|

काठमाडौं : नेपाल पुलिस क्लबलाई लगातार तीन पटक शहिद स्मारक ए डिभिजन लिग जिताएपछि प्रशिक्षक विराटकृष्ण श्रेष्ठको प्रसंसा नगर्ने कमै भेटिए। त्यसमाथि २००७ को एएफसी प्रेसिडेन्टस् कपमा नेपाल पुलिसलाई दोस्रो बनाएपछि उनको प्रसंसा झनै चुलियो।

आफुले सम्हालेका टोलीलाई उच्चस्तरको सफलता दिलाउन माहिर प्रशिक्षक श्रेष्ठ आपूm भने सन् १९६६ यता दोस्रो पटक विश्व कप ट्रफी ताकेर बसिरहेको इंग्ल्यान्डका प्रसंसक हुन्। सोमबार रातिको खेलमा भीएआर प्रविधिको प्रयोगमा गरिएको लापरवाही र त्यसबाट इंग्ल्यान्डले पाएको धोकाबाट उनी दिक्क छन्। ‘खेलमा प्रविधि प्रयोग हुनु राम्रो कुरा हो। तर, अहिले कुन आधारमा यसको प्रयोग भइरहेको मैले बुझ्न नसकेको कुरो यही हो।’
सोमबार राति भीएआरको प्रयोगले ट्युनियाले पाएको पेनाल्टीमा श्रेष्ठको गुनासो छैन। तर, हेरी केनमाथि त्यस्तै ट्याकल हुँदा भीएआरको प्रयोग समेत गरिएन, हो त्यसमा भने उनको गुनासो छ। खेल इंग्ल्यान्डले जित्यो, उनी खुशी छन्।

क्लब फुटबलका कारण पनि विश्व कपमा केही ह्रास आएको छ कि भन्ने असमंजसमा समेत उनी छन्। क्लबका कारण खेलाडीहरूले राष्ट्रिय टोलीलाई समय दिन नसक्नु अनि सामूहिकरुपमा तालिम लिन नपाउँदा खेलाडीको स्तरमा समेत कमी देखिन थालेको उनको राय छ। ‘उदाहरणका लागि मेसीले राम्रो खेल्न सकेनन् भनेर उनलाई होच्याउनुभन्दा उनले किन राम्रो खेल्न सकेनन् भनेर विश्लेषण गर्नुपर्छ,’ उनी भन्छन्, ‘उनको क्लबको खेल्ने शैली एउटा छ त अर्जेन्टिनाको खेल्ने शैली अर्कै।’

नेपालमा त अहिले त्यो अवस्था छैन। तर, विशेषगरी युरोप र अमेरिकी महादेशमा क्लब फुटबलले खेलाडीलाई व्यस्त राख्दा विश्व कपका सुरुवाती चरण दर्शकको चाहना बमोजिम प्रतिस्पर्धी बन्न नसकेको उनी दोहराउँछन्। हुनत उनी स्वयंले पनि नेपाली राष्ट्रिय फुटबल टोलीसँग आबद्ध हुन त्यति चाह देखाएनन्। एक पटक सन् १९९७ मा भीम थापाको सहयोगी भएर राष्ट्रिय टोली हेरेका उनलाई सन् २००८ मा हैदराबादमा सम्पन्न एएफसी च्याम्पियनसिपका लागि राष्ट्रिय टोली हर्ने जिम्मा भने दिइएको थियो। जसलाई उनले स्विकार पनि गरे। सो प्रतियोगिताको पहिलो खेलमा म्यानमारसँग हारेपछि अर्को खेल उत्तर कोरियाजस्तो शक्तिशाली टोलीसँग खेल्नुपर्ने थियो। उनको विचारमा म्यानमार पनि बलियो नै थियो।

उत्तर कोरियाविरुद्धको खेलमा भने उनले अघिल्लो खेल खेलेका ८ जना खेलाडीलाई मैदानबाहिरै राख्ने निर्णय गरे। उनको त्यो निर्णयबाट कोही खुसी देखिएनन्। तर, आफ्नो अडानमा उनी अडिग रहे, उनको योजना सफल पनि भयो। त्यस्तो बलियो प्रतिद्वन्द्वीसँग नेपाल मात्र ०–१ ले हा¥यो। उत्तर कोरिया त्यही टोली हो जसले सन् १९६६ को विश्व कपको समूह चरणमा इटालीलाई १–० ले हराउँदै समूह चरणबाटै घर फर्कने आधार पनि तयार पारेको थियो।

‘प्रशिक्षकलाई आफ्नो योजना सफल हुँदाको क्षणजस्तो खुसी कहिल्यै लाग्दैन रहेछ। हार–जित त स्वाभाविकै हो। अनि खेलाडीले योजनाविपरीत खेल्दा अति नै रिस उठ्छ। त्यो खेलमा जितेकै किन नहोस्,’ उनी भन्छन्। उनको त्यो दुस्साहसले फेरी राष्ट्रिय टोली सम्हाल्ने सम्भावनाहरू कमजोर बने वा भनौं उनी त्यसपछि त्यो जिम्मेवारीमा कहिल्यै फर्किएनन्।

