|

बुटवल: वैशाखमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध पूर्णिमाको तयारी तीब्र पारिएको छ।  यसपटक सरकारले वैशाख १५, १६ र १७ गते तीन दिन बुद्ध पूर्णिमा मनाउने र बौद्ध सम्मेलन आयोजना गर्ने गरी तयारी अघि बढाएको छ। 

यसपटकको बौद्ध सम्मेलनको मूल भाव ‘लुम्बिनी, नेपाल: भगवान बुद्धको जन्मस्थल, बौद्ध दर्शन र विश्वशान्तिको मुहान’ राखिएको छ। 
कार्यक्रमअनुसार वैशाख १५ र १६ गते बौद्ध सम्मेलन हुने छ।  सम्मेलनमा १५ देशका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गर्नेछन्।  

लुम्बिनी विकास कोषका अनुसार सम्मेलनमा भारत, जापान, फ्रान्स, यूके, पोल्याण्ड, मलेसिया, जर्मन र श्रीलंका लगायतका २३ वटा मुलुकहरुले सहभागिता जनाउने छन्। ती मध्ये १३ मूलुकका धार्मिक तथा संस्कृति मन्त्रीहरुले नै सम्मेलनमा सहभागिता जनाउने टुंगो लागेको कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए। 

वैशाख १५ र १६ गते आयोजना हुने बौद्ध सम्मेलन र १७ गतेको बुद्ध जयन्ती मूल समारोहको तयारीमा जुटेको लुम्बिनी विकास कोषले दुवै कार्यक्रमको अधिकांश तयारी पूरा भएको जनाएकोे छ। 

सम्मेलन लुम्बिनीस्थित चाइना विहारमा गरिने छ । सम्मेलनमा ६ सय बौद्ध प्रतिनिधिहरु सहभागी हुनेछन् । ५ सय भन्दा बढीको सहभागिता रहने सम्मेलनमा लुम्बिनी, यसको महत्व, बौद्ध समुदाय, पर्यटन, ऐतिहासिक, पूरातात्विक विषयमा छलफल गरिनेछ।  
नेपाल सरकारले लुम्बिनीको गुरुयोजना, लुम्बिनी क्षेत्रको पर्यटन विकासका लागि आगामी कार्यक्रम, पर्यटक आगमन बढाउनका लागि तयारी लगायतका विषयमा विश्व समुदायलाई जानकारी गराउने छ।  

१७ गते बुद्ध पूर्णिमा मुल समारोह हुनेछ। जसमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, केन्द्र सरकारका मन्त्रीहरु, प्रदेश ५ का मुख्यमन्त्री, उच्च पदस्थ अधिकारीहरु, रुपन्देही, कपिलवस्तु र नवलपरासीका सांसद्हरु, बौद्ध दर्शनका ज्ञाता, विदेशी अतिथिहरु, बौद्ध मार्गीहरु सहभागी हुनेछन्। 
सोही दिन लुम्बिनीमा बनाउने भनिएको ५ हजार जना अट्ने क्षमताको आधुनिक सभाहलको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको विकास कोषले जनाएको छ। 
यसपटक प्रधानमन्त्री ओलीले नै बुद्ध पूर्णिमाप्रति चासो देखाउँदै सम्मेलन र बुद्ध पूर्णिमालाई विशेष बनाउन निर्देशन दिएको विकास कोषका उपाध्यक्ष त्रिपाठीले जानकारी दिए। 

अघिल्लो पटक पनि लुम्बिनीमा ३ दिन बिताउने बताएपनि राजनीतिक घटनाक्रमका कारण लुम्बिनी बस्न नपाएका प्रधानमन्त्रीले यसपटक भने तीन दिन दुई रात लुम्बिनीमै बस्ने इच्छा देखाएका छन्। १५ गते सम्मेलनको उद्घाटनका लागि लुम्बिनी आउने प्रधानमन्त्री १५ र १६ गतेको रात र १७ गते दिनभरजसो लुम्बिनीमै बिताउनेछन्। 

‘राष्ट्रपतिज्यूले १ रात र प्रधानमन्त्रीज्यूले वैशाख १५ र १६ गते लुम्बिनीमै बस्ने इच्छा देखाउनुभएकाले हामीले त्यसैअनुसारको तयारी थालेका छौं–लुम्बिनी विकास कोषका उपाध्यक्ष त्रिपाठीले भने–लुम्बिनीमा हल निर्माणदेखि, रंगरोगन, सिंगारपटार लगायतका काम तीब्र गतिमा भइरहेका छन्, यसपटकको सम्मेलन, बुद्ध पूर्णिमा सम्झनलायक हुनेछ।’

राष्ट्रपति र प्रधानमन्त्रीले लुम्बिनीमा बस्ने इच्छा देखाएका कारण लुम्बिनी क्षेत्रको सुरक्षा र अन्य व्यवस्थापनमा समेत लुम्बिनी विकास कोष लागिपरेको छ। 

