|

विश्वकप फुटबलअन्तर्गत दोस्रो सेमिफाइनलमा आज क्रोएसिया इतिहासकै कठिन परीक्षामा हुनेछ। पहिलोपटक इतिहास बनाउने ध्याउन्नमा रहेको क्रोएसियाले दोस्रोपटक उपाधिको खोजीमा रहेको इंग्ल्यान्डलाई पाखा लगाउन ठूलै मिहिनेत गर्ने छ।

प्रतियोगितामा इंग्ल्यान्ड र क्रोएसिया दुवै अनपेक्षित टिमका रूपमा सेमिफाइनल पुगे तर अब दुवै अपेक्षित रूपमा दाबेदार बनेका छन्। क्रोएसिया १९९८ पछि पहिलोपटक सेमिफाइनलमा पुग्न सफल भएको हो भने ग्यारेथ साउथगेटको इंग्ल्यान्ड पनि १९९० पछि विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको हो। दुवैका लागि सेमिफाइनल अनुभव दशकौंपछि भएकाले कुनै एक टिमका लागि इतिहास बन्ने पक्का छ।

क्रोएसिया र इंग्ल्यान्ड दुवैलाई आफ्ना स्टार खेलाडीमा बढी विश्वास छ। क्रोएसियाका सेन्ट्रल मिडफिल्डरहरू लुका मोड्रिक तथा इभान राकिटिकको प्रदर्शन महत्वपूर्ण रहँदा स्ट्राइकर मारियो मान्जुकीले क्रोएसियाका लागि निर्णायक हुने क्रोएसियाको विश्वास छ। त्यस्तै इंग्ल्यान्ड जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेका ह्यारी केनको प्रदर्शनमा आसवादी रहँदा रहिम स्ट्र्रलिङ र डेल अली तथा राइट विङ–ब्याक केरन ट्रिपियर इंग्ल्यान्डका लागि महत्वपूर्ण बन्न सक्ने सम्भावना सर्वाधिक छ।
इंग्ल्यान्ड पछिल्ला १५ खेलमध्ये एक खेलमा मात्र पराजित भएको छ। समूहचरणको अन्तिम खेलमा बेल्जियमसँग दोस्रो दर्जाका खेलाडी खेलाएको खेलमा इंग्ल्यान्ड पराजित भए पनि त्यसबाहेकका अधिकांश नतिजामा इंग्ल्यान्ड बलियो छ।

विश्वकप फुटबलमा क्रोएसिया र इंग्ल्यान्ड पहिलोपटक प्रतिस्‍पर्धा गर्न लाग्दै छन्। तर, २०१० को विश्वकप छनोटमा भने क्रोएसिया इंग्ल्यान्डसँग फराकिलो अन्तरले पराजित भएको थियो। एक-अर्काविरुद्ध सातपटक प्रतिस्‍पर्धा गर्दा इंग्ल्यान्डले ४ पटक जितेको छ।

क्रोएसिया भने २ पटक मात्र इंग्ल्यान्डमाथि जित निकाल्न सफल भएको छ। एकपटक यी दुई टिमले बराबरी खेलेका थिए। तर, पछिल्लोपटक २००८ मा ४–१ तथा २००९ मा ५–१ प्रभावशाली जित निकाल्न इंग्ल्यान्ड सफल भएको थियो। तर, ११ वर्षपछि अब क्रोएसियाले आफूलाई धेरै परिवर्तन गरेको छ। तर, इंग्ल्यान्ड भने पुरानो रवाफ फर्काउन मैदानमा उत्रनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.