|

काठमाडौं : सोचको सीमाभन्दा परको रोमान्चकता अनि कौतुहलताले छल्किएको फिफा विश्व कप–२०१८ समाप्तितिर लम्कदैं छ। अब मात्र लगातार दुई जित हात पार्नेले ४ वर्षसम्म विश्व विजेताको रुपमा विश्व फुटबलमा राज गर्ने छ। अनि सन् १९७१ मा इटालीका सिल्भियो गज्जानिगाको हातबाट निर्मित सुनको ट्रफीलाई हृदयदेखि चुम्ने हक पाउने छ।

यसपाली सेमिफाइनलमा पुगेका चार मध्ये मात्र दुई टोली कुनै बेला विश्व विजेता बनेका थिए। हुनत २८ वर्षपछि सेमिफाइनलमा पुगेको इंग्ल्यान्डले सन् १९६६ मा चुमेको ट्रफी अहिले अस्तित्वमा रहेको ट्रफीसमेत थिएन। सन् १९७० मा ब्राजिलले तीन पटक विश्व कप जितेर पचाएको जुलस् रिमेट ट्रफीलाई ब्राजिलअघि अन्तिम पटक जितेको थियो, इंग्ल्यान्डले। चमकदार सुनको कर्तमान ट्रफी चुम्ने इंग्ल्यान्डको सपना अहिले पनि चाहनाको गर्भमा नै छ। अहिले सेमिफाइनलमा पुगेको अर्को विश्व विजेता फ्रान्सले पनि त्यो ट्रफीमा हक जमाउन नपाएको २० वर्ष भइसक्यो। फ्रान्सलाई यसपाली विश्व विजेता बनाउनसक्ने प्रमुख खेलाडी मानिएका एम्बापे त आफ्नो मुलुकको त्यो सफलताका बेला आमाको गर्भमा थिए। फ्रान्स विश्व विजेता बनेको पुग–नपुग ६ महिनापछि मात्रै उनी जन्मिएका हुन्।

४ वर्षअघि क्वार्टरफाइनलको यात्रा तय गरेको बेल्जियमको विश्व कपमा सबैभन्दा ठूलो सफलता भनेको सन् १९८६ मा चौथो स्थान ओगट्नु नै थियो। तत्कालिन युगोस्लाभियासँग छुट्टीएर स्वतन्त्र मुलुकको हैसियत कमाएपछि क्रोयसियाले विश्व कपमा आफ्नो पहिलो सहभागितालाई सम्झनलायक बनायो। सन् १९९८ मा पहिलो पटक स्वतन्त्र राष्ट्रको हैसियतमा विश्व कप खेल्दा नै क्रोयसियाले तेस्रो स्थान हासिल गरेर सनसनी मचाएको थियो। त्यसपछि सन् २०१० बाहेक हरेक आयोजनामा सहभागिता जनाएको क्रोयसियाले पहिलो सहभागिता कमाएको सफलता फेरी कहिल्यै दोहराउन सकेन।

विश्व कपमा सधैं राज गरेका ब्राजिल, अर्जेन्टिना वा जर्मनीमध्ये कुनै एक टोलीको उपस्थितिबीना हुन लागेको विश्व कपका सेमिफाइनल इतिहासमा अहिले नै पहिलो पटक हो। यसले विश्व फुटबलका महाशक्तिहरुको चुरीफुरी घटाएकै छ। साथै विश्व फुटबलमा नयाँ महाशक्तिहरुको उदयको संकेत पनि गरेको छ। किनकी अहिले सेमिफाइलमा २१ औं शताब्दिमा विश्व कप चुमेका कुनै पनि टोली सेमिफाइनलसम्म पुग्न सकेनन्। यति मात्र होइन सन् २००६ मा फ्रान्स उपविजेता बनेको अपवाद बाहेक अहिले सेमिफाइनलमा पुगेका अन्य टोलीहरुले यही २१ औं शताब्दिमा सेमिफाइनलसम्मको यात्रा पनि तय गर्न सकेका थिएनन्। यसर्थ अहिले नितान्त नौला टोलीहरु सेमिफाइनल भिडन्तका लागि तयार बनेका छन्।

