|

काठमाडौं : फिफा विश्व कप – २०१८ हरेक दिन रोमान्चता पस्कँदै छ। त्यति मात्र होइन, ‘बुढा बाघ’ हरुको दिनगन्ती समेत सुरु गर्दैछ अनि हरेक नतिजासँगै सुनामी पनि ल्याउँदै छ। हरेक मध्यरातको समाप्तिसँगै सहभागीको संख्या घट्दो त छ तर, दर्शकको हटहुटी बढ्दो छ। सम्भावित विजेताका रुपमा हेरिएका टोलीहरु एकपछि अर्को गर्दै घरको बाटो तताउँदै छन्। युवाले सजिएका टोलीहरु विजेताका रुपमा अगाडि देखा पर्दैछन्।

सोमबारको खेल सुरु हुनुभन्दा अगाडि यो विश्व कपमा अब मात्र ४ पूर्व विजेता मैदान छन्। जसमा ६८ वर्षदेखि उपाधि जित्न नसकेको उरुग्वेसमेत छ। त्यसपछि क्वार्टरफाइनलमा स्थान बनाइसकेको फ्रान्स र ५२ वर्षअघि एकमात्र उपाधि जित्ने इंग्ल्यान्ड पनि ढुकढुकी बढाउँदैछ, अन्तिम १६ को खेलको प्रतिक्षामा। अकल्पनीय नतिजाको बाढी आइरहेको यो विश्व कपमा अब सोमबार राति ५ पटकको विजेता ब्राजिल मेक्सिकोसँग पराजित भयो भने पनि कुनै अचम्म मान्न नपर्ने अवस्था घटनाक्रमहरुले देखाइरहेका छन्। उपाधि जित्छु भनेर रुस आएको २०१० को विजेता स्पेन आयोजकसँग हारेर घरको टिकट कटाउन बाध्य भयो। उता मंगलबार इंग्ल्यान्डले त बलियो प्रतिद्वन्द्वि कोलम्बियालाई पाखा लगाउनु पर्नेछ, हरुवा पूर्वविजेताहरुको पंक्तिमा नउभिने हो भने।

यो विश्व कपमा भाग लिएका टोलीमध्ये फिफा वरियताको पुछारमा रहेको रुसले स्पेनलाई हराएर क्वार्टरफाइनलमा स्थान बनाउँछ भन्नेमा शायदै रुसी समर्थक पनि विश्वस्त थिएनन् कि। तर, खोला उल्टो बग्यो। उपाधिमा दावी गर्ने पूर्व विजेता अन्तिम १६ बाटै घर फर्कियो भने सोभियत संघ विघटनपछि रुस पहिलो पटक क्वार्टरफाइनलसम्म पुग्यो। रुसका लागि आइतबार रातिको सफलता विश्व विजेता बनेभन्दा कम छैन। स्पेनको त्यो हारमा इतिहासले पनि साथ दिएको छ। विश्व कपको मैदानमा स्पेनले अहिलेसम्म आयोजकलाई हराउन नसकेको इतिहासले आइतबार पनि निरन्तरता पायो। उता अर्को खेलमा बलियो मध्यपंक्तिको धनी क्रोयसियाले बल्लतल्ल पेनाल्टिमा डेनमार्कलाई हराएपछि यो विश्व कप अप्रत्यासित नतिजाहरुको चाङ बन्ने छाँटकाँट देखिएको छ।

आइतबारको हारसँगै ३४ वर्षिय ‘बुढा बाघ’ आन्द्रेज इनिस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट समेत सन्यासको घोषणा गरे। यसले के प्रष्ट पार्छ भने अहिले मैदानमा हुकुम जमाइरहेका अधिकांश खेलाडीहरु अब मैदानका लागि बुढा बनिसकेका छन्। अबका दिनमा युवाहरुले विश्व फुटबलको मैदानमा राज गर्नेछन्। अब अर्को एउटा पुस्ताको अवसान हुँदैछ, यो विश्व कपपछि।

११ मे १९८४ मा जन्मिएका आन्द्रेज इनिस्टा लुजान हिजोआज जापानी क्लब भेसल कोबेको सेन्टर मिडफिल्ड सम्हाल्छन्। यद्यपि खेलको उचाइँमा हुँदा उनले बार्सिलोनामा ३ सिजन कप्तानी समेत गरे। बार्सिलोनाको युथ एकेडेमी ला मासियाका उत्पादन इनिस्टाले सन् २००२ मा मात्र १८ वर्षको हुँदा क्लबबाट खेल्न थालिसकेका थिए। उनले जीवनको अधिकांश समय एफसी बार्सिलोनामै बिताए।