धमाधम सिगारिदै लुम्बिनी

प्रधानमन्त्रीको निर्देशनमा तत्काल बौद्ध सम्मेलन आयोजना गर्नुपर्ने अवस्था आएपछि लुम्बिनी विकास कोषले कोषको क्षेत्रभित्र र बाहिरी क्षेत्रमा निर्माण भइरहेका पूर्वाधारहरुलाई छिटो सकेर लुम्बिनीलाई सिंगार्ने काम भइरहेको छ।  

मायादेवी मन्दिर परिसरमा भइरहेको ईंटा छाप्ने नयाँ काम, पोखरी सफा गर्ने, शान्ति दीपको अगाडि निर्माण भइरहेको पेभेलियनका साथै केन्द्रीय नहरको दुवैतिर हरियाली गर्ने काम एक महिनाभित्रै सक्ने तयारी थालेको विकास कोषले जनाएको छ। 
निर्माण भइरहेका भित्री तथा बाहिरी सडकहरु समेत छिटो सम्पन्न गर्ने योजना कोषको छ।  मायादेवी मन्दिरको रंगरोगन, तुल, ब्यानर तथा झण्डा लगाउने, पोखरी सफा गर्ने र पार्किङ् क्षेत्रलाई सजाउने काम समेत तीब्र गतिमा हुँदैछ।  

सडक तथा पोखरी वरिपरि बत्ती जोड्ने र झिलिमिली पार्ने काम समेत कोषले गर्दैछ।  लुम्बिनीको भित्री र बाहिरी क्षेत्रको सरसफाइका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका र स्थानीय समुदायलार्ई परिचालन गर्ने योजना छ।  

बुद्ध पूर्णिमासम्म ३ हजार अट्ने हल
२०७३ जेठ ८ मा लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा तत्कालीन प्रधानमन्त्रीले ५ हजार जना अट्ने क्षमताको हल बनाउने घोषणा गरेका थिए। तर त्यो हल बनाउन सरकारले चासो नदेखाएपछि तत्कालका लागि अस्थायी प्रकृतिको हल बनाउन थालिएको छ।  

४५ दिन लगाएर नेपाली सेनाले बनाउने यस्तो हलमा ३ हजार जना अट्ने छन्।  फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले बौद्ध संग्रहालय नजिकै ३ हजार जना अट्ने क्षमताको अस्थायी प्रकृतिको सुविधासम्पन्न हल बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।  

नेपाली सेनाले निर्माण शुरु गरिसकेको अस्थायी सभाहल  प्रि फ्याबबाट निर्माण गरिनेछ।  हलुका भएपनि कम्तिमा ५—७ वर्ष प्रयोगमा ल्याउन सकिने गरी हल निर्माण थालिएको छ।  
स्थायी सभाहल निर्माण गर्नु पूर्व लुम्बिनीमा थुप्रै राष्ट्रिय–अन्तरराष्ट्रिय कार्यक्रमहरुको आयोजना गर्नुपर्ने भएकाले पनि यस्तो सभाहल निर्माण गर्न सरकारले निर्देशन दिएको हो।  

शौचालय, खानेपानी, गोप्य बैठक कक्ष सहित एसी जडित हुने भएकाले चर्को गर्मीमा पनि यो सभाहलमा कार्यक्रमहरु आयोजना गर्न सकिनेछ।  यो सभाहल ४ करोडको लगानीमा निर्माण सम्पन्न हुने विकास कोषको भनाई छ।  

स्थायी सभाहल निर्माणको प्रक्रिया पनि शुरु

२ वर्षअघि प्रधानमन्त्री ओलीले लुम्बिनीमा पाँच हजार क्षमताको सभाहल बनाउने वाचा गरेका थिए। तर त्यसको निर्माणको प्रक्रिया बल्ल शुरु भएको छ।  
सभाहल निर्माणका लागि परामर्शदाता छनोट, परामर्शदाताले दिएको सुझावका आधारमा डिजाइन, लागत स्टिमेट र ठेक्का प्रक्रिया गर्दा करिब २ वर्ष लागेको कोषका लेखा अधिकृत भीम बस्नेतले बताए।    

कोषले टेन्टमूनि आयोजना गरेको बुद्ध पूर्णिमा विशेष समारोह हावाहुरी र वर्षात्का कारण निर्धारित समयभन्दा ५ घन्टा ढिला शुरु भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले एक वर्षभित्र पाँच हजार अट्ने सभाहल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए।  यो हलको शिलन्यास वैशाख १७ गते बुद्ध पूर्णिमाको मूल समारोहको अवसरमा गर्ने तय भएको छ। 

करिब ४० करोडको लागतमा बन्ने उक्त सभाहल अत्याधुनिक हुनेछ। २ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको सभाहलमा  आवश्यकता अनुसार अटोमेटिक पार्टेसन गर्न सकिने प्रविधि जडित हुनेछ। 

त्यसो हुँदा सहभागीहरुको संख्याका आधारमा हललाई सानो ठूलो बनाउन सकिने कोषका वरिष्ठ इन्जिनियर भट्टराइले बताए।

तयारीका तस्वीरहरूः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.