पूर्व कप्तान शाक्य भन्छन् : राष्ट्रलाई उपाधि जिताउँदा सन्तानप्राप्तिभन्दा आनन्द

|

काठमाडौं : रुसमा फिफा विश्व कपको ज्वरो जति चढेको छ, नेपालमा पनि त्यसको राप कडै ताप दिएको छ। बिहीबार राति क्रोयसियासँग अर्जेन्टिनाको ऐतिहासिक हारपछि त नेपालका फुटबल समर्थकहरू स्पष्ट दुई चिरामा देखिएका छन्। कि अर्जेन्टिना र त्यसका कप्तान लियोनल मेसीको खिल्ली उडाउने कि त अर्जेन्टिनाप्रति अझै पनि सहानूभूति देखाउने। हुनत त यो विश्व कपमा अर्जेन्टिनाको अगाडि बढ्ने सबै सम्भावना समाप्त भइसकेको छैन। आशा अझै छ। सन् १९९० को विश्व कपको समूह चरणमा क्यामरुनसँग १–० ले हार्नुका साथै रोमानियासँग १–१ को बराबरी खेल्दासमेत अर्जेन्टिना अगाडि बढेको थियो। त्यसबेला समूह चरणमा रुसलाई मात्र हराएको अर्जेन्टिनाले अन्ततः फाइनलमा जर्मनीसँग मात्र घुँडा टेकेको थियो। नकआउट चरणमा ब्राजिल समेत उसको शिकार बनेको थियो। त्यसैले फुटबल हो, हरेक अनुमान सही नहुन पनि सक्छ।

त्यसमाथि, त्यो इतिहास थियो। इतिहास सधैं दोहरिदैन। अहिले अर्जेन्टिनी टोली पूर्णतया लियोनल मेसीको भरोसामा खेलिरहेको छ। मेसीको खुट्टा नचल्दा पुरा टोली कमजोर बनेको छ। दुई पटकको विश्व विजेता मात्र एक जना खेलाडीको भरोसामा मैदानमा ओर्लनु वास्तव मै लज्जास्पद कुरो हो। हुनत विगतमा पेले वा म्याराडोना जस्ता खेलाडीले एकल प्रयासमा टोलीलाई जिताउन सक्थ्ये। समय निकै परिवर्तन भइसक्यो। फुटबल खेल्ने शैली पनि निकै फरक भइसक्यो। त्यसैले अब मात्र एक खेलाडीले टोलीलाई काँध थाप्न सक्दैन भन्ने उदाहरण अर्जेन्टिना बनिसकेको छ। उता पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भने भाग्यमानी देखिएका छन्। उनको टोली अगाडि बढ्दै छ, उनकै गोलको भरोसामा। जब कुनै खेलमा रोनाल्डो रोकिन्छन्, पोर्चुगल पनि धराशायी बन्छ बन्ने सम्भावना छ नै। वर्तमान फुटबलको नियम नै यही हो।

सम्पूर्ण टोलीको भरोसामा खेल्ने नवप्रवेशी आइसल्यान्ड, बेल्जियम, स्विट्जरल्यान्ड, फ्रान्स जस्ता टोली अहिले छाप छाड्न सफल भइरहेका छन्।
नेपाली टोलीका पूर्व कप्तान राजुकाजि शाक्य यी धारणासँग सहमत छन्। उनको स्पष्ट धारणा छ, खेलाडीको मनबाट जब राष्ट्रियता हराउँछ अनि क्लब ठूलो बन्छ, त्यसपछि टोलीलाई कसैले बचाउन सक्दैन। उनको विचारमा जुन खेलाडीले राष्ट्रका लागि उपाधि दिलाउन सक्दैन, त्यो खेलाडी कहिल्यै महान बन्न सक्दैन। ‘टोलीका साथ अभ्यास गर्ने समय निकाल्न नसक्ने खेलाडीले राष्ट्रको मान बढाउन सक्छ भन्ने मलाई लाग्दैन,’ उनी भन्छन्। 

सन् १९९३ मा ढाकामा आयोजित छैटौं दक्षिण एसियाली खेलकुदको फुटबलको फाइनल नेपाल र भारतबीच तय भइसकेको थियो। जुन खेल सो खेलकुदको अन्तिम स्वर्णका लागि समेत खेलिंदै थियो। नेपालले अन्तिम अवस्थासम्म कुनै खेलबाट एउटै पनि स्वर्ण पदक जित्न सकेको थिएन। भरोसा र आशा एकमात्र बाँकी थियो, फुटबल। कप्तान थिए, उनै राजुकाजि शाक्य। कडा संघर्षपछि नेपालले स्वर्ण पदक जित्यो। दक्षिण एसियाली खेलकुदमा पहिलो पटक नेपाल स्वर्ण पदक विहिन हुनु परेन।

‘हामी राष्ट्रका खेल्थ्यौं, त्यसबेला हाम्रो मन र रगतमा राष्ट्र मात्र बगेको थियो। त्यसैले सफल पनि भइयो,’ शाक्य अहिले नेपालमा मात्र होइन हरेक मुलुकका खेलाडीमा राष्ट्रियतामाथि क्लब र दाम हावी भएको महसुुस गर्न थालेका छन्। ‘क्लब परिवर्तन गर्न सकिन्छ तर, राष्ट्रियता कहिल्यै परिवर्तन हुँदैन। राष्ट्रियताको मन्त्र जपेर राष्ट्रका लागि खेल्नु पर्छ, राष्ट्रका लागि ! अनि पो सफलता हात लाग्छ,’ उनको आवाज केही उत्तेजित समेत बन्छ।
शाक्यको विचारमा, कुनै पनि प्रतियोगितामा राष्ट्रलाई जित दिलाउँदा जति आनन्द महसुस हुन्छ, त्यति त सन्तानप्राप्तिमा पनि हुनसक्दैन।

हुनत शाक्य ब्राजिलका समर्थक हुन्। तरपनि, मेसीको खुट्टा नचल्दा उनी दुखी नै छन्। मेसीको खेलमा उनको क्लब हावी भएकै कारण अर्जेन्टिनी टोलीबाट उनले राम्रो खेल्न नसकेको विचार शाक्यको छ। ‘राम्रा खेलाडीले आपूmलाई प्रमाणित गर्न नसक्दा दुख त लाग्छ नै तर, उसलाई टोलीको पनि साथ भने हुनैपर्छ।’ 
उनलाई कुनै समय म्याराडोनाको खेलले पनि प्रभावित पारेको थियो। तर, ब्राजिलका जिको, डुंगा, रोबर्टो कार्लोस जस्ता खेलाडीले उनको मनमा छाप छाडेका छन्।
शाक्यलाई अहिलेको विश्व कप केही खल्लो जस्तो लागि रहेछ। इटाली, नेदरल्यान्ड जस्ता टोलीको अभावले विश्व कपको रौनक घटाएको उनको विचार छ। तर, आइसल्यान्ड, सेनेगल, बेल्जियम, मेक्सिको जस्ता टोलीको प्रदर्शनले उनलाई केही राहत पनि दिएकै छ। उनी बेल्जियमलाई सम्भावित विजेता समेत मान्छन्। उनको विचारमा अब फुटबलका ‘पावर हाउस’ हरूलाई चुनौति दिनसक्ने टोलीहरू देखा पर्दैछन्। झन्डै शताब्दियौंदेखि फुटबलमा राज गरिरहेका तिनै ‘पावर हाउस’ बीच विश्व कप ट्रफी घुमिरहेको छ। त्यसैले यसपाली बेल्जियमले विश्व कप जितेको खण्डमा समेत उनी खुशी नै हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.