|

काठमाडौं : केही समयपछि फुटबलप्रेमीका लागि एउटा मेला नै लाग्दै छ। बिहीबारबाट हुने विश्वकप फुटबलका लागि विश्वका सबै देश जस्तै नेपालमा पनि माहोल तातेको छ। फुटबलको महाकुम्भका रूपमा लिइने विश्वकपले विश्वमा एउटा छुट्टै माहोल सिर्जना छ। हुनत विश्वकपमा नेपालले सहभागिता जनाउन पाएको छैन तर पनि विभिन्न देशको समर्थन गर्दै नेपाली पनि त्यो महोलसँगै रमाउँदै आएका छन्। अहिले झुपडीदेखि महलसम्म विश्वकपकै चर्चा छ। नेता, मजदुर, कर्मचारी, किसानलगायत फुटबल मन नपराउने सायदै होलान्। उनीहरू आफ्नो समर्थनको देशले जित्नेमा आआफ्नो तर्क राख्दै आएका छन्। 

विश्वकपको माहोलमा नेता पनि त्यतिकै रमेका छन्। उनीहरू विश्वकपमा सहभागी हुने विभिन्न देशको समर्थन गर्दै त्यस देशको जर्सी लगाएर समर्थन गरिरहेका छन्। विश्वकपको माहोलबाट कुनै नेता पनि बाहिर छैनन्। केही नेताहरूले नेपाललाई पनि अब विश्वकपसम्म पुर्‍याउनुपर्ने बताउँदै आएका छन्। त्यसका लागि खेलाडीको क्षमता वृद्धिसँगै खेल क्षेत्रमा भौतिक संरचनाको निर्माण गर्दै अघि बढ्नुपर्ने बताउँदै आएका छन्। राजनीतिक व्यस्तताका कारण पनि नेताहरू यस पटक विश्वकप हेर्दै छन्। नेपाली राजनीतिक क्षेत्रका केही नेताहरूलाई हामीले विश्वकपमा तपाईं कुन देशको समर्थक र किन? भनेर सोधेका छौँ।

गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापा सन् १९८६ देखि विश्वकप हेर्दै आएका छन्। उनी त्यस समयदेखि सुरुदेखि अन्तिम समयसम्म  विश्वकपको मज्जा लिँदै आएका छन्। त्यही समयदेखि उनी ब्राजिलप्रति प्रभावित बने। ब्राजिलको फ्यान बने। 

उनी पछिल्लो समय नेयमारबाट प्रभावित भएर पनि ब्राजिलको फ्यान भएका छन्। ब्राजिलको जीतका लागि नेयमारको भूमिका महत्त्वपूर्ण हुने उनी बताउँछन्। ‘नेयमारको जस्तो गोल गर्ने स्केल कसैको छैन। ब्राजिलको जीतका लागि उनको भूमिका पनि महत्त्वपूर्ण छ’, उनले भने। सधैँ व्यस्त रहने उनी यस पटक पूरै खेल हेर्ने योजनामा छन्। भन्छन्, ‘समयको त निकै चाप नै हुन्छ तर यस पटक राती खेल हुने भएकाले केही सहज भएको छ। सबै हेर्ने प्रयास गर्नेछु।’

महेश बस्नेत

नेपाल कम्युनिस्ट पार्टीका युवा नेता महेश बस्नेत यस पटक अर्जेन्टिनालाई समर्थन गर्दै छन्। विश्व इतिहास रच्ने यो विश्वकपमा उनी अर्जेन्टिनाका खेलाडीप्रति प्रभावित भएर अर्जेन्टिनाको समर्थन गर्दै छन्। डिएगो आर्मेन्डो म्याराडोनाले अर्जेन्टिनालाई यहाँसम्म ल्याउन गरेको मिहिनेतका कारण पनि उनी अर्जेन्टिनाप्रति प्रभावित छन्।

यस्तै, लियोनेल मेस्सीको प्रदर्शनबाट पनि उनी निकै प्रभावित छन्। त्यस कारण पनि बस्नेत यस पटक अर्जेन्टिनालाई समर्थन गर्दै छन्। 
धेरै नेपाली खेलाडी अर्जेन्टिनाबाट प्रभावित भएका कारण आफूले अर्जेन्टिना रोजेको उनी बताउँछन्। भन्छन्, 'अर्जेन्टिनाका खेलाडीबाट धेरै नेपाली खेलाडी प्रभावित छन्। त्यस कारण म पनि यसकै सर्थक हुँ।’

