|

भद्रपुुर, (झापा) : ब्ल्याकमेलिङको गरेर ठग्न खोजेको आरोपमा प्रहरीले झापाबाट एक भारतीयसहित दुई युवकलाई पक्राउ गरेको छ। प्रहरीले घटनास्थलबाट दुई नेपाली युवती र दुई भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिए।

पक्राउ पर्नेमा भारत पश्चिम बंगला गंगारामपुर घर भई हाल भद्रपुरमा डेरा गरी बस्ने  ३१ वर्षीय विप्लव चौधरी र भद्रपुर नगरपालिका ५ का ३८ वर्षीय सुमन गुरुङ रहेको प्रहरी निरीक्षक जबेगुले बताए।

उनका अनुसार भारत पश्चिम बंगाल मालदाबाट आएका दुई भारतीय नागरिक र यौन क्रियापकलापमा संलग्न दुई युवतीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। 
भद्रपुर ५ स्थित बसपार्क नजिकै रहेको देउराली होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ। 

यसरी बन्यो ब्ल्याकमेलिङको योजना 

प्रहरी दिएको घटना विवरणअनुसार भारतबाट आएका ती दुई नागरिक र घटनामा संलग्न गुरुङ चौधरीका साथी हुन्। चौधरीले ती दुई भारतीय नागरिकलाई नेपाल बोलाएका थिए। उनीहरू डब्लुबी २४ के ४६०९ नम्बरको भारतीय कार लिएर आइतबार बिहान भद्रपुर आएका थिए।

भद्रपुरमा चौधरीले ती दुई भारतीय नागरिकलाई देउराली होटल लगेका थिए। होटल पुग्नअघि चौधरी र गुरुङले ती दुई युवतीलाई पनि होटलमा बोलाएका थिए। होटलको कोठामा दुई युवती पुगेपछि ती भारतीयसँग यौन क्रियाकलाप भयो। चौधरी र गुरुङले प्रहरी बोलाएर छापा मार्ने योजना बनाए।

त्यसपछि भारतीय नागरिकसँग पाँच लाख रुपैयाँको ब्ल्याकमेलिङ गर्ने उनीहरूले योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

यसरी पक्राउ परे

गुरुङ र चौधरीले सादा पोशाकका प्रहरी बोलाएर होटलमा छापा मार्न लगाउने योजना बनाए। त्यसपछि उनीहरू नक्कली प्रहरी नभएर सक्कली प्रहरी खोज्दै जिल्ला प्रहरी कार्यालय झापाकै सादा पोशाकमा खटिने प्रहरी समक्ष पुगे।

प्रहरीलाई रकमको लालच देखाएर होटलमा छापा मार्ने विस्तृत घटना विवरण उनीहरूले सुनाए। त्यसपछि उनीहरू होटलतर्फ लागे। तर, ती सादाकका प्रहरीले घटनाको बारेमा तत्काल प्रहरी कार्यालय झापामा जानकारी गराए।

प्रहरीले घटना सुने लगतै प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट तत्काल प्रहरी खटाएर होटलबाटै उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक जबेगुले जानकारी दिए। 

नियन्त्रणमा लिएका उनीहरूलाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसंन्धान भइरहेको प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.