भारतीय तटबन्धले नेपालको होचो भाग वर्सेनि डुबान

|

भद्रपुर (झापा) : दक्षिणी झापाको कचनकवल गाउँपालिकालाई बाढीबाट बचाउन धमाधम तटबन्ध निर्माण गरिँदै छ। भारतले बनाएको सडकसहितको अग्लो तटबन्धका कारण वर्सेनि डुबानमा पर्दै आएको उक्त गाउँपालिकालाई बाढीबाट बचाउन कचनकवल गाउँपालिकाले तटबन्ध निर्माण कार्यलाई तीब्रता दिएको हो। भारतको विहार राज्य किसनगंज जिल्ला सीमावर्ती नाकासँग जोडिएको उक्त गाउँपालिकामा मेची नदी र देउनियाँ खोला बग्दै आएको छ। 

वर्षादको समयमा पानीको चाप बढेसँगै मेची र देउनियाँमा बग्ने पानी भारतले लगाएको तटबन्धका कारण भूमितर्फ जान नपाउँदा विगत तीन वर्षदेखि कचनकवल गाउँपालिका डुबानमा पर्दै आएको स्थानीय बताउँछन्। साविक केचना गाविस ७ र ८ हाल कचनकवल गाउँपालिका- ४ स्थित बयरबारीका प्राय: घर डुबानमा पर्दै आएको तटबन्ध निर्माण समितिका अध्यक्ष कौशार आलामले बताए। 

मेची नदीमा बाढी आएपछि पाठमारी र बयरबारी बस्तीसँग बग्ने देउनियाँ खोलामा प्रवेश गर्ने र दुवै खोलाको बाढीले गाउँ घर डुबान पार्दै आएको आलामले बताए। उनले भने, ‘गत वर्ष देउनियाँ खोलामा लगाइएको माटोको तटबन्ध दुई ठाउँमा भत्काएर गाउँमा बाढी प्रवेश गरेपछि पूरै गाउँ जलमग्न भएको थियो।’ बाढी पीडितलाई सुरक्षित स्थानतर्फ लैजान स्थानीय प्रहरी प्रशासनलाई समस्या परेको थियो। उनले भने, ‘त्यसैले यस वर्ष कचनकवल गाउँपालिकाले छुट्याएको बजेटबाट अग्लो माटोकाे तटबन्ध निर्माण गरेको छु।’ 

बाढीबाट त्यहाँका परिवार जोगाउन यस वर्ष माटोको तटबन्ध निर्माणका लागि सात लाख रुपैयाँ बजेट निकासा गरेको कचनकवल गाउँपालिका अध्यक्ष आलामले बताए। ‘७०० मिटर लम्बाइ रहेको तटबन्धलाई देउनियाँ खोला वरिपरि घेरेर बनाएका छौँ’, उनले भने, ‘१०० मिटर थप गर्ने योजना छ। ठाउँठाउँ ढुंगाको तटबन्ध पनि निर्माण गर्छौं।’ 

मेची नदीको 'ओभर फ्लो' पानी देउनियाँ खोलामा आउने गरेकाले यस तटबन्धले वस्तीलाई बाढीबाट जोगाउनेमा आफू विश्वस्त रहेको उनले बताए। त्यसैगरी देउनियाँ खोलामा मेची नदीको बाढी आउन नदिनलाई पाठामारी र भैँसाबाडीमा ढुंगाको तटबन्ध कार्य धमाधम निर्माण भइरहेको झापा क्षेत्र नम्बर- ३ का सांसद राजेन्द्र लिङ्देनले बताए। सांसद लिङ्देनले भने, ‘यस क्षेत्रमा तटबन्ध निर्माण भएपछि नेपालकै होचो स्थान कचनकवल डुबानमा पर्दैन।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.