४०० को उपचार गराउँदा घट्यो सात हजार रुपैयाँ

|

भद्रपुर (झापा) स्वास्थ्य उपचारमा आम नागरिकको सर्वसुलभ पहुँच पुग्ने उद्देश्यले नेपाल सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रममा बिरामी ठगिन थालेका छन्। सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत प्रदेश १ को झापा जिल्लामा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रममा अन्तर्गत उपचार गराउँदा कति रकम खर्च भयो भन्ने सेवाग्राहीले थाहा नपाउँदा ठगिएका छन्।

स्वास्थ्य बिमा बोर्डले तोकेका स्वास्थ्य संस्थाअन्तर्गतका अस्पताल र स्वास्थ्य चौकीमा बिमा परिचयपत्रसहित बिरामीहरु निःशुल्क उपचार सेवा लिन जाने गरेका छन्। उनीहरुलाई परिचयपत्रमा लेखिएको सदस्यता नम्बरको आधारमा सम्बन्धित स्वास्थ्य संस्थाले उपचार गराउँदै आएका छन्। तर, उनीहरुले उक्त संस्थाबाट उपचारमा कति रकम खर्च भयो? कति रकम बराबरको औषधि खरिद गरियो? भन्ने जानकारी पाउँदैन। जसले गर्दा स्वास्थ्य बिमाका सदस्य ठगिँदै आएका छन्।

मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार गराउन गएका भद्रपुर नगरपालिका–६ का ३७ वर्षीय रोशन केवट ठगिएका छन्। उनको उपचारमा लागेको रकमभन्दा बढी रकम बिमा खाताबाट घटेको छ।

परिवारको पाँच सदस्यको स्वास्थ्य बिमा गराएका केवटले यसअघि पनि मेची अस्पतालमै उपचार गराउँदै आएका थिए। बिमा सदस्यता नम्बर ०९४४६१५४४ लिएर उनी काटिएको हातको थप उपचारका लागि सोमबार मेची अस्पताल पुगे। यसअघि पनि उपचार गराएका उनको परिवारको बिमा खातामा २२ हजार २५० रुपैयाँ बाँकी थियो। सोही रकमको आधारमा उनले अस्पतालमा उपचार गराएका थिए।

पछिल्लो पटक उपचार गराउँदा अस्पतालको पुर्जामा ओपीडी शुल्क २०० रुपैयाँ र औषधि शुल्क २३० रुपैयाँ गरी जम्मा ४३० रुपैयाँ खर्च भएको उल्लेख छ। अस्पतालको फार्मेसीले उनको बिमा खातामा बाँकी रकम १४ हजार ८८८ रुपैयाँ रहेको पुर्जामा लेखिदिए। यसअघि असार ५ मा उपचार गरेपछि २२ हजार २५० रुपैयाँ रहेको रकममा सोमबारको उपचार शुल्क घटाउँदा ४३० रुपैयाँ घटाउँदा २१ हजार ८२० रुपैयाँ हुने भए पनि उनको पुर्जामा १४ हजार ८८८ रुपैयाँ मात्र रहेको लेखियो। यसरी बिमा रकम यति ठूलो अंकमा घटेको देख्दा छक्क परेको केवटले बताए। उनले भने, ‘अस्पतालमा उपचार र औषधिमा गरी ४३० रुपैयाँको खर्च भएको छ, २२ हजार २५० बाट ४३० घट्नु पर्नेमा सात हजार ३६२ रुपैयाँ घटेको भनी पुर्जामा लेखिएको छ।’

अस्पतालकै लापरबाहीले आफू ठगिएको उनले बताए। यस विषयमा अस्पताल प्रशासनसँग बुझ्दा १६ हजार ९१९ रुपैयाँ बिमा रकम बाँकी रहेको जानकारी दिएको उनले बताए। ‘एकै दिन फरक–फरक रकम बिमा खातामा रहेको अस्पतालले भन्छ,’ उनले भने, ‘यो कसको कमजोरी हो? अस्पताल फार्मेसी, कर्मचारी कि अस्पताल प्रशासनको?, यसरी जथाभावी रकम घटाउँदा सरकारले तोकेको ५० हजार उपचार नगराइकन सकिने रहेछ।’

