसेर बटुवाहरुलाई बरफ राखेको चिसो पानी खुवाइरहेका छन्।

‘सेवा नै धर्म हो भन्ने सोचेर मैले पानी वितरण गरेको हुँ,’ उनले थाहाखबरलाई सुनाए, ‘आफ्नो परिवार र एक जना कर्मचारी राखेर दैनिक ४ हजार लिटरसम्म पानी वितरण गर्छौं ।’

दैनिक तीन हजार रुपैयाँ भन्दा बढी खर्च गरेर आफूले पानी बाँड्ने गरेको उनी सुनाउँछन्। उनले गरेको सो कार्यको प्रशंशा बजारभरी छ।
‘उहाँले उदाहरणीय काम गर्नुभएको छ,’ स्थानीय पूर्णबहादुर भण्डारीले भने, ‘आम नागरिकले उहाँबाट पाठ सिक्नुपर्छ।’ खड्काले दिएको सेवाबाटआफुहरुलाई निकै सहज भएको समेत उनले बताए।

खड्काले बजारमा हिँड्ने मान्छेलाई बोलाएरै निशुल्क पानी पिउन अनुरोध गर्छन्। विहान १० बजेदेखि साँझ पाँच बजेसम्म विपी चोकमा चिसो पानी खान पाइन्छ।
खड्काको सेवाले पानी पीउनकै लागि खाजा पसलमा छिर्नुपर्ने बाध्यता हटेको बटुवा कृष्णा डाँगी बताइन्।

खड्काले गर्मी महिना सुरु भएपछि ३ महिनासम्म निरन्तर पानी खुवाउने गरेको बताए। बाचुञ्जेलसम्म यसरी पानी खुवाउने धोको रहेको खड्का बताउँछन्। मासिक एक लाख रुपैयाँ भन्दा बढी खर्च गरेर सर्वसाधारणलाई पानी खुवाइरहेको उनले बताए। खड्काले तुल्सीपुरमा एकान्त होटल सञ्चालन गर्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.