|

भद्रपुर : सरकारले दक्षिणी झापाका बाढीपीडितको नाममा पठाएको रकमबाट जनप्रतिनिधि र कर्मचारीले कमिसन लिएको पीडितहरूले आरोप लगाएका छन्। 

जनप्रतिनिधि र कर्मचारीले बाढीपीडित परिवारबाट १० हजार रुपैयाँको दरले कमिसन लिएको उनीहरूको आरोप छ। झापाको कचनकवल गाउँपालिका- १ का बाढीपीडितबाट वडा कार्यालयका वडाध्यक्ष लक्ष्मीनारायण यादव र घरधुरी स‌ंकलन गर्न गएका करारमा नियुक्त कर्मचारीद्वय पञ्चु राजवंशी र शर्मिला राजवंशीले बाढीपीडित परिवारबाट १० हजार रुपैयाँको दरले कमिसन लिएको पीडित परिवारका सदस्यहरूले जिल्ला प्रशासन कार्यालय झापामा मंगलबार लिखित उजुरी दिएपछि यस्तो घटना बाहिर आएको हो। 

१३ जना पीडितसहित राजनीतिक दलका प्रतिनिधि, वडा सदस्यलगायत सम्मिलित टोलीले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई आवश्यक कारवाहीका लागि लिखित पत्र बुझाएका हुन्। बाढी र डुबानबाट प्रभावित पूर्ण रूपमा घर क्षति भएका पीडित परिवारलाई न्यानो कपडाका लागि १० हजार रुपैयाँ र घर मर्मतका लागि १५ हजार रुपैयाँ गरी २५ हजार रुपैयाँको दरले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेटबाट गृह मन्त्रलायमार्फत् प्राप्त भएको उक्त रकमबाट जिल्ला प्रशासन कार्यालय झापाले कचनकवल गाउँपालिकाका १४७ घरपरिवारका लागि ३६ लाख ७५ हजार रुपैयाँ पठाएको थियो।

कचनकवल गाउँपालिका- १ साविक घेराबारीका बाढीपीडितका लागि आएको तेस्रो किस्ताको राहत रकममध्ये वडा अध्यक्ष यादव र कर्मचारीद्वय पञ्चु र शर्मिलाले कमिसन लिएकाले तत्काल आवश्यक कानुनी कारवाही गरी उचित न्याय दिलाउन भनी प्रशासन कार्यालयमा बुझाएको पत्रमा उल्लेख छ।

घटना विवरणअनुसार बनियानीस्थित कचनकवल गाउँपालिकाको कार्यालयमा बाढीपीडितको नामावली हेर्दे बाढीपीडितलाई सही छाप गराउँदै २५ हजार रुपैयाँको दरले रकम वितरण गरेका थिए। तर रकम वितरणलगतै बाढीपीडितका परिवारबाट जनप्रतिनिधि र कर्मचारीले १० हजार रुपैयाँको दरले रकम लिएको स्थानीय खड्गनारायण राजवंशीले आरोप लगाए।

'करारमा खटाइएका पञ्चुले आधाआधा रकम हुनुपर्छ भन्दै मसँग पहिला मौखिक सहमति गरे', उनले भने, ‘त्यसपछि राहतको २५ हजार हातमा परेलगतै उनले मसँग १० हजार त्यहीँ लिए।’ यसरी नै स्थानीय श्रवण मलहाले भने, ‘बुबा मुनुवा मलहाको नाममा २५ हजार राहत रकम आएको थियो, वडा अध्यक्ष यादवले तिम्रो बुबाको नाम गल्ती छ, त्यसैले पाएको रकम २५ हजारबाट मलाई १० हजार दिनुपर्छ भनेपछि मैले उनकै हातमा पैसा दिएको हो।’

