|

खुटिया–दिपायल फास्ट ट्रर्‍याक दुई वर्षभित्र संचालनमा आउने गरी काम गर्ने प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बताए। मुख्यमन्त्री भट्टले भने ‘डेढदेखि दुई वर्षभित्र कम्तिमा पनि कच्ची सडक भए पनि ट्रर्‍याक खुल्छ, हामी तिब्र गतीमा काम अगाडि बढाउछौँ।’  

आइतबार डोटीमा प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त आयोजनामा गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले उक्त कुरा बताएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै भट्टले भने, ‘दिपायल र धनगढी जोड्नका लागि सबैभन्दा छोटो फास्ट ट्रर्‍याक हुन्छ, हामी ८१ किलोमिटरमा धनगढीबाट दिपायल पुग्छौँ, अहिले यो योजना प्रदेशभरीको एक नम्बर प्राथमिकतामा राखेर काम भैरहेको छ।

सुरुङ मार्ग निमार्ण गर्दा फास्ट ट्रर्‍याक निमार्णको काम ढिला हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा मुख्यमन्त्री भट्टले भने ‘हामीले यो छेउबाट पल्लो छेउसम्म सुरुङ निमार्ण गर्ने भनेका होइन, चुरेका ठूला पहाड परेका ठाउँमा सुरुङ खन्ने भनेका हौँ, त्यसो गर्दा यसको दूरी अझै घट्छ।’

मुख्यमन्त्री भट्टले प्रदेश ७ लाई समृद्ध प्रदेश बनाउनका लागि प्रदेश सरकारले चारवटा कुरालाई अगाडि बढाएको बताए। ‘कृषि, पर्यटन, जलस्रोत र जडीवुटी सरकारका चार प्राथमिकताका क्षेत्र हुन’ उनले भने ‘यिनै क्षेत्रको विकासको विकासबाट प्रदेश समृद्धि सम्भव छ।’

प्रशासनिक संक्रमणकाल 

प्रदेश ७ का मुख्यमन्त्री भट्टले अहिले देशमा प्रशासनिक संक्रमणकाल सुरु भएको बताएका छन्। आइतवार डोटीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन्। ‘देशमा राजनीतिक संक्रमणकाल अन्त्य भएको छ’ मुख्यमन्त्री भट्टले भने, ‘कर्मचारी समायोजन ऐन बनेको छैन, प्रशासनिक संक्रमणकाल सुरु भएको छ।’ 

उनले केही कर्मचारीहरूलाई संघीयता नपचेकाले उनीहरू जनप्रतिनिधिहरूलाई समेत अप्ठेरोमा पार्न खोजिरहेको बताए। ‘अधिकांश कर्मचारी साथीहरूले सहयोग गर्नु भएको छ, उहाँहरूलाई धन्यवाद पनि दिन चाहान्छु’ डोटी जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रमका लागि गृहजिल्ला डोटी पुगेका मुख्यमन्त्री भट्टले भने ‘केही यस्ता कर्मचारीहरू छन् जसले आफूलाई जनप्रतिनिधिहरू भन्दा माथी ठान्दैछन् र संघीयता असफल होस् भन्ने चाहान्छन्।’

मुख्यमन्त्री भट्टले कर्मचारीहरूले आफ्नो भविष्यको सुनिश्चितता खोज्नु जायज भएको बताउँदै भने ‘तर आफ्नो सेवा सुविधा खोज्ने नाममा खटाएको ठाउँमा पनि जान्न भन्नु गलत हो।’ 

कर्मचारीहरूलाई सेवा सुबिधा दिने कुरामा सरकार सकारात्मक रहेको भन्दै उनले कुनै पनि कर्मचारीहरूले संघीयता फेल होला र फेरि हाम्रो हालीमुहाली होला भनेर नसोच्न आग्रह गरे।

प्रक्रियाबाट काम हुन्छ 

मूख्यमन्त्री भट्टले प्रदेश सरकारले पक्रियागत आएका योजनाले मात्र प्राथमिकता दिने बताएका छन्। विगतका जस्तो भनसुनका आधारमा कुनै पनि योजना नबनाइने बताए। ‘विगतका दिनहरूमा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता र कर्मचारीलाई भनेपछि योजना पास हुने चलन थियो’ उनले भने ‘अब त्यस्तो हुँदैन, जनताको आवश्यकता र मागमा आधारित वास्तविक योजना मात्र सरकारले निर्माण गर्नेछ।’

उनले भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्तिलाई सरकारले उन्मुक्ति नदिने बताउँदै विगतका जस्तो कृत्रिम योजना बनाउने अनि केही मान्छे मिलेर भ्रष्टाचार गर्ने कुरा प्रदेश सरकारले नसहने बताए। ‘कुनै पनि प्रकारको भ्रष्टाचार भएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको टोल फ्रि नं. १६६०९१५२७२३ मा सिधै फोन गर्नुहोला’ उनले भने ‘हामी भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको सिद्धान्त अंगिकार गर्छौँ।’

उनले स्थानीय तहका जनप्रतिनिधिहरू पनि भ्रष्टाचारमा संलग्न भएको भन्ने गुनासा सुनिन लागेकोप्रति दुःख व्यक्त गर्दै भने ‘जनताको सेवा गर्छौं भनेर जनतासँग भोट मागेर आएकाहरूले समेत भ्रष्टाचार गर्न थालेपछि यो देशको अवस्था के होला?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.