|

विराटनगर : संघीय सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अख्तियार र अदालतले उपर सरकार संचालन गर्ने गरी काम गरिरहेको आरोप लगाए। नेपाल पत्रकार महासंघ मोरङले शनिबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बाँस्काेटाले संचार मन्त्रालयले सुरु गरेका १० वटा प्रोजेक्टको काम सुरु नहुँदै अख्तियारले फायल झिकाएको भन्दै असन्तुष्टि व्यक्त गरेकाे हुन्।

दोषी भए कानुनी कारबाही गर्न कसैलाई पनि छुट नहुने तर टेण्डर आव्हान नगरी कनै जो कसैले दिएको निवेदनको भरमा कामै रोकिने गरि काम अघि बढाउँदा उपरसरकार चलाए जस्तो देखिएको उनले बताए। ‘नेपाल टेलिभिजनलाई एचडी बनाउने प्रक्रिया पनि सुरु भएको छ। कम भइरहेकाे छ,’ बाँस्कोटाले भने, ‘तर, टेण्डर खुल्न पाएको छैन। अख्तियारले फायल तानेर लगेको छ। कसले ठेक्का पाउँछ भन्ने पनि थाहा छैन। कतिवटा ठेकेदारले निवेदन हाले केही थाहा छैन। फायल चाहिँ पहिल्यै लगिसक्यो।’

मन्त्री बाँस्कोटाले अदालतले पनि कतिपय विकास निर्माणका काममा असान्दर्भिक हस्तक्षेप गरेको संकेत गरे। ‘अदालत पनि कहाँ बाटो बनाउँने र कहाँ नबनाउने भनेर फैसला गर्छ। अख्तियार पनि व्यवसायीले फारम भरिसकेको छैन। पहिल्यै फायल लगिसक्छ। यो कस्तो तरिका हो? मलाई थाहा छैन,’ मन्त्री बाँस्काेटाले भने, ‘छानविन गर्न मज्जाले पाउँछ। गल्ती गरेकाे भए जेल-सजाय गर्नुपर्‍यो। मन्त्रीलाई पनि जेलमा कोच्नु पर्‍यो। कानुनले दिन्छ। तर कामै गर्न रोक्ने हाेइन। अख्तियारकाे अनुमति नलिइकन केही गर्न नपाउने ? अर्को उपर सरकार बन्ने कुरा चाहिँ चित्त बुझ्दो छैन।’ आफ्नो मन्त्रालयले सुरु गर्न लागेका १० वटा प्रोजेक्ट मध्ये १० वटैको फायल अख्तियारले लगेर काम अड्काएको उनको दाबी थियो। 

ठेक्का नपरेको सुरमा देशभक्त भएर उजुरी दिने र प्रचारबाजी गर्ने चलन रहेकाेमा उनले ठेक्का पर्नासाथ त्यही देशभक्त भएर घुस खुवाउन कुद्ने गरेको पनि बताए। ‘ठेक्का जसलाई पर्दैन त्यो देशभक्त। ठेक्का जसलाई पर्दैन। त्यो महान् सदाचारी, ठेक्का पर्‍यो भने घुस खुवाउन कहाँ कहाँ पुगिहाल्छ,’ मन्त्री बाँस्काेटाले भने। मन्त्री बाँस्कोटाले चिकित्सा क्षेत्रको विकृति विसंगति अन्त्य हुनेमा सरकार सचेत रहेको बताए।

कमजोरी देखिएको क्षेत्रमा सुधार गर्ने र राम्रो पक्षको संरक्षण गर्नेमा विश्वास दिलाए। उनले एक जनाले माग गर्दैमा सरकार उसको पछि नलाग्ने पनि बताए। ‘के-के माग लिएर एकजना सडकमा बस्यो उसैको कुरा सुन्दै हिंड्न सरकारलाई फुर्सद छैन,’ मन्त्री बाँस्काेटाले डाक्टर गोविन्द केसीको आन्दोलनलाई इंगित गर्दै भने, ‘सरकार जनताको कुरा सुन्छ। चिकित्सा क्षेत्रको नकारात्मक पक्षलाई सुधार गर्ने र राम्रा पक्षको संरक्षणमा लाग्छ।’

मन्त्री बाँस्काेटाले प्रतिपक्षीले लगाएको अधिनायकवादको आरोप मिथ्या भएको बताए। संचार माध्यमले पनि सुशासन, भ्रष्टाचार, तोकिएको क्षेत्रमा कर्मचारी गए नगएको विषयमा कलम चलाउनुपर्ने र भ्रम छर्ने काम गर्नु नहुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.