|

काठमाडौं : यसपालीको फिफा विश्वकप पनि अन्य आयोजनाभन्दा कम भएन, अकल्पनीय नतिजा पस्किएर समर्थक झस्काउने कार्यमा। विगतका विश्वकप झैँ यसपाली पनि अन्ततः स्तब्ध नतिजा आयो नै।

साविक विजेता जर्मनी पहिलो चरणबाटै घर फर्कियो। साविक विजेताले लगातार पहिलो चरणबाट घर फर्कनु परेको यो तेस्रो संयोग हो। सन् २०१० मा इटाली, २०१४ मा स्पेन र अहिले जर्मनी। विश्वकपको इतिहासमा जर्मनीले पहिलो चरण पार गर्न नसकेकै पनि यो पहिलो पटक हो।

विश्वकपकै इतिहासलाई पल्टाउने हो भने अहिलेसम्म ६ पटक साविक विजेता पहिलो चरणबाटै बाहिरिएका छन्। जसमा सन् १९५० मा इटाली, १९६६ मा ब्राजिल अनि २००२ मा फ्रान्सले यो बिर्सनलायक इतिहास लेखेका हुन्। विश्वकपको पछिल्ला ५ आयोजनामा भने २००२ को विजेता ब्राजिल मात्र यस्तो कालो इतिहास कोर्नबाट बचेको छ।

सधैँ युवा खेलाडीमाथि विश्वास गर्ने प्रशिक्षक जोकिम लोको रणनीति यसपाली गलत सावित भयो तर उनको यही रणनीतिले चार वर्षअघि जर्मनीलाई विश्व विजेता बनाएको थियो। 

विश्वकप जस्तो ठूलो मञ्चमा सफलता हात पार्न अनुभवको पनि आवश्यकता पर्छ भन्ने प्रमाण जर्मनीको हार भएको छ। पूर्णतया नयाँ खेलाडीमा विश्वास गरेका लोलाई छनोट चरणमा त्यही टोलीले सतप्रतिशत जित दिलाएर लगातार दोस्रो पटक विजेताको दावेदार बनाएको थियो तर रुसमा मेक्सिकोसँग पहिलो खेल नै हारेर जर्मनीले तीतो सुरुवात अंगाल्यो।

दोस्रो खेलमा स्विडेनलाई हराएर समर्थकमा आशा जगाएको जर्मनीले अन्तिम खेलमा दक्षिण कोरियासँग बराबरी मात्र गरेको भए पनि अन्तिम १६ मा स्थान बनाउन सक्थ्यो तर एउटाको दुर्भाग्य अनि अर्को सुखद क्षण, एसियाको सान बढाउँदै कोरियाले जर्मनीको सपनालाई चकनाचुर पार्‍यो। ‘यसपाली जर्मनीले खेल्नै सकेन। फिनिसिङ नै कमजोर देखियो, जबकी उनीहरू त्यसकै लागि परिचित थिए’, जर्मनीका कट्टर समर्थक नेपाली राष्ट्रिय टोलीका पूर्वमिडफिल्डर विराटजंग शाहीले दिक्क मान्दै भने। 

चार वर्षअघि बलियो फिनिसिङकै कारण सेमिफाइनलमा ब्राजिललाई ७–१ ले हराउने टोली अहिले निरिह देखियो। नेपाली टोलीका पूर्वडिफेन्डर धीरेन्द्र प्रधान पनि जर्मनीले सोचअनुसार खेल पस्कन नसकेको स्वीकार्छन्। ‘पावर गेम’ मन पराउने ती दुवै खेलाडी यो विश्वकप युरोप बाहिर नजाने कुरामा भने ढुक्क छन्। 
शाहीको नजरमा फ्रान्स अब दावेदारको रूपमा अगाडि आएको छ। तर, प्रधान भने इंग्ल्यान्डसँग ट्रफी जित्ने सम्भावना देख्छन्। 

