|

काठमाडौं : यातायात सिन्डिकेट औपचारिक रूपमै अन्त्य भएको घोषणा गरेको सरकारले यात्रुबाहक सवारीसाधनको टिकट काट्ने जिम्मा भने यातायात समितिलाई नै दिएको छ।

संक्रमणकालका लागि भन्दै सरकारले समितिहरूलाई विगतमा जस्तै टिकट काट्ने छुट दिएको हो। गोंगबु बसपार्कबाट छुट्ने गाडीका हकमा भने समितिहरूले लोत्से बहुउद्देश्यीय प्रालिको ब्यानरमा टिकट काट्नुपर्नेछ।

बसपार्कभित्रबाट गाडी छुट्ने सबै समितिको टिकट बिक्री गतिविधिमा लोत्से र ट्राफिक प्रहरीले संयुक्त अनुगमन गर्छन्। ल्होत्से बहुउद्देश्यीय प्रालि गोंगबु बसपार्क व्यवस्थापनको ठेक्का पाएको कम्पनी हो। नयाँ बसपार्कबाहेक अन्यत्र स्थानबाट छुट्दै आएका सवारीसाधनको हकमा भने समितिहरूले पुरानै व्यवस्थापनमा टिकट काट्न निरन्तरता पाएका छन्।

सीधै बसलाई नै टिकट बेच्ने सुविधा दिँदा बढी भाडा लिने, बस नै नआउने, गन्तव्यसम्म नपुग्ने खतरा भएकाले प्रालिको ब्यानरमा टिकट काट्न दिइएको लोत्से प्रालिका एचआर म्यानेजर पंकज मल्लले बताए। ‘सरकारले पनि तीन महिना समय छ भनेकाले हामीले समितिलाई टिकट काट्न दिएका हौँ,’ उनले भने। पहिलेजस्तै टिकट काट्ने व्यवस्था मिलाइएकाले यात्रुहरू पनि अलमलमा नरहेको उनले बताए।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क एरियाका इन्चार्ज प्रहरी निरीक्षक प्रताप पौडेलले समितिअन्तर्गत सञ्चालनमा रहेका बसले यसअघिझैँ पुरानै रुटमा नियमित सेवा दिँदै आइरहेको बताए।

यसअघि कम्पनी नियमअन्तर्गत दर्ता हुनुपर्ने सरकारी निर्णयको विरोधमा उत्रिएपछि गंगबु बसपार्कमा रहेका समितिका सबै टिकट काउन्टर सरकारले हटाइदिएको थियो। अधिकांश समितिका बस कम्पनीअन्तर्गत दर्ता हुन बाँकी नै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.