|

डोटी : तेस्रो चौमासिकको तलव नपाएको भन्दै सायल गाउँपालिकामा संचालित विद्यालयका शिक्षकहरूले पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। तलवको माग गर्दै सायल गाउँपालिका शिक्षक महासंघले गाउँपालिकाभित्र संचालनमा रहेका ३१ वटा सामुदायिक विद्यालयको पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएको हो।

शिक्षकले तेस्रो चौमासिक (चैत्र–असार) तलव नपाएको भन्दै विद्यालयका साथै गाउँपालिकाको कार्यालयमा समेत तालाबन्दी गरेको सायल गाउँपालिका शिक्षक महासंघका सचिव धर्मराज जोशीले बताए।  सचिव जोशीले भने ‘हामीले तलव समय मै पाउनु पर्थ्यो। बिदा हुने समय हुन लाग्दा पनि तलव दिएन। त्यसैले बन्द गरेका हौँ।’ 

शिक्षकले नै विद्यालय बन्द गरेपछि पठनपाठन प्रभावित भएको छ। यथासिग्र तलव पाउनु पर्ने माग गर्दै शिक्षक गाउँपालिकाको कार्यालयमा धर्नामा बसेका छन्। शिक्षक नै आन्दोलनमा उत्रिएपछि दुर्इ दिनदेखि यहाँका विद्यालयको पठनपाठन ठप्प छ। तेस्रो चौमासिक तलव नपाएको भन्दै असार महिना नसकिदै शिक्षकले आन्दोलन गरेका हुन्।

गाउँपालिकामा वित्तीय सामानीकरणतर्फको रकम कम आएका कारण शिक्षकलाई तलवभत्ता खुवाउन नसकिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए। अध्यक्ष डुम्रेलले भने ‘संघिय तथा स्थानीय विकास मन्त्रालयबाट नै वित्तीय सामानीकरणतर्फको रकम कम आएका कारण तलव खुवाउन समस्या भयो, हामीले रकम माग गरेका छौं। तर रकम आइपुग्न केही समय लाग्ने छ।’

शिक्षकले नै विद्यालय बन्द गर्नु राम्रो कार्य नभएको ओम आधारभूत विद्यालयका अध्यक्ष केशवराज उपाध्यायले बताए। उपाध्यायले भने ‘पारिश्रमिकको सवाल एउटा होला तर शिक्षकले नै विद्यालय बन्द गर्ने हो भने विद्यार्थीले कस्तो शिक्षा लिन्छन, विद्यालय बन्द गर्नुले राम्रो सन्देश जाँदैन।’  शिक्षकले विद्यालय बन्द गरेपछि अभिभावकले रुष्टता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.