स्थानीय बाढीपीडित निमसरी राजवंशीको पनि उस्तै आरोप छ। ‘कर्मचारी पञ्चु र शर्मिला मेरै घरमा आएर मसँग बार्ता गरियो। आधा रकम हामीलाई दिनुपर्छ नत्र तपाईंले पैसा पाउनुहुन्न भनेर धम्की दिएपछि मैले पञ्चुलाई १० हजार दिएँ’, उनले भनिन्। यता, प्रमुख जिल्ला अधिकारी दाहालले पीडितहरूको कुरा सुनेपछि तत्काल कारवाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। ‘गृह मन्त्रलायबाट पीडितको नाममा प्रशासन कार्यालय पठाएको राहत रकमबाट जनप्रतिनिधि र कर्मचारीले कमिसन लिनु कानुनविपरीत काम भएको छ', प्रजिअ दाहालले भने, ‘यसबारे प्रशासन कार्यालयले जनप्रतिनिधि र कर्मचारीलाई झिकाएर अनुसन्धान गर्छ र पीडितबाट लिएको रकम फिर्ता हुन्छ।’ 

सोही वडाका वडा सदस्य उमाशंकर गणेशले वडा अध्यक्ष यादव र कर्मचारीले नियमसंगत काम नगरेको बताए। यसबारेमा तत्काल वडा कार्यालयमा बैठक बोलाएर पीडितहरूको समस्या समाधानका लागि छलफल गरौँ भन्दासमेत वडा अध्यक्षले नमानेको उनले बताए। राहतका लागि पठाइएको नामावालीअनुसार पनि गाउँपालिकाले रकम नबाँडेको गुनासो पोख्दै उनले भने, ‘राहत पाउने परिवारले रकम पाएन, एउटै नाम भएका अर्को व्यक्तिलाई रकम बाँडेको देखिन्छ।’ प्रशासन कार्यालयको पठाएको विवरणमा प्रीतम राजवंशी, प्रभावती राजंवशी र नयनसरी राजवंशीको नाम उल्लेख छ तर ती व्यक्तिले नपाएर सोही नामका अन्य व्यक्तिलाई कमिसनको लोभमा रकम बाँडियो', उनले भने।

यता, वडा अध्यक्ष लक्ष्मीनारायण यादवले भने आफू र आफ्ना कर्मचारीले रकम नलिएको बताउँदै यो सब राजनीतिक चलखेल भएको बताए। त्यस्तै, गाउँपालिकाका कार्यकारी अधिकृत्त रेखनाथ दाहालले कार्यालयबाटै बाढीपीडितलाई २५ हजार रुपैयाँको दरले रकम वितरण गरिएको बताए। उनले भने, ‘यसमा गाउँपालिकाको संलग्नता छैन, बाहिर बाढीपीडितलाई के गरियो त्यो हामीलाई थाहा छैन।'

दुई दिनपछि वडा कार्यालय तालाबन्दी खुल्यो 

वडा अध्यक्ष यादव र कर्मचारी पञ्चु र शर्मिलाले कमिसन लिएको भन्दै स्थानीय बाढीपीडित र राजनीतिक दलका प्रतिनिधिले सोमबार १ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका थिए। वडा कार्यालय घेराउ गर्दै उनीहरूले कार्यालयको ढोकामै ताला लगाएका थिए। बैठक बोलाएर समस्याको सामाधानका लागि पीडित पक्षले वडा अध्यक्षलाई जानकारी गराउँदासमेत उनले बेवास्ता गरेपछि तालाबन्दी गरेको स्थानीय कालेन्द्र राजवंशीले बताए। उनले भने, ‘वडा अध्यक्षलाई पटक पटक आग्रह गर्‍यौँ। वडाको समस्या वडाबाटै समाधान गर्नुहोस् भन्यौँ तर उहाँले नमानेपछि तालाबन्दी भएको हो।’ वडा कार्यालय तालाबन्दी खुलाउन प्रमुख जिल्ला अधिकारी दाहालले पीडितसँग आग्रह गरेपछि मंगलबार दिउँसोबाट ताला खुलेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.