|

भद्रपुर (झापा) : शिक्षामा जातीय विभेद गरेको भन्दै झापाको भद्रपुर ६ स्थित संस्कृत विद्यालय श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा तालाबन्दी गरिएको छ। दलित विद्यार्थीलाई शिक्षामा जातीय विभेद गरेकोमा नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले बिहीबार गुरुकुलमा तालाबन्दी गरेको हो।

इलाम नगरपालिका-५ वर्बोटेका अनाथ बालक विकास कार्की (डोली) लाई गुरुकुलले भर्ना लिन नमानेपछि गुरुकुलमा तालाबन्दी गरेको संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीले जानकारी दिए। 'गुरुकुलले दलित विद्यार्थी भर्ना लिन नमानेपछि जातीय विभेदको निष्कर्ष निकाल्दै तालाबन्दी गरेका हौँ’,  उनले भने।

मंग्रातीका अनुसार विद्यार्थी संगठन र गुरुकुलका व्यवस्थापन पक्षबीच विद्यार्थी भर्ना गराउन वार्ता भएको थियो । छलफलमा विद्यार्थी संगठन, दलित अधिकारकर्मी, युवा संघ नेपाल, अनेरास्ववियुका प्रतिनिधि सहभागी थिए।  

गुरुकुल सञ्चालक समिति अध्यक्ष राजेन्द्र चापागाइँले अहिलेसम्म दलित विद्यार्थी भर्ना गर्नका लागि कोही नआएकाले यस्तो अभ्यास नभएको प्रतिक्रिया दिए।गुरुकुलको विधानमा व्यवस्था भएअनुसार गुरुकुल सञ्चालन गर्नुपर्ने भएकाले भर्ना लिन समस्या भएको उनले बताए। ‘हाम्रा बटुकहरू हरेक दिन धार्मिक कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले दलित विद्यार्थीको संलग्नता व्यवहारिक रुपमा समाजले स्वीकार्दैन। त्यसैले भर्ना नलिएका हौँ,’ उनले भने। 

सीडीअो र नगरप्रमुखलाई ज्ञापनपत्र 

समस्या समाधानको प्रयास सफल नभएपछि तालाबन्दी गरेका उनीहरूले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएका छन्। गुरुकुलभित्र हुने विभेद अन्त्य गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाइएको हो। प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले समाजमा कुनै पनि विभेदकाे घटना हुन नहुने बताए। अधिकारकर्मीले स्थानीय सरकार भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठलाई पनि ज्ञापनपत्र बुझाएका छन्।  

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.