खेलाडी जीवनमा ३३ उपाधि जितेका इनिस्टा त्यस्तो सफलताबाट सजिने केही स्पेनी खेलाडी मध्ये एक हुन्। २००६ मा स्पेनी राष्ट्रिय टोलीको सदस्य बन्नु अगाडि उनले यु–१६, यु–१९ र यु–२१ टोलीबाट पनि खेले। युरो–२००८ मा सफलता पाउँदा टोलीका महत्वपूर्ण खेलाडीमा दरिएका इनिस्टाले सन् २०१० मा स्पेन पहिलो पटक विश्व विजेता बन्दा नेदरल्यान्डविरुद्धको फाइनलमा म्यान अफ म्याच हुने मौका पाए। सो मुलुकले फेरी युरो–२०१२ मा सफलता पाउँदा त उनी प्लेयर अफ द टुर्नामेन्ट नै बने। आफ्नो समयका प्रतिभाशाली खेलाडीका रुपमा परिचय बनाएका इनिस्टालाई इतिहासकै उत्कृष्ट मिडफिल्डर मध्ये एक मानिन्छ।

त्यही इनिस्टा अहिले बुढो बनेका छन्, फिफा विश्व कप–२०१८ मा सहभागी टोलीका युवा खेलाडी माझ। जसले, यो विश्व कपलाई रन्काएका छन्, रोमान्चक बनाएका छन्, हरेक खेलको पारो बढाएका छन्। यसअघि लियोनल मेसी र क्रिस्टिायानो रोनाल्डोले जसरी आपूmलाई प्रमाणित गर्न सकेनन्, हो त्यही श्रेणीमा उभिएका छन्, इनिस्टा पनि। हुनत स्पेनलाई हराएको रुस पनि पाका र युवा खेलाडीहरुको मिश्रण हो। रुसको २३ सदस्यीय टोली ६ जना तथा स्पेनमा ७ जना मात्र खेलाडी ३० वर्षमाथि का छन्।

तर, रुसको तुलनामा स्पेन प्रायजसो पाका खेलाडी कै भरमा यो विश्व कपको मैदान उत्रिएको थियो। मैदानमा अब ‘बुढा बाघ’ को दिन गयो भन्ने प्रमाण हरेक दिन पस्कँदै गएको विश्व कपले नतिजामा पनि त्यही शैलीले सुनामी ल्याइरहेको छ। अब हुने खेलमा कसले कसको शिकार गर्छ भन्न गाह्रो हुँदैछ। मै हुँ भन्ने फुटबल पंडितहरुका भनाइ गलत सावित हुँदैछन्। अनि, परम्परागतरुपमा विश्व कप ट्रफीमा राज गरिहरेका टोलीहरु तासको महल झैं एकपछि अर्को गर्दै ढल्दैछन्। ‘पावर हाउस’ मानिएका टोलीप्रति क्रमसः आश घट्दो छ। पराम्परागत फुटबल रुचाउने समर्थकको आशालाई जिवित राख्ने जिम्मेवारी अब ब्राजिलको काँधमा आएको छ। त्यसमा उरुगवेले पनि केही भरथेग गरेकै छ। तर, ‘पावर गेम’ का शौकिनहरुका लागि युरोपका टोलीहरु ‘कोभन्दा को कम’ भनेर पाखुरा सुर्कदैं रुसमा हाजिर जनाइरहेका छन्।

अब यो विश्व कप कसले जित्ला ? सहजै भन्न कठिन नै छ। तर, एउटा कुरा पक्का छ। युवा प्रतिभाले भरिएका टोली नै यस पटक त्यो सुनौलो ट्रफीको हकदार बन्नेछ। अनि यसपटक पनि युरोपबाट ट्रफी बाहिर नजाला की भन्ने सम्भावना पनि बढ्दो छ। ५ पटकको विश्व विजेता ब्राजिलले समेत अहिलेसम्म युरोपेली भूमिमा विश्व कप ट्रफी चुम्न नसकेको इतिहासमा पूर्णविराम लगाउन यसपाली पनि कठिन नै होला जस्तो छ। खेल शैलीका आधारमा अहिले दक्षिण अमेरिकी टोलीहरुभन्दा युरोपेली टोलीहरु निकै छरिता खेल कौसलले सजिएका छन्। युरोपबाट ट्रफी नबाहिरिने सम्भावनालाई उनीहरुको खेलशैलीले बलियो आधार दिएको छ। अब भन्न यति मात्र सकिन्छ, हरेक रात थप एक सुनामी आउने पक्का छ। त्यो सुनामीमा को बच्छ, को बग्छ, उसकै क्षमतामा भर पर्छ। तर, पूर्व विश्व विजेता मध्ये अहिले उरुग्वे र ब्राजिल नै यो सुनामीका आगामी शिकार हुने सम्भावना भने बलियो छ। यस्तै हुनेछ, यो विश्व कपको रोमान्चकता।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.