‘अब नकआउट चरणदेखि टोलीहरूको खेल शैली परिवर्तन हुन्छन्, त्यसैले कसले जित्ला भनेर भनिहाल्छ कठिन छ । तर मेरो नजरमा इंग्ल्यान्ड बलियो बनेर आउन सक्छ,’ प्रधान भन्छन्।  तर, शाही भने जसरी हिजो जर्मनीभन्दा अर्को टोलीलाई विजेता हुन्छ भने भन्न रुचाउँदैन थिए आज उनको पक्ष फ्रान्सतिर ढल्केको छ। तर पनि, दुवै जना अमेरिकी टोलीहरूको खेलमा सुधार आएको हुनाले विश्वकप झनै रोमाञ्चक हुने विश्वासमा भने छन्।

समूह चरणको अन्तिम खेलसम्म आउँदा ब्राजिल र अर्जेन्टिनाले आफ्नो खेलमा व्यापक सुधार गरेका छन्। उनीहरूको खेल केही निखार आउने हो भने ति दुई टोली पनि ट्रफीको हकदार नै हुन्। उरुग्वेको खेल सुरुवातदेखि नै बलियो देखिएको छ। उता ‘डार्क हर्स’ का रूपमा क्रोयसिया पनि अगाडि बढी रहेको छ। युरोप कै बेल्जियम पनि अहिले उपाधिको दावेदारीमा छ।

‘विश्व कपको इतिहास हेर्ने हो भने पनि पावर हाउस नै नकआउट चरणमा बलिया बन्दै जान्छन् अनि उनीहरू नै विजेता बन्छन्’, प्रधान भन्छन्, ‘मलाई यसपाली स्पेनको खेलले पनि तानिरहेको छ।’

यो विश्व कपले अर्को चर्चालाई पनि जन्म दिएको छ । कमजोर बनिसकेको जर्मनीमा प्राण भर्न सफल प्रशिक्षक जोकिम लोको युग अब समाप्त भएको छ । तर, उनले विगतमा जर्मनीलाई जति सफलता दिलाए त्यसआधारमा उनले अहिले नै पद त्याग्नु पर्ला भन्न कठिन पनि छ। 

खेलाडीका रूपमा त्यति सफलता नपाएका लोले राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएनन्। सन् १९९४ मा जर्मन क्लब विन्टरथरको जुनियर टोली सम्हालेर प्रशिक्षण जीवन सुरु गरेका लोको अधिकांश समय युवा खेलाडी तयार पार्न नै बित्यो। त्यो पनि क्लबस्तरमा नै।

उनले स्विट्जरल्यान्ड, टर्कि र अस्ट्रियाका क्लबहरू पनि हेरे। सन् २००४ को युइएफए कपमा जर्मनीको कमजोर प्रदर्शनपछि रुडि भोलरको स्थानमा जर्गन क्लिंसम्यान प्रशिक्षक बने। क्लिंसम्यानले जोलाई सहायकका रुपमा टोलीमा समावेश गरे। क्लिंसम्यान र जो दुवै जना आक्राकम फुटबलमा विश्वास गर्ने भएकाले उनीहरूको जोडी पनि जम्यो। सन् २००५ को कन्फेडेरेसन कप तथा २००६ को विश्व कपमा उनले क्लिंसम्यानको सहायकका रूपमा कार्य गरे।

२००६ को विश्व कपपछि क्लिंसम्यानले जर्मनी टोलीसँग आबद्धता नलब्क्याउने निर्णय गरेसँगै लो मुख्य प्रशिक्षक बनाइए। एकपछि अर्को गर्दै युवा खेलाडीहरूलाई टोलीमा भित्र्याउदै गएका उनले सन् २०१४ जर्मनीलाई चौथो पटक विश्व विजेता बनाए। तर यसपाली उनको शैली र जादुले काम गरेन। उनीसँगै जर्मन टोली आँशु चुहाउँदै घर फर्किदैँ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.