यो विश्व कपले आपैंmलाई शक्तिशाली मान्ने कतिपय टोलीहरुलाई रुससम्म आउने मौका समेत दिएन। तीन पटकको विश्व विजेता इटाली र विश्व कपमा सधैं दमदार उपस्थिति जनाउने नेदरल्यान्डको यात्रा छनोट चरण मै टुंगियो। अनि ४ वर्षअघिको विजेता जर्मनी पहिलो चरणबाटै घर फर्कियो। फेरी एक पटक विश्व कप जित्ने लक्ष्य बोकेर रुस आएको अर्जेन्टिना टोलीको संरचना मिलाउँदा मिलाउँदै अन्तिम १६ बाटै घर फर्कियो भने कीर्तिमान छैटौं पटक विश्व विजेता बन्ने सपना साँचेको ब्राजिलको यात्रा पनि क्वार्टरफाइनलसम्म मात्रै रह्यो। बरु सबैले कमजोर आँकेको आयोजक रुस भने क्वार्टरफाइनलसम्म पुग्यो।

उता ससक्त आक्रमण अनि रक्षापंक्तिबाट सजिएर विश्व फुटबलमा फेरी उपस्थिति जनाउने योजना बुनेको उरुग्वेको योजना पनि क्वार्टरफाइनल मै तुहियो। तर, ठूला सपना नबुनेका मुलुकहरु अहिले सेमिफाइनलमा पुगेका छन्। साथै यो विश्व कप एसियाली मुलुकको प्रदर्शन पनि गर्व गर्न लायक रह्यो। बरु अफ्रिकी मुलुकहरुले छवि अनुरुप खेल देखाउन सकेनन्। तरपनि, यो विश्व कपमा दर्शकले हरेक खेलमा सोचभन्दा फरक रोमान्चकता भेट्टाए।

जसले विश्व कपमा दर्शकहरुको मष्तिश्कमा सधैं झन्झनाहट ल्याइरह्यो, मनलाई तरंगित पारिरह्यो। यो विश्व कप समाप्त नहुँदासम्म यस्ता रोमान्चकताले मन र मष्तिश्क तरंगित भइरहने छन्। अहिलेसम्मको खेलले पनि यही भन्छ। 

यो विश्व कपले फुटबलका महाशक्तिहरुको मात्र होइन, आफूलाई महान भनाउन चाहने खेलाडीहरुको सेखी पनि झार्‍यो नै। लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र नेमार जस्ता खेलाडी यो विश्व कपमा असफल भए। गोल हान्नुलाई मात्र सफलताको मापदण्ड मानिने हो भने रोनाल्डोको भागमा यो विश्व कपमा ४ गोल त पर्‍यो तर, उनको टोलीको यात्रा अन्तिम १६ मै टुंगियो। मेसी र नेमार त यो विश्व कपका असफल मध्ये एक खेलाडी बने। विश्व कप ट्रफी चुमेर महान फुटबलर पेले र डियगो म्याराडोनाको समकक्षमा उभिने उनीहरुको सपनामा पनि तुषारापात भयो नै। तर, इंग्ल्यान्डका कप्तान हेरी केन र फ्रान्सका युवा स्ट्राइकर एम्बापेले आफूलाई प्रमाणित गरे। केन त ६ गोलसहित यो विश्व कपको उच्च गोलकर्ता बनिरहेका छन्। सम्भवत गोल्डेन बुट र गोल्डेन बलमा उनको दावेदारी बलियो बन्दै गइरहेको पनि छ।

यो विश्व कपले युरोपमा भएको आयोजनामा ट्रफी बाहिरी महादेशले जित्न सक्दैन भन्ने मिथकमा प्राण भर्‍यो। समग्रमा भन्ने हो भने यो विश्व कप विश्व फुटबलमा महाशक्ति कहलिएका मुलुकका लागि सुनामी बनेर आयो। अनि ती राष्ट्रको सान, मान र चुरीफुरी तितर–बितर बनाउन एउटै लहर पर्याप्त रह्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.