|

डोटी : कृषि तथा पशुपालनतर्फ युवाको आकर्षण बढ्न थालेको छ। विदेश तथा सरकारी जागिर मात्र होइन आफैँ उद्यम गरे पनि राम्रो मुनाफा लिन सकिन्छ भन्ने विश्वास यहाँका युवा बढ्न थालेको छ।

डोटीको शिखर नगरपालिका - ५ तिजालीका युवा डबल बोहराले गाउँमै समूह गठन गरी सामुहिक बाख्रापालन व्यवसाय सुरु गरेका हुन्। डोटी बहुमुखी क्याम्पसबाट पोलिटिकल साइन्स (राजनीति शास्त्र) विषयमा ‘डिग्री’ पढेका बोहराले आयआर्जन गर्न बाख्रापालन व्यवसाय रोजेका छन्। विद्यार्थी राजनीतिसमेत रहेका बोहरा अनेरास्ववियु डोटीका अध्यक्ष पनि हुन्।

नेपाल सरकारले राष्ट्रिय युवा परिषदअन्तर्गत सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट विनाब्याज पाँच लाख रुपैयाँ ऋण लिएर बोहराले  बाख्रापालन गरेका हुन्।

जिल्ला युवा समिति डोटीमार्फत काफली बचत तथा ऋण सहकारी संस्था लिमिटेड डोटी र प्रगतिशील कृषक समूहबीच  सहकार्य गरेर बोहराले ब्यवसाय सुरु गरेको बताए। २० वटा बाख्रा खरिद गरेर व्यवसाय सुरु गरेका बोहराका बाख्रा ब्याएर अहिले २९ वटा पुगेका छन्। जमुनापारी क्रस र खरी जातका बाख्रापालन गरिरहेका प्रगतिशील कृषक समूहका उपाध्यक्षसमेत रहेका बोहरा बाख्रापालन व्यवसाय सुरु गर्न पाएकोमा खुशी छन्।

त्यस्तै सोही कृषक समूहका दलबहादुर बोहराले पनि बाख्रापालन गरिरहेका छन्।१० वटा बाख्राबाट सुरु गरेका दलबहादुरले ७५ हजार आम्दानी गरेको उनले बताए।

जिल्ला युवा समिति डोटीले युवा उद्यम कार्यक्रम अन्तर्गत गत वर्ष डोटीका दुवै निर्वाचन क्षेत्रमा एकएक उद्यम समूहलाई आर्थिक सहयोग गरेको जिल्ला युवा समितिका कम्प्युटर अपरेटर गणेश मल्लले जानकारी दिए।

जिल्ला युवा समितिले बाख्रापालन मात्र नभएर आधुनिक सीप विकास मञ्च लामीखालमा खुकुरी, चक्कु, चुलेसी निर्माण व्यवसायका लागि पाँच/पाँच लाख रुपैयाँ सहयोग गरिएको मल्लले जानकारी दिए।

जिल्ला युवा समितिले लगानी गरेका उद्यम समूहले सन्तोषजनक काम गरेको र जिल्लामा बेरोजगार एवं अनुत्पादक भएर बसेका युवाले पनि आयआर्जनमूलक व्यवसाय गर्नुपर्नेमा जिल्ला युवा समिति डोटीका अध्यक्ष बमबहादुर बमले जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.