|

भद्रपुर (झापा) : नेपाल-भारतको सीमावर्ती क्षेत्रलाई जोड्ने झापाको भद्रपुरस्थित मेचीनदीमा निर्माण भएको पुल उद्घाटन हुनु अगावै दुवै देशका नागरिकले प्रयोग थालेको छन्। मनसुन सुरु भएसँगै मेची नदीमा पानीको सतह बढ्दा नदीमा बनाइएको बाँसको अस्थायी पुल पानीले बगाएपछि स्थानीय नागरिकले उद्घाटन गर्न बाँकी रहेको पुलबाटै आवतजावत गर्न थालेका छन्।

मेची नदीमा पुल निर्माण भए पनि सडकबाट पुलसम्म पुग्ने सडक निर्माण नभएकाले पुलको उद्घाटन हुन बाँकी रहेको छ। अहिले पुलसम्म पुग्नका लागि पुलको दुवैतर्फ अस्थायी ग्राभेल सडक बनाइएको छ। त्यो सडकको गिट्टी र बालुवा पनि पानीले बगाउन थालिसकेको छ। उक्त अस्थायी सडक भत्किए पुलबाट आवतजावत गर्न नै ठप्प हुने स्थानीयहरु बताउँछन्। पुलको दुवै तर्फको ग्राभेल सडक अहिले ठाउँठाँउमा खाल्डो परिसकेको छ। नेपालतर्फ बनाइएको तटबन्धन समेत धस्सिएको छ।

सडकको यस्तो अवस्था भएपछि पुलमाथिबाट आवतजावत गर्ने समय धेरै नरहेको स्थानीयको भनाइ छ। ‘सात दशकदेखिको भद्रपुरलगायत दक्षिणी झापावासीको संर्घषपछि नदीमा बल्ल पुल बन्यो’, स्थानीय सञ्जीव पौडेलले भने, ‘अहिले केही दिन पुलमाथिबाट आवतजावत गर्न सकिन्छ, ठूलो पानी वा बाढी आए अहिले बनेको ग्राभेल सडक टिक्दैन र नदी तर्नु बाध्य हुनु पर्छ।’ 

सम्बन्धित निकायले पुलसँगै सडक निर्माणमा चासो नदेखाउँदा यस्तो समस्या सिर्जना भएको स्थानीय सन्तोष धमलाले बताए। उनले भने, ‘पुल जोड्ने ग्राभेल सडक भत्किने अवस्था छ, त्यो भत्किएपछि फेरि नदीबाटै हिँड्नुपर्ने बाध्यता हुन्छ।’

यता हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीका प्रमुख विजयकुमार महतोले पुल जोड्ने पुलबारे आफूलाई थाहा नभएको बताए। ग्राभेल सडक भत्किए सडक विस्तारका बेला पुनः निर्माण हुने उनले बताउ।

भारतीय सुरक्षाकर्मीबाट सास्ती 

मेची नदीमा निर्माण भएको पुल जोड्ने सडक भारततर्फको पश्चिम बंगाल राज्यलाई छोएको छ। ‘यु टर्न’ आकारको ग्राभेल सडक बंगालमा गएर टुंगिएको छ। तर, सडकको प्रयोग बिहार राज्यस्थित गलगलियासँग गर्नु भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दुःख दिने गरेको स्थानीयको गुनासो छ। 

नेपाली भूभागका स्थानीयहरू मेची पुलबाट भारततर्फ जाने गरेका छन्। तर, एसएसबीले सीमामै बंगालको बाटो प्रयोगमा रोक लगाएकाले मोटरसाइकल तथा साइकलमा आवतजावत गर्ने नेपाली नागरिक खेत वा नदी तरेर गलगलिया चेकपोष्टतर्फ जान बाध्य भएका छन्।

अलपत्र सडक बिस्तार

मेची पुलको निर्माण कार्य फागुनमै पूरा भएको हो। पुल निर्माण भए पनि पुलसम्म जोड्ने नेपाल र भारत दुवैतर्फको सडक निर्माण कार्य अलपत्र बनेको छ। 

पुलको पूर्वतिर भारतीय भूमि १०३ नम्बर सीमास्तम्भसँग जोड्ने सय मिटर सडकलाई निर्माणका लागि बिहार राज्यसँग पहल भए पनि कहिलेसम्म निर्माण हुने भन्ने समयावधि तोकिएको छैन।  पुलको पश्चिमतिर नेपाली भूभागको भद्रपुरमा १८० मिटर लम्बाई र ३० मिटर चौडाई भएको सडकको निर्माण कार्य पुल निर्माणको जिम्मा लिएको कम्पनीले अधुरो छाडेको छ। अहिले पुल निर्माण स्थलमा कम्पनीका कर्मचारी छैन।

हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीका प्रमुख विजयकुमार महतोले सडक निर्माण कार्य केही समयभित्रै सुरु हुने बताउँछन्। ‘स्थानीयले मुआब्जा पाउन साथ जमिन खाली गराई सडक विस्तारले तीव्रता पाउँछ’, उनले भने, ‘भारततर्फ सडक जोड्न केही समस्या छ, त्यसका लागि पनि माथिल्लो निकायमा कुराकानी भइहेको छ।’ प्रमुख महतोका अनुसार भद्रपुरतर्फको सडकको जमिन खाली गराउन तीन सरकारी कार्यालयसहित २२ घरपरिवारलाई मुआब्जा वितरणका लागि अर्थ मन्त्रलायमार्फत बजेट आइसकेकाले केही दिनभित्र रकम वितरण हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.