|

काठमाडौं : विराटजंग शाही मनाङ मस्र्यांग्दिका लागि खेल्दा डिफेन्डरको भूमिकामा रहन्थ्ये तर , राष्ट्रिय टोलीमा उनी मिडफिल्डमा खेल्थ्ये। एउटै फुटबलरले खेलाडी जीवनमा दुई भूमिका निभाउन पाए। यसअर्थ र अन्य कतिपय कुरामा समेत उनी भाग्यमानी खेलाडीमा गनिन्छन्।

‘हैन, छैन। मैले गोल गर्न नसक्दा सन् १९८९ को विश्व कप छनोटमा सिंगापुरसँग हार्नु पर्‍यो। उमेस प्रधानको पासलाई मैले गोलमा परिणत गराउन सकेको भए नतिजा नै अर्को आउँथ्यो। उल्टै हामी हारेर फर्कियौं। त्यो खेलले सधैं मलाई चस्काइरहन्छ,’ शाही भन्छन्।

तर हो। कतिपय कुरामा उनी भाग्यमानी नै थिए। अधिकांश नेपालीले सन् १९८६ देखि विश्व कपको प्रत्यक्ष प्रसारण हेर्न पाए। उनले भने १९८२ देखि नै हेरे, त्यो पनि नेपालमै बसेर। भगवानभन्दा टेलिभिजन सेट भेटिन कठिन त्यो जमानामा उनकै छिमेकी एक मारवाडी व्यापारीले सन् १९८२ अगाडि नै टेलिभिजन सेट किनेका रहेछन्। ‘उनकै घरमा, एन्टेना घुमाउँदै हेरियो, इटालीले जितेको विश्व कप।’

शाही जर्मनीका कडा समर्थक हुन्। उनलाई विश्व कपमा जर्मनीभन्दा अर्को टोलीको नम पनि सुन्न मन लाग्दैन, ‘ब्लाइन्ड सपोर्टर’। जेसुकै होस्, उनी विश्व कप जित्न लायक जर्मनीभन्दा अर्को टोली छैन भन्ने अडानमा दृढ देखिछन्। मनमा त लाग्ला तर, मुखमा ल्याउँदैनन्। त्यसैले उनलाई पहिलो पटक फ्रेन्ज बेकनबरको खेलले तान्यो। अनि थोमस मुलरले पनि उनलाई आफ्नो समर्थक बनाए। दोस्रो विश्व युद्धताका जन्मिएका बेकनबरले पनि फुटबल करियरमा मिडफिल्ड र सेन्टर डिफेन्सबाट खेले। १ सय ३ अन्तर्राष्ट्रिय फुटबल खेल्दा उनले १४ गोल पनि गरे। इतिहासका केही महान फुटबलरमा उनको पनि नाम आउँछ नै। उनले खेलाडीका रुपमा जति सफलता पाए प्रशिक्षकका रुपमा पनि त्यसलाई दोहराए।

ती महान खेलाडीले सन् १९६६ मा विश्व कपको यात्रा सुरु गरेका थिए। आफ्नो पहिलो विश्व कप सहभागितामा तत्कालिन पश्चिम जर्मनीले उपविजेतामा चित्त बुझाउनु पर्‍यो। कहिल्यै अगाडि र पछाडि विश्व कप नजितेको इंग्ल्यान्डको भागमा त्यही एउटा विश्व कप पर्‍यो। १९७० को विश्व कपको दोस्रो चरणमा २–० ले हराउँदे जर्मनीले इंग्ल्यान्डसँग बदला त लियो तर सेमिफाइनलभन्दा अगाडि बढ्न सकेन। सेमिफाइनलमा उनको टोली इटालीसँग हारेको खेल अहिले पनि शताब्दिको उत्कृष्ट खेलमा गनिन्छ।

१९७४ मा आफ्नै मुलुकमा आयोजनामा भएको विश्व कपमा उनी कप्तान थिए। घरमै भएको प्रतियोगितामा विश्व कपको सुनौलो ट्रफी चुम्दै उनले आफूलाई महान खेलाडीको सूचीमा उभ्याए। हुनत उनकै कप्तानीमा तत्कालिन पश्चिम जर्मनीले सन् १९७२ को युरोपियन च्याम्पियनसिप पनि जितिसकेको नै थियो। बेकनबरले सन् १९८६ र १९९० मा भने जर्मनीलाई विश्व कपका लागि प्रशिक्षण दिए। उनको नेतृत्वमा पहिलो पटक दोस्रो भएको जर्मनी दोस्रो प्रयासमा पहिलो भयो। साथै ब्राजिलका मारियो जगालोसँगै उनी कप्तान र प्रशिक्षकका रुपमा विश्व कप जितेको सर्वोच्च कीर्तिमानको उचाइँमा पनि प्रवेस गरे। यद्यपि, जगालोले उनीपछि मात्र त्यो कीर्तिमान राखेका थिए। 