उता विश्व कपमा प्रशिक्षकहरू भने यो विषयमा अलि दुर्भाग्यशाली नै हुने उनी बताउँछन्। भन्छन्, ‘क्लबमा प्रशिक्षकले एउटा शैलीमा खेलाइरहेको हुन्छ। राष्ट्रिय टोलीका प्रशिक्षकले आफ्नै शैली अपनाउँछन्। यसले गर्दा खेलाडीलाई नयाँ शैलीबाट खेल्न अवश्य पनि कठिन भइहाल्छ नि।’ साथै उनी मैदानमा ११ खेलाडी ओर्लिएपनि फुटबलको वास्तविक खेलाडी प्रशिक्षक नै हुने दावी गर्छन्। ‘आखिर प्रशिक्षकको शैली र निर्देशनमा नै खेलाडीले खेल्ने हो।’ त्यसैले उनको विचारमा फुटबलमा टोली र खेलाडीभन्दा कसैको ठूलो हार वा जित हुन्छ भने त्यो प्रशिक्षक नै हो।

यस्तै कारणले होला उनले विश्व कपको पहिलो खेलमा बिर्सनलायक प्रदर्शन गरेका मेसीको बचाव गरेका।
यसपटक कसले विश्व कप जित्न सक्ला ? उनी भन्न चाहँदैनन्। तर, सिमित केही टोली नै विश्व कपको दावेदार भएको भने स्विकार्छन्। ‘जर्मनी, अर्जेन्टिना, ब्राजिल जस्ता टोली समूह चरणमा हारेपनि आपूmलाई सम्हाल्न सक्छन्। उनीहरूको समूह चरण र नकआउट चरणमा खेल्ने शैलीमा नै परिवर्तन हुन्छ,’ उनी भन्छन्, ‘तर अन्य टोलीहरू जस्तै मेक्सिको, उरुग्वे, स्विट्रल्यान्डहरूको शैली उही रहन्छ। त्यही कारण उनीहरूलाई अगाडि बढ्न गाह्रो पर्छ।’

उनको विचारमा समूह चरणको खेलको आधारमा अब जर्मनी, ब्राजिल, अर्जेन्टिना वा पोर्चुगल जस्ता टोलीले विश्व कप जित्न सक्दैनन् भनेर ठोकुवा गर्न नमिल्ने उनको तर्क छ। समर्थकको नाताले होइन, खेललाई विश्लेषण गर्दा यसपाली इंग्ल्यान्ड र बेल्जियमलाई समेत उनी ट्रफी जित्नसक्ने टोली मान्छन्। ‘सबैभन्दा पहिले हरेक टोलीको ध्यान त समूह चरणबाट कसरी माथि उक्लिने भन्ने मात्र हुन्छ, कसैले ट्रफीको लागि खेलिरहेका छैनन्, अहिले।’ उनको विचारमा नकआउट चरणको समिकरणपछि मात्र उपाधिका दावेदार तोक्न उचित हुन्छ। ‘कुनै एक–दुईटा बलिया टोली दोस्रो भएर नकआउट चरणमा पुग्यो भने पुरा प्रतियोगितामै उथलपुथल आउँछ। अहिले तोकिएका दावेदारहरू त अन्तिम १६ वा अन्तिम ८ मै भिड्न सक्छन्।’

केही घरायशी कारणले उनले यसपालीको विश्व कपलाई त्यति नजिकबाट नियाल्न पाएका छैनन्। तरपनि, उनको विचारमा निकै संघर्षपछि विश्व कप जस्तो प्रतिस्पर्धी मैदानसम्म आएका हरेक टोली उपाधिका दावेदार हुनसक्छन्। ‘हो एसिया र अफ्रिकाको सम्भावना केही कम होला। तर, क्लबस्तरमा हेर्ने हो भने उनीहरूका खेलाडी पनि राम्रा छन्, राम्रा क्लबबाट खेलिरहेका छन्,’ श्रेष्ठ भन्छन्, ‘एसियाबाट छनोट भएका अस्ट्रेलिया, जापान, दक्षिण दक्षिण कोरियाका कतिपय खेलाडी युरोपेली क्लबबाटै खेल्छन्, जहाँ अफ्रिका र अमेरिकी देशबाट पनि खेलाडी आउँछन्। त्यसैले क्लबका आधार उनीहरू एकैस्तरका खेलाडी हुन्। तर, मात्र फरक विश्व कपमा उनीहरू कति अनुभवी छन् भन्ने मात्र हो।’

श्रेष्ठकै धारणालाई आधार मान्ने हो भने विश्व कप ट्रफी उचाल्न इतिहासको पनि साथ चाहिन्छ। पुर्खाको विरासतमा टेकेरै नयाँले आपूmलाई बाघ बनाउँछन्। ब्राजिल, जर्मनी वा अर्जेन्टिना जस्ता टोलीको नामले समेत कतिपय विपक्षी मानसिकरुपमा कमजोर बनिसकेका हुन्छन्, मैदान ओर्लिनु अगावै। त्यही मानसिकताले समेत फुटबललाई केही सिमित टोलीको पेवा झैं बनाएको छ। तर, नयाँ टोलीले जित्नै सक्दैन भन्ने पनि त छैन। फ्रान्स र स्पेनले यही शताब्दिमा त्यो उदाहरण प्रस्तुत गरिसके। तरपनि, श्रेष्ठको चाहना फेरी एक पटक इंग्ल्यान्डले विश्व कप जितोस् भन्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.