मीन विश्वकर्मा

नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा सुरुवातीदेखि नै ब्राजिललाई समर्थन गर्दै आएका छन्। उनी यस पटक पनि ब्राजिलकै समर्थनमा छन्। विश्वसामु फुटबलबाटै इतिहास रचेको र विश्वसामु परिचित भएका कारण ब्राजिललाई समर्थन गरेको उनी बताउँछन्। 

उनी ब्राजिलका पुराना खेलाडी पेलेको जीवनीबाट प्रभावित छन्। ‘म पेलेको फ्यान हुँ। मैले उनको इतिहास पढेको छु। उनको जीवनीबाट प्रभावित छु’, उनले भने, ‘एउटा सामान्य परिवारको व्यक्तिले पनि विश्वकप खेल्न पाउँछ भन्ने उनी उदाहारण हुन्।’

पेलेकै कारण ब्राजिल विश्वसामु चिनिएको उनको बुझाइ छ। तर अब नेपालले विश्वकप पनि खेल्न पाओस् भन्ने उनको चाहना छ। नेपाली फुटबलरको पनि स्तर उकास्दै विश्वसामु अब्बल सावित गर्नुपर्ने उनी बताउँछन्।

धनराज गुरुङ

नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङ यस पटक कुनै टिमलाई समर्थन गर्ने पक्षमा छैनन् तर उनी फुटबल हेरेर मनोरंजन भने लिन्छन्। उनी नेपालले विश्वकप खेल्न नपाएका कारण पनि कुनै देशको समर्थनमा छैनन्। 

‘नेपालले पनि सहभागिता जनाएको भए हामी नेपालको समर्थन गर्थ्यौं’, उनले भने, ‘अब देशलाई कसरी त्यो ठाउँमा पुर्‍याउने भनेर सोच्नुपर्छ।’ तर उनी खेलाडी भने मनपराउँछन्। उनको नजरमा परेका तीन खेलाडी हुन्, मेस्सी, नेयमार र क्रिस्टियानो रोनाल्डो। उनी यी खेलाडीको खेल भने असाध्यै मनपराउँछन्। 

नविना लामा

नेकपा नेतृ तथा सांसद नविना लामा यस पटकको विश्वकपमा अर्जेन्टिनालाई समर्थन गर्दै छन्। अर्जेन्टिनामा अनुशासित खेलाडी भएका कारण पनि उनको समर्थन अर्जेन्टिनालाई हो। अझ उनले रोजेको खेलाडी मेस्सी अर्जेन्टिनाका हुन्।

त्यस कारण पनि उनी अर्जेन्टिनाको समर्थक भएका हुन्। मेस्सीको खेलबाट उनी प्रभावित हुन्। भन्छिन्, ‘मेस्सीले मेरो मात्र होइन, सारा फुटबलप्रेमीको मन जितेका छन्। उनलको टिमले हारे पनि हामीले जितेकै जस्तो हुन्छ।’ 

रामप्रसाद सापकोटा (दीपशिखा)

नेकपाका नेता रामप्रसाद सापकोटालाई अहिले विश्वकपले निकै छोएको छ। उनी ब्राजिल समर्थक हुन्। ब्राजिलको जर्सी लगाएको फोटो उनले सामाजिक संजालमा हालिरहेका छन्।

सारा युवाहरूले ब्राजिलको समर्थन गरेको उनको दाबी छ। ‘ब्राजिलमा युवा खेलाडी छन्। मैले मात्र होइन, सारा युवाले ब्राजिल मनपराएका छन्।’ तर उनी ब्राजिलका नेयमारसँगै मेस्सीका पनि समर्थक हुन्। अर्जेन्टिनाका मेस्सी उनलाई निकै मनपर्छ। मेस्सीको नम्रपन र खेलबाट उनी प्रभावित छन्।

केशव झा 
राष्ट्रिय जनता पार्टीका महासचिव केशव झा यस पटकको विश्वकपमा ब्रजिललाई समर्थन गर्दै छन्। उनी आफूले विश्वकप थाहा पाएदेखि नै ब्राजिलका समर्थक हुन्। 
उनी पेलेको व्यक्तित्वबाट प्रभावित भएका कारण ब्राजिलको समर्थक बनेका हुन्। तर उनलाई मेस्सी र रोनाल्डोको खेल निकै मनपर्छ। भन्छन्, ‘मैले पेलेको संघर्ष पढेको छु, बुझेको छु। त्यस कारण पनि म ब्राजिलको समर्थक हुँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.