|

जुम्ला : डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्नको लागि नेपाल चिकित्सक संघको एक टोली शनिबार जुम्लामा आएको छ। अनशनरत डा केसीको स्वास्थ्य बिग्रदै गएको भन्दै स्वास्थ्यकर्मीहरु शुक्रबारदेखि आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डाक्टर ठण्डी पौडेलले बताए।

हातमा कालो पट्टी बाँधेर शुक्रबारदेखि काम गर्न सुरु गरेकोले ७२ घण्टा भित्र  सरकारले डाक्टर केसीको मागलाई सम्बोधन नगरे सडकमा उत्रने संघले चेतावनी दिएको छ। नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष पौडेल र कोषाध्यक्ष डाक्टर प्रकाश बुढाथोकी जुम्लामा आएका हुन्।

शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनीहरूले डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको तर डा केसी काठमाडौं जान नमानेकाले समस्या झन बल्झिन सक्ने बताए।

डा केसीले सरकारले आफ्ना माग पूरा नगरे अन्तिम श्वास रहुञ्जेल अनशन जारी राख्ने बताएका छन्। आफ्नो अनशन कर्णालीमै समाप्त हुने पनि डा गोविन्द केसीको अडान छ।

कालिकोटका  जनप्रतिनिधिले पनि डा केसीको मागलाई समर्थन गरेर अगाडि बढ्ने बताएका छन्। शनिबार उनको स्वास्थ्यको विषयमा जानकारी लिन जुम्ला आएका कालिकोटका स्थानीय तहका युवा, शिक्षक, स्वास्थ्यकर्मी, महिला तथा नागरिक समाजका अगुवाहरूले आन्दोलनमा समर्थन गरेर एक्यबद्धता जनाएको तिलागुफा गाउँपालिका-५ का अध्यक्ष टीकाराम न्यौपानेले बताए । डा केसीको जीवनमा तल माथी केही भएमा आन्दोलनलाई अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने उनले जिकिर गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.