|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अधिकांश केन्द्रीय सदस्य बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भए। अनौपचारिक रूपमा बोलाइएको बैठकमा ४४१ केन्द्रीय सदस्यमध्ये अधिकांश केन्द्रीय सदस्य बालुवाटार आए।

दिउँसो ४ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टा ढिला गरेर मात्र सुरु भयो तर केन्द्रीय सदस्यहरू भने ४ बजेभित्र बालुवाटार आइसकेका थिए। बालुवाटार आइपुग्नेबित्तिकै नेकपाका नेता तथा केन्द्रीय सदस्यहरू खाजा खानतर्फ लागे। बालुवाटारमा खाजाको व्यवस्था गरिएको थियो। खाजा खान बाहिरै रहेका केन्द्रीय सदस्यहरू निकै उत्साहित थिए।

तत्कालीन एमाले र माओवादीमा हुँदा एकअर्काबीच खासै भेट नहुने यी केन्द्रीय सदस्य पहिलो पटक एउटै पार्टीका सदस्यका रूपमा बैठकमा सहभागी हुँदै थिए। आफूहरू केन्द्रीय सदस्य भएकोमा एकअर्कालाई हात मिलाएर बाधाई दिँदै र लिँदै पनि थिए।

कोही केन्द्रीय सदस्यले एकतामा मुख्य भूमिका खेलेका नेतालाई बधाईसमेत दिँदै थिए। पार्टीभित्र केही बौद्धिक मानिएका नेताहरूचाहिँ पार्टीको कार्यदिशा र भविष्यका बारेमा आआफ्नो तर्क राखिरहेका थिए। कतिपय केन्द्रीय सदस्यहरू भने पार्टीबाट मन्त्री भएकाहरूलाई आफ्नो काम नगरेको भन्दै दुखेसो पनि पोखिरहेका थिए।

करिब ५ बज्नै लाग्दा बैठक सुरु भयो। सुरुमा त बैठक भद्रगोल नै देखियो। पार्टी निर्वाचन आयोगमा दर्ता गर्नका लागि केन्द्रीय सदस्यको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हस्ताक्षरका संकलनका लागि बैठक बोलाइएको थियो। त्यस कारण पनि बैठक अलिक भद्रगोल देखियो सुरुमा। बालुवाटारको बैठक कक्षमा प्रवेश गरेका केन्द्रीय सदस्यलाई सुरुमा एकएक गर्दै नाम लिएर बोलाइयो। उनीहरूले आफ्नो नाम आएसँगै हस्ताक्षर गर्दै नागरिकताको प्रतिलिपि बुझाए। त्यसबेला बाहिर केन्द्रीय सदस्य गफ गर्दै थिए। नाम आएका केन्द्रीय सदस्य बैठक कक्षमा प्रवेश पनि गर्दै थिए।

त्यसपछि बैठक क्रमश: लयमा फर्कन थाल्यो। उद्घोषकले सबै केन्द्रीय सदस्यलाई भित्र बोलाए। पार्टी एकताका दिन शपथ ग्रहण गर्न छुटेका केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराइयो। नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नै केन्द्रीय सदस्यलाई शपथ गराए। यो दृश्य अलिक अनौठो पनि थियो।

तर बैठकको अध्यक्षता भने कसैले गरेनन्। पार्टीको अनौपचारिक बैठक भएका कारण पनि दुवै अध्यक्षले बैठकको अध्यक्षता नगरेको नेकपाका एक केन्द्रीय सदस्यले थाहाखबरलाई जानकारी दिए। दुवै अध्यक्षले पार्टीका केन्द्रीय सदस्यलाई पार्टीको हितमा काम गर्न निर्देशन दिएका थिए। बैठक कक्षभित्र केन्द्रीय सदस्यहरू खचाखच थिए।

भित्र बैठक चलिरहँदा पनि कतिपय केन्द्रीय सदस्य भने बाहिर नै थिए। उनीहरू यताउता हिँडिरहेका थिए।

पार्टी कार्यालय कि सरकारी निवास?

ओली प्रधानमन्त्री भएयता मात्र दर्जन बढी पार्टीका आन्तरिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भए। तत्कालीन एमालेको बैठक, पार्टी एकता संयोजन समितिको बैठकलगायत धेरै पार्टीका आन्तरिक बैठक बालुवाटरमा भए। ओलीले त झनै संसदीय दलको कार्यालय सिंहदरबारमा हुँदाहुँदै दलको बैठक बालुवाटारमा बोलाए।

ओलीले मात्र यसरी पार्टीको बैठक सरकारी निवासमा बोलाएका होइनन्। यसअघिका प्रधानमन्त्रीले पनि यसरी नै पार्टीका बैठकहरू सरकारी निवास बालुवाटारमा बोलाउने गरेका थिए। २०४९ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पार्टीका अधिकांश बैठक तथा कामहरू बालुवाटारमा गर्थे। त्यसयता धेरैजसो प्रधानमन्त्रीले पार्टीको बैठक बालुवाटारमा बोलाएका थिए। तर प्रधानमन्त्रीको सचिवालयले भने समयको व्यवस्थापनका लागि पनि बालुवाटारमा नै बैठक राख्नुपरेको दाबी गर्दै आएको छ।

जो प्रधानमन्त्री बन्दा पनि उनीहरूको सचिवालयले यस्तै जवाफ दिने गरेको छ तर उनीहरूले सरकारी खर्चको दुरूपयोग नगरेको बताउँदै आएका छन्। प्रधानमन्त्री भएपछि हुने यस्ता गतिविधिको भने जनस्तरबाट पटक पटक विरोध हुने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.