भोजपुर : गत बैशाख २४ गते प्रदेश १ को पहाडी जिल्ला भोजपुरमा नेपाल प्रज्ञाप्रतिष्ठान, मातृभाषा विभाग, मातृभाषा साहित्य विभाग र नेपाली वाङ्मय परिषद्द्वारा संयुक्त रूपमा ‘भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा प्रदेशको भूमिका’ विषयक विचार गोष्ठी तथा ‘बहुभाषिक कविता उत्सव’ आयोजना गरियो।
विविध संस्कृति झल्किने सांस्कृतिक झाँकीसहित उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्य, कला र संस्कृतिको खानी भोजपुरमा यस प्रकारको कार्यक्रम आयोजना हुनु गौरवको विषय भएको भन्दै समग्र प्रदेशको भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनका निमित्त प्रदेश सरकारले गम्भीरतापूर्वक उल्लेखनीय भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले भने, ‘अब सबै अधिकार र साधन, स्रोत स्थानीय तथा प्रदेश सरकारमा हस्तान्तरण भइसकेको छ। तसर्थ प्रदेशभित्र वाङ्मयको सर्वांगीण विकासका निमित्त केकस्तो प्रकारको भूमिका निर्वाह गर्ने भन्ने अधिकार सम्बन्धित प्रदेश सरकारको हो।’
प्रज्ञाप्रतिष्ठान, मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले किरात राई जातिको बाहुल्य रहेको भोजपुर मुन्धुमी संस्कृति र अरुण सभ्यताले सम्पन्न भूमि भएको भन्दै यस्तो भूमिमा आयोजना भएको कार्यक्रमले भाषा, साहित्य, कला र संस्कृतिको विकासमा प्रदेश सरकारले यथोचित भूमिका निर्वाह गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्राज्ञ तथा वाङ्मय परिषद्का अध्यक्ष शशि लुमुम्बूले भाषा, साहित्य, कला र संस्कृतिको विकास नभई अन्य किसिमको विकास पनि सुस्त हुने धारणा राख्दै सम्बन्धित निकायहरूले यसतर्फ गम्भीर हुनुपर्ने बताए।
गोष्ठीमा पूर्ण पी. राईले ‘भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा प्रदेशको भूमिका’ विषयक अवधारणापत्र प्रस्तुत गरेका थिए। अवधारणापत्रमा राईले लामो समयदेखि बहिष्करणमा परेका समुदाय र भूगोलका मानिसहरूले राखेको शासनसत्तामा आफ्नो भावनात्मक समावेशीकरणको चाहना संघीय व्यवस्थाबाट पूरा हुने अपेक्षा गरेको र त्यसका लागि प्रदेशले प्रदेशको विशेषतामा आधारित भाषा, साहित्य, कला तथा संस्कृतिको सम्वद्र्धन गर्ने नीति लिनुपर्ने उल्लेख गरे। उनले भने, ‘अब पनि पहाडे–उच्चआर्यन राष्ट्रवादलाई नै प्रोत्साहन गर्ने काम भएमा त्यो संघीयताको भावनाविपरीत हुनेछ।’
रार्ईले अहिले सबै अधिकार प्रदेश सरकारमै भएकाले प्रदेश सरकारले प्रदेशको सम्मृद्धिका लागि प्रदेशभित्रको बहुपक्षीय आन्तरिक समावेशीकरणको भावनालाई आत्मसात गर्दै सरकारले विविध भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धन गर्न सक्ने विचार व्यक्त गरेका थिए।
राईको उक्त अवधारणापत्रमाथि कवि तथा संस्कृतिकर्मी नवराज राई ‘वर्तमान’ र उपप्राध्यापक बाबुराम ओझाले टिप्पणी गरेका थिए।
कार्यक्रममा नगर प्रमुख कैलाशकुरमार आले, नेपाली कांगे्रेसका नेता उमेशजङ रायामाझी र प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले मन्तव्य व्यक्त गरेका थिए।
