|

जुम्ला : डाक्टर  गोबिन्द  केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। डा केसीले अनशन थालेको आज १० दिन पुरा भइसकेको छ। ५ दिन असुरक्षित कवर्डहलमा अनशन गरेका डा केसीलाई गत २० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो।

उपचारमा संलग्न डा प्रवीणकुमार गीरीले डा केसीको स्वास्थ्य समस्या अत्यन्तै जोखिम अवस्थामा पुगिसकेको बताएका छन्।

केसीको रगतमा अक्सिजनको मात्रा कम देखिएको र सेता रक्तकोषिका घट्दो क्रममा रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका हुन् । उनलाई जुनसुकै वेला गम्भीर संक्रमण हुन सक्ने खतरा रहेको उनीहरूको भनाइ छ । अहिले केसीको उपचारमा डा प्रवीणकुमार गिरी, डा धीरज गुरुङ र डा सिद्धार्थ खाती खटिएका छन् ।

डा गिरीका अनुसार शारीरिक कमजोरीका कारण केसीको शरीरका मासु बाउँडिने, जिउ दुख्ने, मुटुको चाल स्थिर नहुने, पिसाब कम हुनेजस्ता समस्या बढेका छन् । उनको रक्तचाप घटिरहेको तथा पिसाबमा क्रियोटिनाइन बढिरहेको गिरीले बताए । उनलाई स्लाइन र अक्सिजन नियमित दिइएको छ ।

नेपाल चिकित्सक संघ केन्द्रीय समितिले खटाएका दुई विशेषज्ञ चिकित्सकले केसीलाई भेटेका छन् । डा ढुण्डीराज पौडेल र डा। प्रकाश बुढाथोकीले स्वास्थ्य अवस्था जटिल बनेकाले जीवनरक्षाका लागि तत्काल कुनै कदम चाल्न सरकारलाई सुझाब दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.