मालपोतका कार्मचारीकै सेटिङमा राजमार्ग बिक्री

|

उदयपुरः  राजमार्गको सडक बिक्री गर्ने बाबुछोरा पक्राउ परेका छन्। त्रियुगा नगरपालिका–३ मोतिगडास्थित सगरमाथा लोकमार्गको कदमाहा–गाईघाट सडक खण्डमा पर्ने मोतिगडा क्याम्पस गेट नजिकको करिब अाठ कठ्ठा जग्गा बिक्री गर्ने शिवप्रसाद दाहाल र छोरा बुद्धिप्रसाद दाहाल पक्राउ परेका हुन।

‘सगरमाथा हाइवेको जग्गा बेचेको आरोपमा पक्राउ गरेका हौँ,’ जिल्ला प्रहरी कार्यालय उदयपुृरका एसपी नवराज भट्टले भने। शनिबार बिहान पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको बताइएको छ।

मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा स्थानीय शिवप्रसादले सडकको नाममा रहेको सात कठ्ठा १९ घुर जग्गा बिक्री गरेका थिए। उनले ललितपुर खोकना– ३ का नेपाल डंगोललाई एक करोड २७ लाख २० हजार रुपैयाँमा जग्गा रजिष्ट्रेसन पास गरेर बिक्री गरेका थिए। 

उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा स्थित सगरमाथा लोकमार्गको कदमाहा–गाईघाट सडक खण्डमा पर्ने मोतिगडा क्याम्पस गेटनजिक पर्छ। 

यसरी भयो सडक बिक्री ? 

मोठमा लगत रोक्का भनेर नजनाउँदा सडक नै एक व्यक्तिबाट अर्को व्यक्तिमा गएको मालपोत कार्यालयका प्रमुख नवराज खड्काले बताए। ‘ससिम कित्ता नम्बर भएको जग्गा रहेछ’ कार्यालय प्रमुख खड्काले भने, ‘बेच्ने र किन्ने दुवै पक्ष आवश्यक प्रमाण र नगरपालिकाको वडाको सिफारिससहित आएपछि जग्गा पास गरेका हौँ।’

जग्गाको कारोबार भइसकेपछि मात्र बिक्री भएको जग्गा राजमार्गको हो भन्ने थाहा भएको अधिकृत खड्का बताउँछन्। जग्गा सडकमा परेका थाहा पाउनेवित्तिकै मोठ रोक्का राखेको खड्काको भनाइ छ। जग्गा पास गर्दा रजिष्टेसन दस्तुरवापत पाँच लाख अाठ हजार अाठ सय र लाभ कर दुई लाख ९२ हजार नाै सय ५८ रुपैयाँ राजस्व जम्मा भएको मातपोत कार्यालय जनाएको छ।

सडकको जग्गा बिक्री हुनै नसक्ने कदमाहा गाईघाट सडक खण्ड हेर्ने सडक डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख रामकुमार देवले बताए। ‘सडक डिभिजनले २०६२ सालमै जग्गा प्राप्त गरिसकेका छौ, सबै लेखापढी समेत भएको भन्ने बुझेको छु।’ डिभिजन प्रमुख देवले भने, ‘१३ वर्षअघि नै नापी र मालपोतलाई लगत कट्टा गर्न भनेका थियौँ तर, भएको रहेनछ।'

यसअघिका कार्यालयका कर्मचारीको कमजोरीको कारण जग्गा पास हुन गएको उनी स्वीकार गर्छन्। 

मालपोतको लापरवाही

नापी कार्यालयले २०६२ माघ ९  र २०६३असार ५ मा जग्गाको लागत मालपोत कार्यालय पठाएर लगत कट्टा गर्न भनेको थियो। तर मालपोत कार्यालयले हाल सम्म लगत कट्टा नगर्दा राजमार्ग नै बेचिन पुगेको शिवप्रसादकानाति विरेश दाहालको भनाइ छ। ‘जग्गा बिक्री हुनुमा हाम्रो दोष छैन’, उनले भने, ‘कानुनी प्रक्रिया पुर्‍याएरै बेचेका हौँ।’

तत्कालीन निर्माण तथा यातायात मन्त्रालयको २०४६ माघ २३ गते सार्वजनिक सूचना जारी गरी सडकको नाममा जग्गा प्राप्त गर्ने प्रक्रिया थालेको थियो। पछि २०६० सालमा कदमाहा गाईघाट सडक खण्डको जग्गा लगत कट्टा गर्न भू–संरक्षण तथा व्यवस्थापन विभागको निर्णयको आधारमा सडकको दायाँ २५ मिटर र बायाँ २५ मिटर जग्गाको लगत कट्टा गरेको थियो। त्यही जग्गा शिवप्रसाद दाहालबाट अहिलेसम्म लगत कट्टा भएको थियो।  

विरेशले अाफूहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन्। ‘हाम्रो करडौंको मूल्य पर्ने जग्गा सडकमा परेको अहिले थाहा हुँदैछ,’ उनले भने, ‘अब जग्गा फिर्ता हुँदा पनि हामीले क्षतिपूर्ति पाउनुपर्छ।’

‘ऋणको लागि डंगोललाई जग्गा पास गरी दिएको थियौ,’ उनले भने, ‘मातपोतका कर्मचारीले रजिष्ट्रेसन पास गरी अाठ नौ लाख रुपैयाँ तिरेको दुई दिनपछि थाहा पाइयो जग्गा हाइवेमा पर्दोरहेछ। विरेशले ०३८ सालदेखि भोगचलन गर्दै आएको जग्गा नबेचीकन ऋण लिन रजिष्ट्रेसन पास गरी अाठ\नौ लाख रुपैयाँ सरकारी राजस्व तिरेर डगोललाई दिएको बताए।

डंगोल भन्छन, झुक्याए
मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा जग्गा किनबच गरिएको जग्गा खरिदकर्ता डंगोलको आरोप छ। डंगोलका अनुसार नापी मालपोत मात्र नभएर त्रियुगा नगरपालिका– ३ का अध्यक्षले समेत घरबाटोको सिफारिस दिएका थिए। उनी प्रश्न गर्छन्, 'सडकमा जग्गा पर्छ भने कसरी उहाँले सिफारिस दिनु भयो?' आफूलाई फसाइएको गुनासो डंगोल बताउँछन्।

‘म जग्गा खरिद गर्ने मान्छे नापीमा गएर नक्सा हेरे दुरुस्त छ, मालपोतमा गएर मोठ हेरे त्यो पनि ठिक छ’, मालपोत र नापीका कर्मचारीको मिलेमतोमा डेढ करोड रकम फसाइएको दाबी गर्दै डंगोलले भने, ‘सरासर मातपोतका कर्मचारीको गलत निर्णयको कारण पीडामा परेको छु।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.