स्वास्थ्य बिमा बोर्ड प्रदेश १ का इञ्चार्ज तुलसी पोखरेलका अनुसार अस्पताल प्रशासन र बिरामीबीचकै समस्याले यस्तो हुन सक्ने बताउँछन्। ‘बिरामीले बिमा कार्डको आधारमा खर्च गरिएको उपचार र औषधिहरु अस्पतालका कर्मचारीले कम्प्युटरमा गलत विवरण दाखिला गर्दा कहिले काहीँ यस्तो समस्या आउँछ’, उनले भने, ‘मेची अस्पतालले ढिलो विवरण दाखिला गर्दा बिरामीहरु समस्यामा परेको हुन सक्छन्।’ उनका अनुसार पीडितले अहिलेसम्म खर्च गरेको विवरण बिमा बोर्डको आईटी विभागमा हेरेपछि मात्र उनी ठगीमा परेका हुन् वा होइनन भन्ने थाहा हुने बताए।

दिँदैनन् सक्कल पुर्जा 

मेची अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामी उपचारका लागि दैनिक जान्छन्। बिरामीले ओपीडी र आकस्मिक सेवा कक्षमा स्वास्थ्य परीक्षण गरी औषधि लिने गरेका छन्। ती बिरामीहरुलाई अस्पताल प्रशासनले चिकित्कसले लेखिदिएको सक्कल पुर्जा आफैंले राखेर कार्बन भएको दुई वटा पुर्जा मात्र बिरामीलाई दिने गरेका छन्। चिकित्सकले जाँच र औषधिसहित लेखिएको कुरा कार्बन पेपरमा केही पनि बुझिँदैन। जसले गर्दा उपचार गराउँदा कति रकम खर्च भयो भन्ने बिरामीहरुले थाहा पाउँदैनन्।

बिरामीको सक्कल पुर्जामा स्वास्थ्य बिमा बोर्डको स्टिकर टाँसिएको हुन्छ। कुनै पनि अस्पतालमा उपचार गराउन जाँदा चिकित्सकले लेखेको सक्कल पुर्जा नै दिने चलन छ। तर, स्वास्थ्य बिमा गरेका बिरामीको सक्कल पुर्जा मेची अस्पतालले दिने गरेका छैन। 

स्वास्थ्य बिमा बोर्ड प्रदेश १ का इञ्चार्ज तुलसी पोखरेलका अनुसार सक्कल पुर्जाको फोटो खिचेर पठाउन पर्ने हुन्छ। त्यसो नगरे बिमा रकम स्वीकृत हुँदैन। अस्पतालले किन सक्कल पुर्जा नदिएकोबारे आफूलाई थाहा नभएको उनले बताए। यसबारे मेची अञ्चल अस्पतालका मेसु डा. पिताम्बर ठाकुरका अनुसार बिमा बोर्डले सक्कल पुर्जा देखाउनु भनेकाले बिरामीसँग सक्कल पुर्जा नै लिएको बताउँछन्।

प्रविधि नहुँदा समस्या

स्वास्थ्य बिमा बोर्डले लागु गरेको यस कार्यक्रमले बिरामीलाई फाइदा पुगेको छ। तर, सेवा व्यवस्थित नहुँदा सेवाग्राही मर्कामा परेका छन्। सेवाग्राहीले उपचारको सम्पूर्ण विवरण पाउन सकेका छैनन्। कति खर्च भयो र कति रकम बाँकी छ भन्ने एकमुष्ठ जानकारी मात्र पाउँछन्। त्यो जानकारी पाउन पनि चार पाँच दिन पर्खिनु पर्छ।

स्वास्थ्य बिमा बोर्ड प्रदेश १ का इञ्चार्ज पोखरेलका अनुसार बिमा गरेका सेवाग्राहीको सम्पूर्ण विवरण बुझ्न केन्द्रीय कार्यालयसँग नै बुझ्नुपर्ने अवस्था छ। ‘यहाँ हामीलाई सम्पूर्ण विवरण हेर्न अधिकार दिएको छैन, यसका लागि केन्द्रिय कार्यालयको आईटी विभागसँग सहकार्य गर्नुपर्छ,’ उनले भने, ‘यहाँ जम्मा कति रकम बाँकी छ, त्यही मात्र हेर्ने अधिकार दिएको छ।’ जिल्लागत वा प्रदेशस्तरमै बिरामीको सम्पूर्ण विवरण हेर्न प्रविधि जडान भएको भए यस्ता किसिमका समस्या समाधान गर्न सहज हुने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.