नगर प्रमुख आलेले भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा स्थानीय सरकारका तर्फबाट आफूले सक्दो भूमिका खेल्ने बताए। रायमाझीले जिल्लामा यस प्रकारको कार्यक्रम आयोजना हुनु जिल्लाकै गौरवको विषय भएको विचार व्यक्त गरे। उनले भने, ‘साहित्य, कला र संस्कृतिको विकास भए मात्रै मुलुक समृद्ध बन्छ।’ प्रमुख जिल्ला अधिकारी पौडेलले प्राकृतिक छटाले युक्त सुन्दर भोजपुरमा आयोजना भएको कार्यक्रमले आफूलाई हर्षित तुल्याएको बताउँदै भोजपुरको महिमा गाउँदै आफूले रचना गरेको कविता सुनाएक थिए।
जिल्लास्थित नारी साहित्य प्रतिष्ठान, त्रिवेणी साहित्य प्रतिष्ठान, साहित्य कला प्रतिष्ठान र काठमाडौंमा कार्यरत रामप्रसाद राई स्मृति प्रतिष्ठान तथा अरुण गाउँपालिका सरोकार समाजको सहआयोजना रहेको कार्यक्रममा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका साथै जिल्लाका नगर तथा गाउँपालिकाहरूको विशेष सहयोग रहेको स्थानीय कार्यक्रम संयोजक कवि कविता राईले जानकारी दिइन्।
उक्त अवसरमा सम्पन्न बहुभाषिक कविता उत्सवमा विप्लव ढकाल, अमृका ताम्राकार, चन्द्र रानाहँछा, कविता राई, इन्द्रसुर बेल्टारे, प्रतिमा पोखरेल, असीम दुङ्माली, वेदनाथ ढकाल, शरणकुमार राई, विष्णुकुमार बान्तवालगायतका कविहरूले आआफ्ना कविता सुनाएका थिए।
कार्यक्रममा युवाकवि थीरलोचन श्रेष्ठको कविताृकति ‘प्रश्नपत्र जिन्दगीको’ र देवी घिमिरे तथा शशि लुमुम्बूद्वारा सम्पादित ‘कवितामा जननायक रामप्रसाद राई’ कविता सँगालोको प्रमुख अतिथि, विशिष्ट अतिथि एवम् अतिथिहरूले विमोचन गरेका थिए।
कुलपति अभिनदिन्त
यसैबीच नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रदेश १ को पहाडी जिल्ला भोजपुरमा अभिनन्दित भएका छन्।
भाषा तथा साहित्यका विविध विधामा साढे पाँच दशकदेखि निरन्तर साधनारत उप्रेतीले उपकुलपति हुँदै कुलपतिको गरिमामय पदमा रहेर नेपाली वाङ्मयको सर्वंगीण उन्नयनका निमित्त पु¥याएको योगदानको उच्च कदर गर्दै उनलाई अभिनन्दन गरिएको नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशि लुमुम्बूले जानकारी दिए।
वाङ्मय परिषद्, भोजपुरका साहित्यिक संस्था नारी साहित्य प्रतिष्ठान, त्रिवेणी साहित्य प्रतिष्ठान, साहित्य कला प्रतिष्ठानका साथै काठमाडौंमा कार्यरत संस्था रामप्रसाद राई स्मृति प्रतिष्ठान र अरुण गाउँपालिका सरोकार समाजसमेतका छवटा संस्थाद्वारा कुलपतिलाई संयुक्त रूपमा अभिनन्दन गरिएको थियो।
जिल्ला समन्वय समिति भोजपुरकी उपप्रमुख अनिशा खड्काले ताम्रपत्र र फूलको माला, भोजपुर नगरका प्रमुख कैलाशकुमार आलेले टक्सारको करुवा र भोजपुरे सिरुपाते खुकुरी तथा जेष्ठ नागरिक मेजर बलिमान राईले राई फेटा र पटुका अर्पण गरी कुलपतिलाई अभिनन्दन गरेका थिए।
अभिनन्दन ग्रहण गरेपछि मन्तव्य व्यक्त गर्दै कुलपति उप्रेतीले भने, ‘पदमा रहँदा कुनै पनि मान सम्मान ग्रहण नगर्ने मेरो मान्यता थियो तर आज भोजपुरको तर्फबाट पाएको यो ‘सरप्राइज’ अभिनन्दन स्वीकार नगरी मैले धरै पाइनँ। यसका लागि म समस्त भोजपुर र भोजपुरेजनप्रति नतमस्तक छु।’
भोजपुरमा आयोजना भएको ‘भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा प्रदेशको भूमिका’ विषयक विचार गोष्ठी र ‘बहुभाषिक कविता उत्सव’मा सहभागी हुन भोजपुर पुगेका कुलपतिलाई उक्त अभिनन्दन गरिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।