|

काठमाडौं : जुन वर्ष अर्जेन्टिनाले अन्तिम पटक फुटबलको विश्व कप जित्यो। डियागो म्याराडोना महान खेलाडीको श्रेणीमा परे। हो त्यही वर्ष १८ वर्षे किशोरी कमला हिराचन नेपालमा बनाइएको पहिलो महिला राष्ट्रिय फुटबल टोलीको सदस्य बनिन्।

नेपाली टोलीको रक्षापंक्ति सम्हालेकी हिराचनलाई भने गोल गर्न माहिर म्याराडोनाको खेलले आकर्षित पा¥यो। हुनत उनलाई त्यसबेला आफ्नै टोलीकी कप्तान रमा सिंहको खेल पनि औधी मन पथ्र्यो। त्यसपछि उनी नेपाली राष्ट्रिय टोलीकी दोस्रो कप्तान पनि बनिन्। उनको नेतृत्वमा नेपालले सन् १९८९ मा हङकङमा एसियन कप र १९९० मा भारतको त्रिवेन्द्रममा आयोजित फेडेरेसन कपमा समेत खेल्यो। नेपालमा खेलेर बाँच्ने आधार नदेखेर उनले २०४६ सालमै चटक्कै यो खेलसँग माया मारिन्। त्यसबेला पनि उनलाई लाग्दो रहेछ, अझैं खेल्ने उमेर त सकिएको छैन ! ‘प्रतियोगिता नै हुँदैन थिए, अनि कसरी खेल्नु। विवाह गरियो अनि जापान गइयो,’ उनी भन्छिन्।

उनलाई म्याराडोनाको खेलले आकर्षित पारेपनि मन भने ब्राजिलले तान्यो। अनि उनका प्रिय खेलाडी पनि ब्राजिलकै रोनाल्डो बने। यसको पनि आफ्नै कथा छ।
आपैंm खेलाडी हुँदा उनले विश्व कप हेरिनन्। प्रशिक्षणका बेला देखाइने वृत्तचित्रहरुमै उनले पेलेको खेल हेरिन्। पहिलो आकर्षण त्यतातिर मोडियो।
अरुलाई झैं सम्भवत उनलाई पनि पेले कै खेल र नामले ब्राजिलको समर्थन बनाएको हो। तर, टेलिभिजनबाटै विश्व कपलाई नियाल्नेहरुमा उनको नाम पछिल्लो पंक्तिमा नै आउँछ।

सन् २००२ मा जापान र दक्षिण कोरियामा आयोजित विश्व कपले उनको आँखा टेलिभिजनमा आउने प्रत्यक्ष प्रसारणतिर आकर्षित हुनथाल्यो। गज्जबको संयोग, उनले जुन बेलादेखि विश्व कपलाई टेलिभिजन सेटमा नियाल्न थालिन्। त्यही बेला उनको प्रिय टोली ब्राजिल र प्रिय खेलाडी रोनाल्डोले विश्व कप ट्रफीलाई चुमे। उनको चाहना यस पटक पनि ब्राजिलले विश्व कप जितोस् भन्ने छ। यो उनका प्रिय खेलाडीका लागि ब्राजिलको उपहार पनि हुनेछ, उनलाई यस्तै लाग्छ।

हुनत अहिले पनि अर्का रोनाल्डो, क्रिस्टियानो रोनाल्डो विश्व फुटबलमा राज गरिरहेका छन्। तर, उनका प्रिय रोनाल्डो अर्थात रोनाल्डो लुइज नाजारियो डे लिमाले कुनै बेला विश्व फुटबलमा राज मात्र गरेनन्। ब्राजिललाई पाँचौ पटक विश्व कप विजेता पनि बनाए बनाए। त्यसपछि ब्राजिल अर्को उपाधिको प्रतिक्षामा छ।

महान फुटबलरको कसीमा रोनाल्डो लुइज नाजारियो डे लिमा पनि अघिल्लो पंक्तिमा मै आउँछन्। अप्रिल २००० मा दायाँ खुट्टाको मांशपेशी च्यातिएपछि रोनाल्डोको सुन्दर फुटबल भविष्य नै दाउमा परेको थियो। उनले सन् २००२ को फिफा विश्व कपको छनोट चरणका कुनै खेल खेल्न सकेनन्। जसले गर्दा ब्राजिलले निकै कठिनाइपछि अन्तिम चरणमा स्थान बनाएको थियो।

तर, रोनाल्डोको अद्धितीय पुनरागमका कारण ब्राजिलले विश्व कप मात्र जितेन, उनै रोनाल्डोले त्यो विश्व कपमा सर्वाधिक ८ गोल हानेर गोल्डेन बुटको हकदार समेत बने। रोनाल्डोले सो विश्व कपको क्वार्टरफाइनलमा इंग्ल्यान्ड बाहेक हरेक विपक्षीविरुद्ध गोल गरेका थिए। फाइनलमा जर्मनीविरुद्ध गोल गर्दै उनले विश्व कप इतिहासमा सर्वाधिक कुल १२ गर्ने पेलेको कीर्तिमानलाई बराबरी गरेका थिए। त्यसका लागि स्वयं पेलेले समेत उनलाई बधाइ दिएका थिए।

रोनाल्डोको त्यही महान खेलले नेपालकी पूर्व कप्तानलाई पनि आकर्षित ग¥यो। तर, अर्को विश्व कपमा उनका ‘फुटबल हिरो’ ले सोच अनुरुप खेल पस्कन सकेनन्। अनि कमला हिराचन झैं रोनाल्डो लुइज नाजारियो डे लिमा पनि यही फुटबल संसारमा कतै ओझेलमा पर्दै गए। नयाँले नाम कमाउँदै गए, पुराना सम्झनाबाट टाढा हुँदै गए। ‘यस्तै हुँदो रहेछ, खेलाडीको जीवन,’ हिराचन अफसोच मान्दिनन् तर कतै लुकेको पीडाबाट भाग्न पनि सक्दिनन्। सम्भवत् रोनाल्डो लुइज नाजारियो डे लिमा पनि यस्तै सोच्दा हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.