|

काठमाडौं: नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आफ्ना सांसदहरूलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ।

मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा यस्तो निर्देशन दिइएको हो। सांसदहरूलाई नीति तथा कार्यक्रमका विषयमा कांग्रेसले विज्ञहरूबाट प्रशिक्षण समेत दिएको छ।

पूर्वअर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष तथा विज्ञहरूबाट दिएको प्रशिक्षणमा नीति तथा कार्यक्रममा समेटिनु नै पर्ने सैद्धान्तिक विषयमा प्रशिक्षण दिइएको हो। साथै अघि सारिएका कार्यक्रममा कार्यन्वयनमा देखिने चुनौति र अहिलेको अवस्थाको विषयमा पनि जानकारी गराइएको छ।

चार डाक्टर प्रशिक्षण

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकमा चार जना डाक्ट सहित उद्योगी विनोद चौधरीले पनि नीति तथा कार्यक्रमको र यथार्थताको विषयमा सांसदहरूलाई जानकारी गराए।

पूर्व अर्थमन्त्री डा. रामशरण महत, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा गोविन्दराज पोखरेल, अर्थविद् डा. विश्‍व पौडेल, कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. मिनेन्द्र रिजालले कांग्रेसलले उठाउनु पर्ने विषयमा सांसदहरूलाई जानकारी गराए।

यस्तै उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले पनि नीति तथा कार्यक्रमका विषयमा सासंदहरूलाई जानकारी गराएका थिए। नेता मानबहादुर विश्वकर्माका अनुसार पूर्व अर्थमन्त्री डा. महत र योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा पोखरेलले विशेष 'क्लास' लिएका हुन्।

'थोरै तर खरो बोल्ने तयारी'

नीति तथा कार्यक्रमको छलफलमा पार्टी र संख्या हरेर सयम उपलब्ध गराइने भएको कारण संख्यात्मक रूपमा थोरै बोल्ने तयारी कांग्रेसको रहेको छ। धेरै विषय उठाउनु पर्ने र धेरै समय आवश्यक पर्ने भएको कारण थोरै सांसदलाई धेरै सयम उपलब्ध गराउने तयारी कांग्रेसले गरेको छ।

'नीति तथा कार्यक्रममा धेरै विषय पुगेका छैनन् कतिपय अपुग रहेका छन्' एक सांसदले भने ' सबै विषयमा कुरा उठाउनको लागि अधिकतम १५ मिनेट समय पाइयो भने त्यो समयको पूर्ण प्रयोग गर्ने तयारीमा कांग्रेस छ।'

निश्चित सांसदलाई मात्रै कार्यविभाजन गरेर बोल्न दिने तयारी गरिएको बताइएको छ। त्यस्तै कांग्रेस सोमबारको राष्ट्रपतिको प्रस्तुतिमा संसदको अपमान भएको भन्दै त्यस विषयमा पनि कुरा उठाँउने तयारी गरिएको छ।

यस विषयमा प्रधानमन्त्रीसँग कुरा राख्दा सांसद डा. रिजाललाई जिब्रोमा धार लगाएर आउन प्रधानमन्त्रीले दिएको प्रतिक्रियाप्रति पनि कांग्रेसले कुरा उठाउने भएको छ।

'पाँच वर्षे नीति त आयो, एक वर्षको कहिले आउने?'

बुधबारबाट हुने नीति तथा कार्यक्रमको बहसमा कांग्रेसले एक वर्षे नीति तथा कार्यक्रमको माग गर्ने भएको छ। पाँच वर्षको योजना संसदमा प्रस्तुत गरिएता पनि एक वर्षमा के-के काम गर्ने कस्ता काम गर्ने भन्ने विषयमा नीति तथा कार्यक्रममा उल्लेख नगरिएको कांग्रेस आरोप रहेको छ।

'मैले त स्पष्ट रूपमा भनेको छू, पाँच वर्षको नीति तथा कार्यक्रम त आयो, एक वर्षको कहिले आउछ?' सांसदहरूलाई प्रशिक्षण दिइएका  योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा पोखरेलले भने।

सांसद लक्ष्मी परियारले वाम घोषणा पत्रमा यो काम यति समय भित्र बन्ने भन्ने विषयमा उल्लेख गरिएको तर नीति तथा कार्यक्रममा कुनै पनि योजनाको समयवधि नतोकिएको आरोप लगानइन्। उनले यो विषयमा कांग्रेसले संसदमा सशक्त रूपपमा उठाउने बताएकी छन्।

सामाजिक सुरक्षा भत्ता लगायतका विषयमा पनि नीति तथा कार्यक्रम स्पष्ट रूपमा नबोलेको कांग्रेस आरोप रहेको छ। यस विषयमा पनि सरकारले प्रतिक्रिया माग्ने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.