|

काठमाडौं : के तपाईं सस्तो मूल्यमा मोटरसाइकल पाएँ भन्दैमा कसैको लहैलहैमा महँगा मोटरसाइकल सस्तो मूल्यमा किन्दै त हुनुहुन्न? यदि त्यस्तो हो भने ख्याल गर्नुहोस्, चोरीको मोटरसाइकल हुन सक्छ। उपत्यकाका विभिन्न ठाउँबाट प्रहरीले यसरी महँगा मोटरसाइकल भारतबाट चोरी गरी नेपाली बजारमा सस्तो मूल्यमा कीर्ते कागजात गरी बिक्रि वितरण गर्ने एक गिरोहका तीन जना पक्राउ गरेको छ।

उपत्यकाका विभिन्न ठाउँबाट विभिन्न कम्पनीका १३ मोटरसाइकल, नक्कली विलबुक र चाबीसहित उनीहरू पक्राउ परेको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

पक्राउ पर्नेमा काठमाडौं उपत्यकाको एजेन्टको रूपमा ग्राहक खोजी बिक्री वितरण गर्ने दाङ हेकुली- ३ का सनम चौधरी, एजेन्टका रूपमा काम गर्ने मकवानपुर धिमाल-  २ का धनबहादुर योन्जन र बिर्खेश्वर- ८ दोलखाका गोपाल नेपाली रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले तीन लाखदेखि सात लाख रुपैयाँसम्म पर्ने १३ मोटरसाइकल बरामद गरेको हो। उपत्यकाका विभिन्न ठाउँबाट नौ थान र चितवनबाट चार थान गरी १३ मोटरसाइकल बरामद गरेको हो। यसबारे आइतबार पत्रकार सम्मेलनमा जानकारी दिँदै पोखरेलले यसरी चोरी गरी महँगा मोटरसाइकल बिक्री वितरण गर्ने गिरोह उपत्यकालगायत देशैभर रहेकाले विशेष चेकजाँच अभियान चलाउनुपर्ने बताए।

बरामद भएकामध्ये सबैभन्दा बढी बजाज कम्पनीको पल्सर मोटरसाइकल रहेको छ। पल्सरको २२० सिसी र २०० सिसीको एनएस मोटरसाइकल गरी आठ थान रहेको छ। पल्सर २२० सिसी र २०० सिसी एनएसको मूल्य नेपाली बजारमा तीन लाख रुपैयाँको हाराहारी रहेको छ। त्यस्तै, प्रहरीले चार थान केटिएम ड्युक मोटरसाइकल बरामद गरेको छ। केटिमए ड्युकको मूल्य नेपाली बजारमा पाँच लाखदेखि सात लाख ५० हजार रुपैयाँसम्म रहेको छ। त्यस्तै, क्रसफायर ४०० सिसीको एक थान रहेको छ। यसको मूल्य नेपाली बजारमा छ लाख रुपैयाँभन्दा माथि रहेको प्रहरीले जनाएको छ।

भारतबाट कसरी चोरेर ल्याउँछन् नेपाल?

भारतबाट चोरी गरी नेपाल भित्र्याउने गिरोह ठूलो रहेको प्रहरीको भनाइ छ। नेपाल नजिक रहेको भारतको सीमावर्ती क्षेत्रबाट महँगा मोटरसाइकल चोर्ने र नेपाली नक्कली बिलबुक र कागजात मिलाएर चोरी गर्ने गिरोहले नेपाल भित्र्याउने गरेको प्रहरीले जनाएको छ। यसरी चोरी गरेर नेपाल भित्र्याएका मोटरसाइकल गिरोहले उपत्यकाकाबाहिर राख्ने गरेका छन्।

यसरी ठगिन्छन् ग्राहक

चोरी गरेर नेपाल भित्र्याएका महँगा मोटरसाइकल गिरोहले उपत्यकाबाहिरै राख्ने र उपत्यकामा ग्राहक पाएपछि उपत्यका भित्र्याइदिने गरेको प्रहरीले जनाएको छ। यसरी उपत्यका पुग्दा ग्राहकसँग पार्किङ स्थलतिर बार्गेनिङ गर्ने र सबै कागजात मिलाइदिन्छु भनेर सस्तो मूल्यमा बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.