कुनैबेला शाहीलाई पनि आफू बेकनबर जस्तै खेलाडी बनौं भन्ने रहेछ। तर, त्यति उचाइँको खेलाडी नबनेपनि बेकनबर झैं उनले डिफेन्स र मिडफिल्डमा आफूलाई सधैं प्रमाणित गरे। प्रशिक्षक पनि बने नै।

शाहीका अर्का मनपर्ने खेलाडी त्यही जर्मनीका थोमस मुलर दक्षिण अफ्रिकामा आयोजित विश्व कपबाट सो प्रतियोगिता खेल्न थाले। उनी दक्षिण अफ्रिका जाँदा जर्मनी उपाधिको त दावेदार मानिएकै थियो तर, मुलरको खेलसँग जानकार थोरै मात्र थिए। अन्तिम १६ मा इंंग्ल्यान्डविरुद्धको एक तथा क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्धको दुई गोलले उनलाई रातारात स्टार बनायो। दुई वटा पहेंलो कार्ड खाएको कारण जर्मनीले स्पेनसँग हारेको सेमिफाइनलमा उनी खेल्न पाएनन् तरपनि कसैलाई द्विविधा थिएन, अर्को एउटा स्टारको जन्म भयो भन्ने बारे। सन् २०१० मा प्रतिभाशाली युवा खेलाडीका रुपमा उदाएका मुलरले त्यसपछि आफूलाई प्रमाणित गर्न कुनै कसर बाँकी राखेनन्।

विराटजंग शाही ति दुई बाहेक अहिले विश्व कपको मैदानमा रहेका अर्जेन्टिनाका डि मारियो तथा ब्राजिलका विलियम्ससँग प्रभावित छन्। साथै क्रिस्टियानो रोनाल्डो र लुकाकुको खेलले पनि उनलाई प्रभावित पारेको नै छ। अर्जेन्टिना लियोनल मेसीको मात्र भरमा रहन नहुने सुझाव पनि उनको छ। तर, उनलाई अमेरिकी महादेशका टोलीहरु भने मन पर्दैनन्। बरु उनलाई एसियाको दक्षिण कोरिया र अफ्रिकाको नाइजेरिया मनपर्छन्।

उनले रंगशालामा नै उपस्थित भएर विश्व कपका दुई खेल पनि हेरेका छन्। एन्फाका पूर्व कोषाध्यक्षले जापान र दक्षिण कोरियामा सन् २००२ मा संयुक्त आयोजित विश्व कपमा साविक विजेता फ्रान्सलाई सेनेगलले १–० ले हराएको खेल हेरे। उनी सेनेगलबाट समेत प्रभावित भए। २००६ मा त उनले आफ्नो प्रिय टोलीले खेलेको खेल नै हेर्न पाए, रंगशालामै बसेर। त्यो पनि, आयोजक जर्मनीले कोस्टारिकालाई ४–२ ले हराएको खेल। आफूलाई मन नपर्ने दक्षिण अमेरिकी टोलीलाई आफ्नो प्रिय टोलीले हराउँदा मनै फुरुङ भएको थियो, उनको।

‘तर, हेर्न त टेलिभिजन सेटमै रमाइलो,’ उनी रमाइलो पारामा थप्छन्, ‘ल ! ध्यान यता–उता भयो कि के भएको रहेछ भनेर पछि होटलमा आएर रिप्ले हेर्नुपर्ने।’
उनका अनुसार जर्मनी विपक्षी टोलीको खेल अनुसार खेल्छ। ‘जर्मनीले पहिलो गोल हान्यो भने त्यसलाई हराउन असम्भव नै छ। यो विश्व कप पनि उसकै हो।’ अरु कोही विजेता बन्न सक्दैन त ? बल्लतल्त नचाहँदा नचाहँदै उनी भन्छन्, ‘ब्राजिल, अर्जेन्टिना र बेल्जियमले सक्छन् कि।’ 

उनलाई अहिले प्रयोगमा ल्याइएको भिजुयल असिटेन्ट रेफ्री (भीएआर) प्रविधि मनै परेको छैन। ‘खेल अति प्राविधिक भयो। रोमान्चकता हराउँदै गयो। यस्तै भए त भोलि रेफ्री पनि किन चाहियो त ? खेलको स्पिरिट मर्न थाल्यो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.