|
फाइल फाेटाे

विराटनगर:  सरकार गठन भएको चार महिनापछि प्रदेश १ ले सरकार विस्तार र मन्त्रालयको बाँडफाँटको विषयमा छलफल सुरु गरेको छ। प्रदेशको एउटै मन्त्रालयलाई  चाप बढैको भन्दै संख्या बढाउन प्रदेश सरकार जुटेको हो।

बुधबार संचारकर्मीसँग कुरा गर्दै प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सरकार विस्तारका लागि आन्तरिक अभ्यास गरिरहेको बताएका हुन्। उनले मन्त्रालयको नाम र संख्यामा पुनःविचार गर्नुपर्ने आवश्यकता महसुस गरिएको बताए। ‘संघीय सरकारको ५/७ वटा मन्त्रालयले गर्ने काम प्रदेशमा एउटै मन्त्रालयबाट गर्नुपर्दा समस्या देखिएको छ,’ कार्कीले भने, ‘बजेट निर्माण र कार्यसम्पादनका क्रममा हामीले केही असहज हुने विषयमा आन्तरिक हिसावमा छलफल गरिरहेका छौं ।’

मन्त्रालय कसरी विभाजन गर्ने र कति संख्याको हुने भन्ने विषयमा छलफल भएको तर अहिले टुंगो नलागेको जवाफ कार्कीले दिए।  ‘कामलाई सहज ढंगले सम्पन्न गर्नका लागि मन्त्रालयको व्यवस्थापन कसरी गर्ने र नामको पुनःनिर्धारण गर्ने विषयमा पनि छलफल भएको छ’ उनले भने। 

मन्त्री कार्कीले प्रदेशको राजधानी र नामको विषयमा साउन महिना भित्रमा टुंगो लाग्ने बताएका छन्। ‘प्रदेशको राजधानीको विषय प्रदेशसभाले टुंग्याउने भएपनि सबै हिसावले उपयुक्त हुने ठाउँमा तोक्न प्रदेश सरकारले प्रस्ताव लान्छ,’ कार्कीले भने, ‘प्रदेशसभामा सरकारले प्रस्ताव छिट्टै सदनमा लैजान्छ, साउन महिनाभित्र प्रदेशको नाम र राजधानीको टुंगो लाग्छ।’

राजधानी जहाँ भएपनि प्रदेशका तीन निकाय प्रदेशसभा, न्यायपालिका र कार्यपालिका भने एकैठाउँमा रहने कार्कीको भनाई छ। केही सांसदहरुले इटहरीमा प्रदेशसभा र विराटनगरमा कार्यपालिका र न्यायपालिका राख्नुपर्ने बताइरहेको विषयमा मन्त्री कार्कीले यस्तो बताए।

‘छलफल विभिन्न ढंगले आएका छन्, प्रदेशका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वायत्त निकाय होइनन् यी संस्थाहरुलाई सुरक्षा व्यवस्थादेखि हरेक विषय मिलाउनु पर्छ,’ कार्कीले भने।  राजधानीसँग जोडिएका कतिपय सहरहरूमा सरकारका निर्णय कार्यान्वयन गर्ने इकाईको रुपमा कार्यालयहरु स्थापना गर्न सकिने कार्कीको भनाइ छ ।

प्रदेशको राजधानी र नाम सर्वसम्मतीले टुंग्याउने नभए प्रदेशसभाका ९० प्रतिशत सांसदको मतबाट पारित हुने उनको भनाइ थियो। राजधानी र नामको विषयमा सत्तापक्ष, प्रतिपक्षी, बाहिरी विभिन्न पक्षहरुसँग छलफल गरेर प्रस्तावको रुपमा लगिने कार्कीको भनाइ छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.