|

विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको विषयमा दोषी सार्वजनिक गर्न पत्रकार सम्मेलनको तयारी भइरहेको थियो। सोही समयमा विराटनगरस्थित न्युरो हस्पिटलका कर्मचारीको टोली धर्मगुरु आचार्यलाई उपचार गर्दा लागेको रकमको बिल भर्पाइ लिएर जिल्ला प्रशासन कार्यालय पुगेको थियो। 

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले धर्मगुरु आचार्यको उपचारमा लागेको खर्च व्यहोर्ने बताएका थिए। सोही प्रक्रिया पूरा गर्ने र बिल पास गराउने उद्देश्यले न्युरोको कर्मचारी टोली प्रशासन कार्यालय पुगेको थियो। तर जब प्रहरीले पत्रकार सम्मेलन गर्‍यो र दोषी सार्वजनिक गर्‍यो, त्यसपछि उक्त बिल भर्पाइ तथा निवेदन दर्ता हुन पनि पाएन। दोषी श्रीनिवासाचार्य आफैँ भएको तथ्य खुलेपछि जिल्ला प्रशासन कार्यालयले उक्त निवेदन दर्ता नगरेको हो। उनको उपचारका लागि लागेको रकम अब स्वयं आचार्यले तिर्नुपर्ने भएको छ। 

घटनामा आफैँ दोषी देखिएपछि हस्पिटलको सम्पूर्ण खर्च धर्मगुरुले नै तिनुपर्ने भन्दै उपचारको बिल पेस गर्न आउने टोलीलाई फर्काइदिएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए। ‘२१ दिन हस्पिटलमा बसेको औषधिसहितको उपचार खर्च एक लाख ७० हजार रुपैयाँ भएको रहेछ’, प्रमुख जिल्ला अधिकारी आचार्यले भने, ‘अस्पताललाई समस्या नपर्ने गरी अब धर्मगुरुले सम्पूर्ण खर्च तिनुपर्छ।’ 

प्रशासनले धर्मगुरुको उपचार खर्च तिरिसकेको थिएन। ‘धर्मगुरुलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेकै दिन हस्पिटलबाट उपचार खर्चको बिल पुगेको थियो’, प्रमुख जिल्ला अधिकारीले भने। गोली लागी घाइते भएका धर्मगुरुको एक दिन सघन कक्षमा उपचार भएको थियो भने २० दिन पोस्ट अपरेटिभ वार्डमा राखेर न्युरो हस्पिटलमा उपचार भएको थियो। 

एक लाख ७० हजार रुपैयाँको हस्पिटलमा मात्र उपचार भएको थियो भने औषधिको बिल भने ३५ हजार रुपैयाँ भएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.