थपिदै छन् अन्तर्राष्ट्रिय गन्तव्य

|

काठमाडौं : फ्रान्समा निर्मित नेपाल वायुसेवा निगम (एनएसी)को एयरबस ३००-२०० सिरिजको जहाजले शुक्रबार फ्रान्सको आकाशमा परीक्षण उडान गर्ने भएको छ। परीक्षण उडानको क्रममा नेपाल वायु सेवा निगमका इन्जिनियर निर्देशक केवी थापासहितको टोली फ्रान्स पुगेको छ।

निर्माणको सबै कार्य र नेपालको झण्डासहित रंगरोगनको कार्य सकिएसँगै परीक्षण उडान गर्न थालिएको हो। शुक्रबार परीक्षण उडान सकिएपछि नेपालमा जहाज ल्याउन बाटो खुल्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए।

जहाज ल्याउनको लागि निगमका महाप्रबन्धक कंसारकारसहितको अर्को टोली आइतबार फ्रान्स जाँदैछ। परीक्षण उडानपछि नेपाल ल्याउने बाटो खुल्ला हुने भएता पनि निगमाले भने आगामी बिहीबार अर्थात १४ असारमा पहिलो एयरबस नेपाल ल्याउने मिति तय गरेको छ।

अगस्तबाट व्यवसायीक उडान

२७४ सीट भएको यो जहाज १४ असारमा काठमाडौं अवतरण गर्ने भएता पनि व्यसायीक उडान गर्न भने झण्डै डेढ महिना लाग्ने वायु सेवा निगमले जानएको छ।

आगामी बिहीबार नेपाल अवतरण भएपछि जहाजको भान्सा किलियरेन्स गर्नु पर्नेछ। त्यसपछि नागरिक उडड्यन प्राधिकरणबाट चेकजाँचपछि उडान अनुमति प्राप्त गर्नुपर्ने हुन्छ। पहिलो अनुमतिमा भने व्यवसायीक उडान भर्न पाइँदैन। झण्डै एक महिना यात्रुबिना उडान गरेपछि प्राधिकरणले पुन व्यापारीक उडानको अनुमति दिनुपर्ने प्रावधान रहेको छ।

'नेपाल भित्र्याएपछि केही प्रकिया हामीले पूरा गर्नु पर्ने हुन्छ, पुन: परीक्षण उडान गर्नु पर्‍यो, त्यसो हुँदा अगस्त एकबाट मात्रै व्यापारीक उडानको तयारीमा छौँ', महाप्रबन्धक कंसाकारले बताए।

तीन स्थान नयाँ उडान

करिब डेढ महिनाको अवधीमा दुई वटा ३३०-२०० सिरिजका जहाज नेपाल ल्याउन थालेको निगमले दुई दशकपछि रुट परिवर्तनका साथै अन्तर्राष्ट्रिय गन्तव्य पनि थप्ने भएको छ। अहिले आठ स्थानमा उडान भर्दै आएको निगमले अगस्तदेखि चार महिना भने यीनै स्थानमा उडान भर्ने छ। त्यसपछि भने तीनवटै जहाज नेपाली हवाई यात्रुलाई नै केन्द्रित गरी तीन देशमा नयाँ गन्तव्य थप्ने तयारी निगमको छ।

महाप्रबन्धक कंसाकारका अनुसार तत्काललाई जापान, दक्षिण कोरिया र साउदी अरबमा निगमले उडान भर्न थालेको हो। 'हामीले अहिले नेपाली बढी भएको देशलाई नै प्राथमिकता दिएका छौँ' कंसकाररले भने 'एक दुई वर्षमै अध्ययन गरेर पर्यटक बढी आउने धनी राष्ट्रमा हामीले उडान भर्ने छौँ।'

आगामी दुई वर्षभित्र अष्ट्रेलिया र त्यसपछि युरोपेली मुलकमा उडान भर्ने लक्ष्य निगमले लिएको छ।

आन्तरिक उडानमा पाइलट अभावकै समस्या

निगमले अन्तर्राष्ट्रिय उडान बढाउने तयारी गरेता पनि आन्तरिक उडान भने जहाज भएर पनि उडान विस्तार गर्न सकेको छैन। पाइलट अभावकै कारण जहाज थन्किएका छन्।

तीनवटा वाइड १२–ई भने लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छन्। वाइड १२–ई जहाज उडाउन पाइलट नहुँदा निगमले चारवटै जहाज उडाउन सकेको छैन। निगमले अंग्रेजी बोल्ने पाइलट चीनबाट ल्याउनको लागि पटकपटक प्रयास गरे पनि सफल हुन सकेको छैन। 'हामीले चीनबाट पाइलट ल्याउने प्रयास गर्‍यौँ, पछिल्लो समय श्रीलंकाबाट एक जना आउने  कुरा भयो। त्यो पनि असफल होला जस्तो भयो', महाप्रबन्धक कंसाकारले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.