|

काठमाडौ : नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ६९ वर्ष पुगेको अवसरमा राष्ट्रिय सभागृहमा एमाले र माओवादी केन्द्रले आइतबार संयुक्त कार्यक्रमको आयोजना गरे।

पार्टी एकताको संघारमा रहेका भनिएका यी दुई दलले निकट भविष्यमा नै पार्टी एकता हुने सन्देश दिनका लागि उक्त कार्यक्रम गरेका थिए। यसअघि वैशाख ९ गते पार्टी एकताको घोषणा गर्ने भनेपनि दुई पार्टीबीच सिद्धान्त, राजनीतिक कार्यदिशा, सांगठनिक संरचना, चुनाव चिह्न लगायतका विषयमा कुरा मिल्न बाँकी रहेकाले आज पार्टी एकताको घोषणा हुन सकेन।

कार्यक्रमको सुरुवात केही खल्लो भयो। कार्यक्रमको ब्यानरमा एमाले नेताहरूले मनोमानी गरेको र दम्भ प्रदर्शन गरेको आरोप लगाउँदै माओवादीका कार्यकर्ताहरूले कार्यक्रम आयोजना गरिएको सभागृहको हलमा नाराबाजी गरे। कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालसँगै एमालेका दिवंगत नेताहरू मदन भण्डारी र मनमोहन अधिकारीको फोटो राखेको तथा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भन्दा ठूलो राखेकोमा माओवादीका कार्यकर्ताहरूले विरोध जनाएका थिए। साथै माओवादी केन्द्रको नाम 'माके' मात्र लेखेकोमा पनि उनीहरूको असन्तुष्टी थियो।

माओवादी कार्यकर्ताहरूले लगातार नाराबाजी गरेपछि टाँगिएको ब्यानर झारियो। पछि नेताहरूबीच नयाँ ब्यानर पनि राख्ने सहमति भयो र विश्व कम्युनिस्ट आन्दोलनका नेताहरू भएको ब्यानर पनि थपिएको ब्यानर पनि लगाएर १ बजे सुरु हुने भनिएको कार्यक्रम ४ बजे सुरु भयो।

यसरी कार्यक्रम ढिलाइको कारणलाई माओवादी अध्यक्ष प्रचण्डले प्राविधिक त्रुटी भने। एमाले अध्यक्ष ओलीले भने उक्त घटनालाई दाँतमा लागेको ढुंगोको संज्ञा दिए। दुवै नेताले उक्त घटनाले पनि पार्टी एकतालाई थप बल दिएको बताए।

एमाले र माओवादीका अध्यक्षले नेपाली जनताले दुई पार्टीको एकतालाई जनताले अनुमोदन गरेकाले छिट्टै एकताको घोषणा गर्ने बताए।

कार्यक्रम स्थलमा दुवै नेता अन्य नेताहरूसँग मुस्कुराउदै पसेका थिए। कार्यक्रममा विवाद उत्पन्न भएकाले झन्डै ३ घण्टा कार्यक्रम स्थल पछाडिएको कोठामा बसेका उनीहरू सहजताका साथ आए र उपस्थित कार्यकर्ताहरूलाई पार्टी एकताको सन्देश दिएर सँगै निस्किएका थिए।

सम्बन्धित समाचारः

फोटोहरूः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.