|

दैलेख : सदरमुकास्थित नमुना वस्ती पहिरोको जोखिममा रहेको छ। वस्तीको फेदको भाग मध्ये पहाडीे लोगमार्गले बाटो फराकिलो बनाउनका लागि कटान गरेपछि उक्त वस्ती पहिरोको जोखिममा रहेको हो।

तत्कालीन द्वन्द्वकालमा विस्थापित भएर दैलेख सदरमुकाम आएका बादी समुदायलाई उक्त स्थानमा राखिएको थियो। वर्षा सुरु हुँदा साथ नमुना वस्ती बासी रातभरि सुत्न नपाउने गरेको नमुना वस्तीकी पवा बादीले बताइन्। अघिल्लो वर्ष वस्तीमा पहिरो गएर एकै परिवारका तीनजनाको मृत्यु भएको थियो। अघिल्लो वर्ष पहिरो गएर तीन जनाको मृत्यु भएपछि त्यहाँ बस्ने अन्य घरपरिवार समेत वर्षातको समयमा नसुतेरै बस्ने गरेको बादी समुदायका महिलाहरूले बताएका छन्।

नारायण नगरपालिका छ गणेशटोलसँग जोडिएको नमुना वस्तीमा बादी समुदायका ६५ वटा घर रहेका छन्। नाच्दै गाउँदै माग्दै हिड्ने र मादल बनाउँदै हिड्ने बादी समुदायको मुख्य पेशा द्वन्द्वकालमा संकटमा परेको थियोे। नौमुले, बाँसी , वडालम्जी सल्लेरी, द्धारी र बालुवाटार लगायतका स्थानबाट उनीहरू दैलेखमा विस्थापित भएर आएका हुन्। दैलेख सदरमुकाममा बस्दै आएका बादी समुदायको मुख्य पेशा भनेको सामान लोड/अनलोड गरेर जीवीकोपार्जन गर्दै आएका छन्।सदरमुकाममा सामान लिएर नेपालगञ्ज र सुर्खेतबाट गाडी नआएका दिन उनीहरूलाई खाना के खाने भन्ने चिन्ताले पिरोल्ने गर्दछ। वस्तीकी अगुवा पवाले भनिन्, 'स्थानीय सरकारले आफूलाई वस्ती स्थानन्तरणको कुरा गरे पनि व्यवहारमा गरेन।'  

निर्वाचनको बेला बिभिन्न दलका नेता आउने र आश्वासन मात्र दिने गरेकाेप्रति आक्रोशित हुँदै उनले भनिन्, 'हाम्रा लागि सकैले केही गरेन।' नारायण नगरपालिका १ का अध्यक्ष तीर्थ नारायण श्रेष्ठले बादी समुदायको वस्ती स्थान्तरणका लागि सार्वजनिक जग्गा नभएको बताए। उनले स्थानीय तहले गर्ने सक्ने व्यवस्थाका लागि नगरपालिका र वडा कार्यालय तयार रहेको पनि बताए। 

नगरपालिकाले तत्काल पहिरोको रोकथामका लागि ग्याभिन जाली दिने व्यवस्था मिलाउने प्रयास गरेको श्रेष्ठले बताए। तत्कालीन द्वन्द्वको समयमा सदरमुकाम आएका बादी समुदायको आवश्यक पहिचान गरी उनीहरूलाई  सुकुम्बासी  भए नभएको पहिचान गरी जग्गा व्यवस्थापन गर्न केन्द्र सरकार र प्रदेश सरकारसँग सिफारिस गर्ने श्रेष्ठले बताए।    
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.