|

लहान : उपभोक्ताहरूको भेलामार्फत् समिति गठन गरी विकास निर्माणका काम संचालन गरिरहेको सप्तरीको पश्चिमवर्ती सुरुङ्गा नगरपालिका ६ का समितिका असन्तुष्ट पक्षले निर्माण कार्यमा अवरोध गरेका छन्। सुरुङ्गा नगरपालिका ६ कडरबोना-श्रीपुर टोल-पूर्व पश्चिम सडकको श्रीपुर चोकसम्मको करिब तीन किलाे मिटर सडक स्तरोन्नतिका लागि गठन गरिएको उपभोक्ता समितिविरुद्ध असन्तुष्ट पक्षले सोमबार बिहान नाराबाजी गरेको हो। 

वडाध्यक्ष लिलाकान्त चौधरीले समितिले नगरपालिकाको कार्यादेशअनुरुप शनिबारदेखि जेसिभी प्रयोग गरी स्तरोन्नतिको काम थालनी गरेको बताए। वडाध्यक्ष चौधरीले भने, ‘स्थानीय तहको निर्वाचनमा हारेको झोंकमा नगर प्रमुखका प्रत्याशी हरिनारायण चौधरीको समूहले निर्माण कार्य रोकेको छ।’

जेसिभीले सडकको दुवैतर्फको खेतबाट माटो काटेर चौडा गरिरहेका बेला चौधरीको नेतृत्वमा आएको करिब ३५ जनाको समूहले नगर प्रमुख, उपभोक्ता समितिविरुद्ध नाराबाजी गर्दै निर्माण कार्य रोकेको समितिका अध्यक्ष बद्रीनारायण साह बताउँछन्। ‘समिति गठन, नगरपालिकाले दिएको कार्यादेशको विषयमा चित्त नबुझे अदालत जाने बाटो पनि खुला छ’ अध्यक्ष साहले भने, ‘तर एकोहोरो उपभोक्त समिति मान्दैनौ भन्दै निर्माण कार्य रोक्नु विकासविरोधी काम बाहेक केही होइन।’

के हो विवाद?

गाउँ क्षेत्रमा २० फिट र गाउँ बाहिर ३० फिट चौडा हुने गरी करिब तीन किलोमिटर लामो सडक स्तरोन्नतिका लागि वडाध्यक्ष लिलाकान्तले चैतको दोस्रोहप्ता उपभोक्ता समिति गठन गरिएको स्थानीय गाउँलेहरूले बताए। त्यसलगत्तै असन्तुष्ट समूहको नेतृत्व गरिरहेका नगर प्रमुखमा पराजित चौधरीले तीनजना वडा सदस्यको उपस्थितिमा पूर्व वडाध्यक्ष बच्चु चौधरीको अध्यक्षतामा अर्को उपभोक्ता समिति गठन गरेपछि विवाद चुलिएको हो। दुवै समितिले आधिकारिकता दावी गरेपछि वडाध्यक्ष लिलाकान्तले दुवै समितिको फाइल नगर कार्यालयमा पठाएका थिए।

नगरपालिकाले वैशाख २४ गते बद्रीनारायण साह अध्यक्ष रहेको समितिलाई आधिकारिकता दिंदै जेठ मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी जन श्रमदानसहित २१ लाख ५५ हजार ५५५ रुपैयाँ ५५ पैसा बजेटको सडक स्तरोन्नतिको कार्यदेश दिएपछि असन्तुष्ट समूहले ‘उपभोक्ता समिति एकपक्षीय भयो’ भन्दै काममा अवरोध गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.