|

कालिकोट : कालिकोटको नाग्मदेखि मुगुको गमगढीसम्मको सडकमा पर्ने पक्की पुल निर्माण र नाग्म–गमगढी राजमार्गमा स्तरवृद्धिको जिम्मा लिएका कालिकोट निवासी निर्माण व्यवसायी बर्मजंग बमलाई जुम्ला प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय मुगुको निर्देशनमा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरीले मंगलबार बेलुका तिला गाउँपालिकाको कुडारी त्रिवेणीबाट निर्माण व्यवसायी बमलाई पक्राउ गरेको हो।

रश्मि निर्माण सेवा कालिकोटका प्रोपाइटर रहेका बमले जिम्मा लिएको काम समयमा निर्माण सम्पन्न नगरेकोले, मुगु प्रशासनले दिएको निर्देशनअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक डा. तपन दाहालले बताए। ‘बमलाई तिला गाउँपालिकाको कुडारी त्रिवेणीबाट पक्राउ गरेर मुगु पठाइएको छ।’ उनले भने, ‘सडक निर्माणको काममा ढिला गरेका कारणले पक्राउ गरिएको हो।’

मुगुको सबैभन्दा ब्यस्त सडक गमगढी–ताल्चा सडकखण्ड अलपत्र छाडेको, लामो समयदेखि ताकेता गर्दा पनि अटेर गरेको सडक डिभिजन कार्यालय जुम्ला प्रमुख माधवप्रसाद अधिकारीले बताए। ‘ठेकेदारहरुले कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको जुबिथाघाटको पुललगायत अन्य कयौँ आयोजना अलपत्र अवस्थामा छोडेका छन्।’ उनले भने, ‘सडक खन्ने, ग्याविन भर्ने, ग्रावेल र सोलिङ गर्नेलगायतको सम्झौता गरिए पनि हालसम्म २५ प्रतिशत मात्र काम गर्ने ठेकेदारहरू पक्राउ पर्ने क्रममा छन्।’

निर्माण व्यवसायी बम कालिकोट पचालझरना गाउँपालिका–६ का नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य पनि हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.